शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छठपर्व मनाउने बाँसको ढक्कीमा ठुलोपरिमाणको लागुऔषध बरामद

बुधबार, १३ कात्तिक २०७६, १२ : ४४
बुधबार, १३ कात्तिक २०७६

रौतहट । लागुऔषध ओसारपसार तथा बेचबिखन गर्ने तस्करहरुले चाडपर्व मनाउन प्रयोग हुने सामानमा समेत लुकाएर लागुऔषध ओसारपसार गर्ने गरेको रहस्य खुलेको छ ।

लागुऔषध तस्करहरुले छठ पर्व मनाउन प्रयोग हुने बाँसको ढक्कीमा लुकाएर लागुऔषध भित्र्याएको पाइएको हो ।

भारतीय सिमानासँगै जोडिएको रौतहटको बंकुलस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टको गस्ती टोलीले ठुलो परिमाणमा नशालु ईन्जेक्सन बरामद गरेको हो ।

पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दिपनरसिंह राईका अनुसार बंकुल बजारबाट करीव दुई किलोमिटर उत्तरतर्फ भकुवाखोलाको पुलछेउ मुख्य बाटोमा सशस्त्र प्रहरीले चेकजाँच गर्दा लागुऔषध फेला परेको हो ।
दुईवटा साईकलको पछाडी बाँसको ढक्कीभित्र बाँधेर दुई जनाले सामान ल्याइरहेका थिए । छठ पर्वमा बाँसको ढक्की प्रयोग गरिन्छ । 

सशस्त्र प्रहरीको चेकजाँच टोलीलाई देखेपछि साईकल छाडेर उनीहरु नजिकैको खेतमा काम गरिरहेका गाउँलेसँगै कुरा गर्दै त्यहाँबाट भाग्न सफल भएको सशस्त्र प्रहरीको गस्ती टोलीले जनाएको छ ।

बाटोमै छोडिएका साईकलको बारेमा सोधपुछ गर्दा कोही न आएपछि शंका लागेर चेकजाँच गर्दा ठुलो परिमाणमा नशालुु इन्जेक्सन फेला परेको सशस्त्र प्रहरी निरीक्षक राईले बताए । उनका अनुसार डाईजिपाम, प्रोमेथाजिन, नर्फिन ईन्जेक्सन गरी कुल ११ हजार सातसय नशालु ईन्जेक्सन तथा प्रतिबन्धित लागुऔषध बरामद भएको छ ।

सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको ती ईन्जेक्सनहरु आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटर जिल्ला मुख्यालयमार्फत भन्सार कार्यालय गौर पठाइने सशस्त्र प्रहरी निरीक्षक राईले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप