शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘नेविसंघको विधानअनुसार नयाँ नेतृत्व ल्याउन दबाब’

सोमबार, २५ कात्तिक २०७६, १८ : ४०
सोमबार, २५ कात्तिक २०७६

काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सोमबार ‘माउ पार्टीको प्रवृत्ति र नेविसंघको विधान’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

पद्यकन्या क्याम्पसमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघ इकाइ समिति र केही जिल्ला अध्यक्षको सहभागिता रहेको थियो । 

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रमका अधिकांश सहभागीले गुटगत भेलाबाट बाहिर निस्कनु पर्ने धारणा राखेका थिए ।

साथै नेविसंघको केन्द्रीय सदस्य भइसकेकाले पनि क्याम्पसहरुमा पद ओगटेर बस्ने गरेको, क्याम्पसमा पढाउनेहरुले पनि नेविसंघको इकाइ अध्यक्षका रुपमा काम गरिरहेको सहभागीहरुको गुनासो थियो । 

नेविसंघका हरेक नेताहरु गुटगत भेलामा रमाउने गरेको उनीहरुको आरोप थियो । उनीहरुले विधानलाई आफू अनकुल ब्याख्या गर्ने प्रवृत्त देखिएको आरोप समेत लगाए ।

कार्यक्रमको उद्देश्य नेविसंघको विधानअनुसार नयाँ नेतृत्व ल्याउन दबाब सिर्जना गर्नु थियो । नेविसंघको विधानमा ३२ वर्षे उमेर हद तोकिएको छ ।

सोही अनुसार ‘माउ पार्टीको प्रवृत्ति र नेविसंघको विधान’ छलफलको विषय भनेको थियो । तर, सहभागीहरुले छलफलको विषयलाई नै चुनौति दिँदै नेविसंघका नेताहरुको प्रवृत्तिमाथि प्रश्न उठाए ।

यस्तै सोही समूहका नेताहरुमै विधान कार्यान्वयनमा फरक मत प्रकट थियो । नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठीले विधान कार्यान्वयनका लागि आफूहरु आन्दोलनमा उत्रिएको बताए । जसमा भट्टको पनि एक्बद्धता रहेको छ ।

यता त्रिभुवन विश्वविद्यालयका इकाइ अध्यक्ष हरि आचार्यले भने विधानमा अल्झनुभन्दा नेविसंघको नियमित महाधिवेशनको ग्यारेन्टीतिर लाग्नु पर्नेमा जोड दिए । केहीले पार्टीले गर्ने निर्णयविरुद्ध जान नहुने पनि तर्क गरे । 

पार्टी सभापति शेरबहादुर देउवाले केही दिन पहिले पदाधिकारी बैठकमा १२ महाधिवेशनका लागि ५० वर्ष आसपासका राजीव ढुंगानालाई नेविसंघको नेतृत्वमा ल्याउने प्रस्ताव गरेका थिए ।

यो समूहले त्यसका विरुद्ध निरन्तर विरोध गर्दै आएको छ । तर सोही छलफलमा ढुंगानाको नेतृत्वमा ल्याउन तयारी गरिएको कमिटीमा सोही समूहबाट केही नेताहरु जान लागेको चर्चा समेत भएको थियो ।

तर आजको छलफलले विधान कार्यान्वयनका लागि लडाईँ लड्ने निष्कर्ष निकालेका छ । यस्तै उपनिर्वाचन हुने क्षेत्रमा नेविसंघलाई एकाकार गरेर पार्टीका उम्मेदवारलाई जिताउन लागि पर्ने रणनीति पनि तय गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप