शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री र आईजीपी बुटवल आएकै समयमा विप्लव समूहको पोस्टर अभियान

मङ्गलबार, १९ कात्तिक २०७६, १३ : २०
मङ्गलबार, १९ कात्तिक २०७६

बुटवल । प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि गृहमन्त्री र प्रहरी प्रमुख बुटवल आएकै समयमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले बुटवलमा पोस्टर टाँस्ने अभियान चलाएको छ । 

बुुटवलको मिलन चोकमा विप्लव नेतृत्वको युवा संगठनको मध्यपश्चिम कमान्डले पोस्टर टाँसेको हो ।

पोस्टरबारे प्रहरी बेखबर छ । चोक–चोकमा विप्लव समूहका पोस्टर देखिए पनि इलाका प्रहरी कार्यालय बुुटवलमा डीएसपी भीमलाल भट्टराईले विप्लवका गतिविधि बुटवल क्षेत्रमा नभएको दाबी गरे ।

सोमबार राति टाँसेको अपिलसहितका रंगिन पोस्टर मंगलबार बिहान प्रहरीले हटाएको छ । यद्यपि प्रहरीले पोस्टरबारे थाहा नभएको बताएको छ ।

कानुन कार्यान्वयन प्राथमिकतामाः गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले नयाँ बनेका कानुन कार्यान्वयनलाई सरकारले प्राथमिकता दिएको बताएका छन् । गृह मन्त्रालय र प्रदेश नम्बर ५ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सोमबारदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री थापाले मुलकमा शान्ति सुरक्षासँगै सरकारले सफलताको लक्ष्य हासिल गरेको बताए ।

उनले प्रहरीले राम्रा–राम्रा काम गरेको भन्दै कानुन कार्यान्वयन सरकारको प्रमुख दायित्व रहेको बताए । उनले छिट्टै प्रदेश प्रहरी गठन हुने जनाए ।

गोष्ठीमा मंगलबार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका विषयमा विभागका निर्देशक चोमेन्द्र न्यौपाने, प्रशासन तथा ब्यवस्थापनका विषयमा महाशाखा प्रमुख रामप्रसाद आचार्य, द्वन्द्व ब्यवस्थापनका विषयमा महाशाखा प्रमुख इन्दु घिमिरेको प्रस्तुतिकरण थियो भने बुधबार  प्रदेश अन्तर्गत १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको सुरक्षा अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राई, प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत सुरक्षा अंगका प्रमुखहरुको सहभागिता छ । कार्यक्रममा सहभागी हुन गृहमन्त्री सोमबार साँझ बुटवल आएका हुन् । प्रदेश सरकारले गत बर्ष पनि सुरक्षा गोष्ठी राखेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप