शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली भूभाग गाभ्ने भारतको नक्सा विस्तारवादी नीतिकै खतरनाक कडी : वामपन्थी राजनीतिज्ञ अजय शर्मा

‘आगामी दिनमा भारतले नेपालको तराईपट्टीलाई आफ्नो संशोधित राजनीतिक नक्सामा सामेल गर्‍यो भने त्यसमा आश्चर्य मान्नु नपर्ने’
बिहीबार, २१ कात्तिक २०७६, १४ : ५५
बिहीबार, २१ कात्तिक २०७६

काठमाडौं । वामपन्थी राजनीतिज्ञ तथा अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदुत अजय शर्मा (योगेन्द्र ढकाल) ले नेपाली भूभागलाई आफ्नो क्षेत्रमा पारेर भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सा ‘विस्तारवादी नीति’ कै नयाँ कडी भएको बताएका छन् ।

उनले सुगौली सन्धि लगायतका दस्तावेजहरूमा नेपालकै भनेर किटान गरिएका भूभाग भारतले नयाँ नक्सामा आफ्नो भूभागमा समेटेको भन्दै यसलाई ‘भूल’ का रुपमा लिन नहुने पनि प्रष्ट पारेका छन् ।

‘काश्मिरलाई भारतमा गाभिएको परिप्रेक्ष्यमा सम्पादन गरेर प्रकाशित आफ्नो नक्सामा भारतले उपरोक्त नेपाली भूभागहरूसमेत सामेल गर्नुलाई एउटा भूलको रूपमा लिनु ठूलो गल्ती हुनेछ,’ रातोपाटीसँग उनले भने, ‘यो भारतीय साम्राज्यवादको ५७ वर्ष अघिदेखिको नेपालप्रति रहँदै आएको विस्तारवादी नीतिको एउटा अघिल्लो कडी हो, जुन खतरनाक छ ।’

उनले ‘भारतीय विस्तारवादी नीति यही सिलसिलामा अघि बढ्ने क्रममा आगामी दिनमा भारतले नेपालको तराईपट्टीलाई आफ्नो संशोधित राजनीतिक नक्सामा सामेल गर्‍यो भने त्यसमा आश्चर्य मान्नु नपर्ने’ उनको भनाइ छ । उनले थप भने, ‘यो भारतीय साम्राज्यवादको नेपालप्रतिको विस्तारवादी नीतिको अर्को एउटा अघिल्लो कडी हुनेछ ।’ 

उनले भारतद्वारा प्रकाशित नक्साको जोडदाररूपमा विरोध गर्दै ‘त्यसबाट नेपालको भूमिलाई निकाल्न लगाउनुपर्ने’ आवश्यकता औंल्याए । ‘नेपालमाथि रहँदै आएको भारतीय साम्राज्यवादको विस्तारवादी नीतिलाई समाप्त गर्नेतर्फ प्रभावशाली कदम चालेर यसको दीर्घकालिन समाधान खोज्नुपर्ने’मा उनले जोड दिए ।

भारतीय शासकहरूको नेपालमाथिको विस्तारवादी नीतिका विरुद्ध देशव्यापिरूपमा आवाज उठेकोमा उनले खुशी व्यक्त गर्दै ‘म यसलाई अभिनन्दन गर्छु र त्यसबाट भारतीय साम्राज्यवाद पछाडि हट्न बाध्य हुनेछ भन्ने कुराप्रति विश्वस्त छु,’ उनले भने ।

उनले ’देशभित्र र बाहिर रहेका सम्पूर्ण देशभक्त नेपालीलाई नेपालको भूगोलको रक्षार्थ संघर्षको आधीबेहरी उठाउन’ अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप