शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली क्याबिनेटमा नयाँ ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त, उपेन्द्र यादव रुष्ट

बुधबार, ०४ मङ्सिर २०७६, २२ : ५३
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जना नयाँ अनुहार आएका छन् । त्यतिनै संख्याका मन्त्री र राज्यमन्त्रीलाई ओलीले बिदाइ गरेका छन् । कार्यसम्पादनमा कमजोरसँगै आशा लाग्दा अनुहारलाई समेत ओलीले बिदाइ गरेका छन् । 

पुनर्गठित मन्त्रिमण्डलमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त भएका छन् । यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरलाई ओलीले राज्यमन्त्री बनाएका छन् । 

यस्तै ओलीले चक्रपाणि खनाल, मातृका यादव, गोकर्ण विष्ट, थममाया थापा, लालबाबु पण्डित र रघुवीर महासेठलाई बिदाइ गरेका छन् । यस्तै राज्यमन्त्रीहरु धनबहादुर बूढा, रामकुमारी चौधरी र सुरेन्द्र कुमार यादव पनि बिदा भएका छन् । 

ओली क्याबिनेटमा गोकर्ण  विष्टलाई आशालाग्दा मन्त्रीको रुपमा हेरिएको थियो । यस्तै सामाजवादी पार्टीबाट राज्यमन्त्री बनेका चौधरीलाई पनि हटाएर नेकपाकै कोटामा थप एक जना राज्यमन्त्री बनाइएको हो । 
तत्कालीन माओवादीतर्फबाट २ जना र तत्कालीन एमालेको तर्फबाट ३ जना मन्त्री बनेका हुन् । यस्तै त्रिपाठी तत्कालीन एमालेको सूर्य चुनाव चिन्हबाट चुनाव लडेर विजयी भएपनि उनी हालसम्म स्वतन्त्र हैसियतमा छन् । 


नयाँ सूचीअनुसार त्रिपाठी पण्डितलाई विस्थापित गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । यस्तै भुसाल चक्रपाणि खनाललाई विस्थापित गर्दै कृषि तथा पशुपक्षी मन्त्री बन्न सफल भएका छन् ।
यसैगरी लेखराज भट्ट मातृका यादवलाई विस्थापित गर्दै उद्योग तथा बाणिज्य मन्त्री बन्न सफल भएका छन् भने रामेश्वर राय यादव  यसअघिका मन्त्री गोकर्ण विष्टलाई विस्थापित गर्दै रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न सफल भएका छन् ।
यसैगरी बसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा रघुवीर महासेठ हटाइएका छन् । यस्तै पार्वत गुरुङ महिला बालबालिका मन्त्री बन्दा थपमाया थापाको पनि ओली क्याबिनेटबाट बिदाइ भएको छ । 

यस्तै उपेन्द्र यादवको मन्त्रालय परिवर्तन भएको छ । उनलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै उपेन्द्रले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ।  अन्य मन्त्रीहरुको मन्त्रालय यथावत रहेको छ । 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले तीन जना राज्यमन्त्री बनेका दुगड, रावत र मानन्धरले क्रमशः उद्योग बाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या र सहरी विकास राज्यमन्त्रीको जिम्मेवारी पाएको उल्लेख गरेका छन् । 

चर्चामा रहेका नामहरु जनार्दन शर्मा, देवेन्द्र पौडेल लगायतलाई भने यसपटक पनि ओलीले मन्त्रिमण्डलमा सहभागी गराएका छैनन् । 

यसैबीच समाजवादी पार्टीले आफूहरुसँग कुनै छलफल नगरी मन्त्रिमण्डल र जिम्मेवारी हेरफेर गरेको भन्दै असहमति जनाएको छ। सो पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव हाल दिल्ली भ्रमणमा रहेका छन् । उनको स्वास्थ्य मन्त्रीको जिम्मेवारी खोसेर ओलीले कानुनमन्त्री नियुक्त गरेका छन् । 

नयाँ मन्त्री छान्न नेपाल कम्युनिस्ट पार्टी नेकपा (नेकपा)को बुधबार ३ घण्टा लामो बैठक बसेको थियो । 

बैठकमा सचिवालका सदस्यहरुको सुझावको आधारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले मन्त्रीहरुको नाम टुंगो लगाएको बताइएको छ । 

मंगलबार नै मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले बुधबार आफू मन्त्रिमण्डल पुनर्गठनको तयारीमा रहेको भन्दै यो मन्त्रिपरिषद्को अन्तिम बैठक भएको र बैठकमा सहभागी मन्त्रीहरुलाई धन्यवाद समेत दिएका थिए । 

सोही योजनाअनुसार प्रधानमन्त्रीले साँझसम्म सहमति जुटाएर मन्त्रीको  नाम राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेका थिए ।  

प्रधानमन्त्री ओलीको सिफारिसमा भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गरी मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन् ।  
मन्त्रीहरुको सपथ बिहीबार बिहान ११ बजेका लागि तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप