शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘नयाँ नेयमार’ को ह्याट्रिकमा रियलको गोल वर्षा

बिहीबार, २१ कात्तिक २०७६, ०७ : ४९
बिहीबार, २१ कात्तिक २०७६

एजेन्सी । ब्राजिलियन फरवार्ड रोड्रिगोले च्याम्पियन्स लिगमा गालातासारेबिरुद्ध ह्याट्रिक गर्दै विश्व फुटबलमा आफ्नो आगमनको संकेत दिएका छन् । रोड्रिगोको ह्याट्रिकको मद्दतले रियल म्याड्रिडले गालातासारेलाई ६–० को विशाल अन्तरले पराजित गर्न सफल रह्यो ।

१८ वर्षीय खेलाडी च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने राउल गोञ्जालेजपछि दोस्रो कम उमेरका खेलाडी बनेका छन् ।

ब्राजिलिन क्लबबाट स्पेन आइपुगेका रोड्रिगोलाई ‘नयाँ नेयमार’ पनि भन्ने गरिन्छ । ५ फिट ९ इन्च अग्ला युवा खेलाडीको उचाइँ पनि नेयमार जत्तिकै छ । रियल आएपछि क्लबका लागि सबै प्रतियोगितामा ६ खेलमा ५ गोल गरेका छन् ।

रोड्रिगोले खेलको चौथो मिनेटमा नै रियललाई अग्रता लिाएका थिए भने सातौँ मिनेटमा अग्रता दोब्बर बनाए । योसँगै उनी च्याम्पियन्स लिगमा सबैभन्दा चाँडो दुई गोल गर्ने खेलाडी पनि बने ।

खेलको १४ औँ मिनेटमा कप्तान सर्जियो रमोशले पेनाल्टीबाट गोल गर्दै रियलको अग्रता फराकिलो बनाए भने करिम बेन्जेमाले पहिलो हाफ सकिन लाग्दा अर्को गोल थपे । गोलसँगे बेन्जेमाले लगातार १५ औँ च्याम्पियन्स लिगको सिजनमा गोल गर्न सफल भएका छन् । यो उपलब्धि हासिल गर्ने उनी बार्सिलोनका लियोनेल मेस्सीपछि दोस्रो खेलाडी हुन् । ३१ वर्षीय फ्रेन्च स्ट्राइकरले सन् २००५ मा लियोनबाट खेल्दा १७ वर्षको उमेरमा च्याम्पियन्स् लिगमा पहिलो गोल गरेका थिए । उनले हालसम्म ६१ गोल गरेका छन् र सबैभन्दा धेरै गोल गर्ने सूचीमा क्रिस्टियानो रोनाल्डो, मेस्सी, र राउलपछि चौथो स्थानमा रहेका छन् ।

दोस्रो हाफमा बेन्जेमाले अर्को गोल थपे भने इन्जुरी समयमा गोल गर्दै रोड्रिगोले आफ्नो ह्याट्रिक पूरा गरे ।

जीतपछि रियल ७ अंकसहित समूह ए को दोस्रो स्थानमा कायम रहेको छ ।

उता, समूहकै अर्को खेलमा पेरिस सेन्ट जर्मेनले क्लब ब्रगसलाई हराउँदै च्याम्यिन्स लिगमा शत प्रतिशत नतिजा कायम राखेको छ ।

माउरो इकार्डीले खेलमा निर्णायक गोल गरे भने । पीएसजीका गोलकिपर केलय नाभासले मायाबे डियाग्नेको पेनाल्टी प्रहार रोकेका थिए ।

१२ अंकसहित पीएसजी समूहको शीर्ष स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप