बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

परिवर्तनका एजेन्डामा पत्रकार महासङ्घका प्रत्यासी

शुक्रबार, ०२ भदौ २०७४, ११ : ५५
शुक्रबार, ०२ भदौ २०७४

नेपाल पत्रकार महासङ्घको आसन्न महाधिवेशनमा नयाँ नेतृत्व चयनको विषय अहिले उत्कर्षमा छ । महासङ्घको सभापतिमा गोविन्द आचार्य, तीर्थ कोइराला र उजीर मगरले दाबेदारी प्रस्तुत गर्नु भएको छ । उहाँहरु चिरपरिचित अनुहार भए पनि पेसागत निष्ठा, वैचारिक सोच र व्यवहारका हिसाबले निकै भिन्नता पाइन्छ । 

गोविन्द आचार्य मुलुकमा परिवर्तनका एजेन्डाहरुको पक्षमा लामो समयदेखि क्रियाशील श्रमजीवी पत्रकार हुनुुहुन्छ । सङ्घीयता, धर्म निरपेक्षता, गणतन्त्र र समावेशी लोकतन्त्रका पक्षमा उहाँको पत्रकारिता पूर्ण प्रतिबद्धता र निष्ठावान ढङ्गले समर्पित रहेको पाइन्छ । सेवा प्रवेशका हिसाबले उजीर मगर गोविन्दजीभन्दा धेरै पछि मात्र पत्रकारितामा आउनु भएको हो । पत्रकारितामा बिताएको कालखण्डका हिसाबले उजीरजी अहिल्यै महासङ्घको सभापतिमा खडा नभएको भए हुन्थ्यो भन्नने आम धारणा छ । उहाँले एक कार्यकाल प्रतीक्षा गरेको भए हुन्थ्यो, हतार गर्नु भएको भने पक्कै हो । 

तीर्थ कोइरालाजीका सम्बन्धमा सामाजिक सञ्जालमा पनि धेरै विवादका विषयहरु उठिरहेका छन् । परिवर्तनको पक्षमा उहाँको प्रतिबद्धता ढुलमुले रहेको उहाँका विगतको भूमिकाबाट स्पष्ट हुन्छ । उमेर र स्वास्थ्यको ख्याल गर्दै उहाँले महासङ्घको सभापतिमा लड्नुको साटो सम्मानीत सल्लाहकारमा बस्दा उपयुक्त हुने राय आम पत्रकारको छ । 

पत्रकार महासङ्घको नेतृत्व अशक्त, रुग्ण, पेसागत हितको पक्षमा दरिलो गरी खडा हुन नसक्ने रोज्ने कि सशक्त र जुझारु रोज्ने ? यो निर्णय पत्रकारहरुकै विवेकमा निर्भर छ । तर एउटा कुरा निश्चित छ, पत्रकार महासङ्घको नेतृत्व यस्तो होस्, जसले परिवर्तनका एजेन्डा संस्थागत गर्दै मुलुकलाई समृद्धितर्फ अघि बढाउन सार्थक पहल गरोस् ।  

अहिले परिवर्तनका एजेन्डा संस्थागत गर्दै मुलुक नयाँ संविधान कार्यान्वयनको चरणबाट गुज्रिरहेको छ । स्थानीय निर्वाचनपछि केन्द्र र प्रदेशको निर्वाचन सम्पन्न भएमा जनताले आफैले बनाएको संविधान पूर्णत कार्यान्वयन भई सो संविधानबमोजिमको शासन पद्धति मुलुकमा स्थापित हुनेछ । सङ्घीयता, धर्म निरपेक्षता, गणतन्त्र र समावेशी समानुपातिक लोकतन्त्रको संस्थागत विकाससँगै मुलुकको समृद्धिको यात्रा प्रारम्भ हुनेछ । 

इतिहासको यो निर्णायक मोडमा लोकतन्त्रको संस्थागत विकास गर्नबाट हामी चुक्यौँ भने समृद्धि र विकासको सपना फेरि पनि अधुरै रहनसक्छ । अतः संविधान कार्यान्वयनको दिशामा नागरिक समाजको तर्फबाट सशक्त पहरेदारी गर्ने र राजनीतिक नेतृत्वलाई बरालिन नदिने मूल दायित्व भनेको प्रेस जगतकै हो । लोकतन्त्र नै प्रेसको प्राण हो । लोकतन्त्रको संरक्षण र विकास प्रेसको पेसागत स्वार्थको सवाल पनि हो । पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घले अबका दिनमा लोकतन्त्रको रक्षा र संविधानको कार्यान्वयनतर्फ अझ बढी चनाखो भएर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । जसरी विगतमा महासङ्घले लोकतन्त्रका पक्षमा आफूलाई उभ्यायो, ठीक त्यसैगरी अबका दिनमा झन बढी सजगताको खाँचो छ । पत्रकार महासङ्घलाई परिवर्तनविरोधीको चङ्गुलमा जान नदिनु नै पत्रकारहरुको अहिलेको मुख्य सजगताको विषय हो । 

पत्रकार महासङ्घलाई पश्चगामी र यथास्थितिवादीको प्रभावबाट मुक्त गर्नका लागि लोकतान्त्रिक मूल्य मान्यताप्रति निष्ठावान नेतृत्वको खाँचो छ । पत्रकार महासङ्घको नेतृत्व कस्तो हुनुपर्छ र कस्तो हुनुहुँदैन भन्ने कुरामा पत्रकारहरुवीच विमति हुनुपर्ने कुनै कारण देखिँदैन । कस्तो हुनुपर्छ भन्ने कुरा पत्रकारमाझ स्पष्टै छ । पत्रकार महासङ्घको नेतृत्व परिवर्तनका एजेन्डाप्रति प्रतिबद्ध हुनैपर्छ । गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयता, समावेशी लोकतन्त्र र समानुपातिक प्रतिनिधित्वप्रति पूर्ण रुपमा प्रतिबद्ध नेतृत्व स्थापित भयो भने मात्र यो नेतृत्वले मुलुकमा परिवर्तनका एजेन्डालाई बुलन्द गरिरहनसक्छ । 

परिवर्तनका एजेन्डाका पक्षमा विगतदेखि नै लड्दै आएका र पत्रकारहरुको हकहितका पक्षमा समर्पित मानिसहरुकै वर्चस्व भएको नेतृत्वको खाँचो छ । अबको नेतृत्व श्रमजीवी पत्रकारहरुको हकहितका पक्षमा डटेर लड्नसक्ने हुनुपर्छ । श्रमजीवी पत्रकार ऐनलाई पूर्ण रुपमा लागू गराउनसक्ने नेतृत्व आउनुपर्छ । पत्रकारको सुरक्षा, स्वतन्त्रता, जीविकोपार्जनको सुनिश्चितता, मिडिया हाउसहरुमा पेसाको रक्षा गर्ने खालको नेतृत्व कसरी स्थापित गर्ने, त्यसमा हामी सबैले ध्यान दिनुपर्छ । 

पत्रकार महासङ्घको नेतृत्व परिवर्तनका एजेन्डाप्रति प्रतिबद्ध भएन भने त्यो मालीकहरुको कठपुतली र मुुलुकको समृद्धि र विकासको बाधक बन्नसक्छ । विगतमा हामीले देखेकै हो, एकथरि पत्रकारहरु परिवर्तनका एजेन्डाको विरोधमा खुलेरै आए । २०६२÷०६३ को आन्दोलनताका पत्रकार महासङ्घमा अहिले खडा भएका कतिपय अनुहार राजा ज्ञानेन्द्रको हण्डी खाइरहेका थिए भने आम श्रमजिवी पत्रकाहरु माइतीघर मण्डलामा प्रहरीको डण्डा खाइरहेका थिए । कतिपय पत्रकारहरु राजाबाट पदक थापिरहेका थिए भने कतिपय पत्रकार हिरासतमै मारिएका थिए । मुलुकमा आजको परिवर्तन ल्याउनुमा अग्रगामी, लोकतान्त्रिक र प्रेस स्वतन्त्रतापक्षधर पत्रकारहरुको अथक सङ्घर्ष र दबाबको ठूलो भूमिका रहेको छ । 

पत्रकार महासङ्घको नेतृत्व चयन गर्दा हामीले कसले विगतमा परिवर्तनका लागि लड्यो, लोकतन्त्र, पेसागत हित र प्रेस स्वतन्त्रताको पक्षमा को बढी प्रतिबद्ध छ भन्ने कुराको हेक्का राख्नैपर्छ । हैन भने गलत व्यक्तिको हातमा नेतृत्व जानसक्छ । पत्रकार महासङ्घ शक्तिशाली संस्था भएकाले यसको नेतृत्वमा पुगेर आफ्ना निजी स्वार्थहरु पूरा गर्न लोभी पापीहरुको दाउ हुनसक्छ । राजाको शासनमा ‘राष्ट्रवादी हुँ’ भन्दै राजाको चाकडी गर्ने र हण्डी थाप्ने, गिरिजाको शासनमा ‘गिरिजा दाजु’ भन्दै जातीय बन्धुत्वको हवाला दिएर स्वार्थपूर्ति गर्ने, प्रचण्डको पालामा उतै ढल्किन खोज्ने अनि ओलीको पालामा ‘बामपन्थी हुँ’ भन्दै रजगज गर्ने प्रवृत्ति भएका मानिसको महासङ्घमा घुसपैठ हुनसक्छ, यसतर्फ पत्रकारहरु सजग हुनैपर्छ । 

महासङ्घमा अहिले केही त्यस्ता अनुहारहरु पनि उच्च नेतृत्व तहमै भिड्न खोजिरहेको देखिन्छ । सभापतिमा खडा भएका एक अनुहारकै कुरा गरौँ । मुलुकमा परिवर्तनका लागि सङ्घर्ष भइरहँदा उनी राजाको पक्षमा फेसबुक स्टाटसहरु लेख्थे । पहिले पहिले दरबारीयासँग हिमचिम बढाएका ती पत्रकारले विगतमा राजा ज्ञानेन्द्रको शासनकालमा हण्डी पनि थापेका थिए । सङ्घीयता, धर्म निरपेक्षता र गणतन्त्रका पक्षमा सङ्घर्ष चलिरहँदा उनी फेसबुक र ट्विटरमा आन्दोलनकारीहरुको चर्को विरोध गर्दै लेख्थे । उनका करिब दुई सय फेसबुक स्टाटसहरुको अध्ययन गर्दा उनी परिवर्तनका एजेन्डाको खिलाफमै रहेको देखिन्छ । सङ्घीयताले देश टुक्रिने, गणतन्त्र आएमा देश भाँडिने, धर्म निरपेक्षता हुनै नहुने, समानुपातिक प्रतिनिधित्व हुनै नहुने आदि आशयका उनको स्टाटस पत्रकारहरु अझै पनि सम्झिन्छन् । पेसागत हितका पक्षमा पनि उनको भूमिका सकारात्मक रहेन । उनी सम्पादक भएको सञ्चार संस्थाकै पत्रकारले नियुक्तिपत्र पाउन सकिरहेका छैनन् । पछिल्लो समय व्यापारी अजय सुमार्गीसँग हिमचिम बढाइरहेका ती पत्रकारले सुमार्गीकै पैसाको बलमा महासङ्घको नेतृत्व हत्याउन खोजेको देखिन्छ । 

अतः पत्रकारहरु के कुरामा स्पष्ट हुनुप¥यो भने महासङ्घको नेतृत्वमा परिवर्तनका एजेन्डाका पक्षपाती नै आउनुपर्छ । प्रतिगामी र यथास्थितिवादी सोच भएका, राजाको हण्डी खाने, दरबारीयासँग हिमचिम बढाएका, मालिक पत्रकारसँग साँठगाँठ गर्ने र पत्रकारको हक हितका पक्षमा कुनै काम नगर्ने खालका व्यक्तिलाई महासङ्घमा ल्याउनु भनेको परिवर्तन, समृद्धि र विकासको गतिकै विपरीत हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुसुम भट्टराई
कुसुम भट्टराई
लेखकबाट थप