‘कुनबेला आएर खेदाउँछन् थाहा छैन, कसरी भोट दिने खै ?’

person explore access_timeमंसिर १०, २०७६ chat_bubble_outline0

पोखरा । ‘सय को डेढ किलो... सयको डेढ किलो... ल, भाई सुन्तला लिनुस् है लिनुस्... सुन्तला,’ मंगलबार पृथ्वीचोक बसपार्क अघि डोकोमा फलफूल बोकेका महिलाको झुण्ड पोखरा– काठमाडौं रुटमा चल्ने बसको झ्यालनेरै झुम्मिए । आफ्नो सामान बिक्री गर्न लालायित देखिन्थे ति ।

बसमा सवार केही यात्रुले सुन्तला लिए पनि । खुसी मुद्रामा प्लास्टिकको झोलामा सुन्तला दिएर यात्रुसँग पैसा लिँदै थिए । एक्कासी, सिठ्ठी बजाउँदै नगर प्रहरीको अर्को समूह आइपुग्यो ।  प्रहरीको जत्थादेखि सकेपछि हत्तपत्त ग्राहकसँग लिन बाँकी रहेको रकम पनि छाडेर ती महिलाहरु भागे । सानोतिनो म्याराथन नै सुरु भयो त्यहाँ । कोही चाइना पुलतिर कुदे, कोही बसपार्कभित्र छिरे, कोही शान्तिवनतिर । डोके महिलाहरुको झुण्ड एकैछिनमा यत्रतत्र छरियो ।

 नगर प्रहरीको समूह पनि डोके महिलाको डोको समाउने प्रयास बिफल भएपछि लुरुलुरु आएकै बाटो फर्कियो । यस्तो घटना यो ठाउँमा बारम्बार दोहोरिरहन्छ ।  करिब १० मिनेटपछि प्रहरी गइसकेको चाल पाएर एकएक गर्दै बाहिर निस्किए महिलाहरु । 

‘धन्न ! गयो,’ डोके महिलाको झुण्डकी एक सदस्यले लामो श्वास फेर्दै  भनिन्, ‘कस्सो लान्थ्योे ।’ त्यसपछि सबैजनाले गरि खान पनि नदिने भन्दै सरकारप्रति आक्रोश पोख्न थाले ।  यो दृश्यलाई एकएक गर्दै नियालिरहेका हामी उनीहरुको नजिकै पुग्यौ । एकैछिनमा उनीहरुको व्यवसायका अप्ठ्याराहरुबारे कुराकानी गरिसकेपछि सिँगो देशकै ध्यान तानिरहेको कास्की २ को उपनिर्वाचनतर्फ उनीहरुलाई पनि तान्यौ । 

चुनाव आउँदै छ । सरकारबाट के अपेक्षा गर्नुभएको थियो ? यसपालिको चुनावमा भाग लिनुहुन्छ कि लिनुहुन्न ? चुनाव जितेर जाने प्रतिनिधिले के गरोस् भन्ने चाहनुहुन्छ ? हामीले सोध्यौ ।  ‘के गर्नु र केही गरेको छैन सरकारले,’ महिलाहरुको समूहबाट एकजना अघि सरेर बोलिन् । बोल्ने महिलाको नाम मिना सुनार रहेछ । ‘गरेर खान त दिन्न्,’ उनले आक्रोश पोखिन् । 

मीना पोखरा १७ छोरेपाटनको स्थायी बासिन्दा रहिछन् । अन्य व्यावसयामा धेरै प्रयत्न गर्दा पनि विफल भएपछि यो व्यवसायमा जोडिन आएकी रहिछन् । भोट त हाल्नुहुन्छ नि ? हामीले अर्को प्रश्न राख्यौ । 
‘कुन बेला आएर खेदाउँछन् थाहा छैन, कसरी भोट दिने खै ?’ जवाफमा उनले भनिन्, ‘भोट दिन त दिनुपर्ने होला नि !’ 

तेर्सापट्टीकि ७३ वर्षीया राममाया श्रेष्ठको पृथ्वीचोक चाइना पुलनिर मासु पसल छ । उनको परिवारै यो व्यवसायमा लागेको छ । ७३ को उमेरमा पनि राममाया सक्रिय रुपमा व्यवसायमा छिन् । बिहानदेखि बेलुकासम्म उनी पसलमै व्यस्त हुन्छिन् । उनका छोराबुहारीको महेन्द्रपुलमा मासु पसल छ । 

डोके महिला मीनालाई सोधिएका प्रश्न राममायालाई दोहो¥याएर सोध्यौं । ‘भोट दिएर के हुन्छ ?’ राममायाले भनिन्, ‘पानी खाने धारा पनि छैन । बोतलमा किनेर ल्याउनुपर्छ । ऊ भर्खरै ५० रुप्पे हालेर पानी किनेर बोरा धोएको ।’

मासुमा बसेका झिँगा धपाउँदै उनले थपिन्, ‘आफैं जित्यो, धनी भयो । हुँदो न खाँदो ।’ पहिले जति भए । त्यसयता विकास निर्माणको काम नेकपा सरकारले नगरेको उनको ठम्याई छ ।  पोखरा ९ शान्तिवन प्रदशनी केन्द्रको नजिकै सुकुम्बासी बस्ती छ । करिब २ सय हाराहारीमा घरधुरी रहेको यो सुकुम्बासी बस्तीमा प्रत्येक निर्वाचनमा उम्मेद्वारहरु आउँछन् । सबैलाई लालपुर्जा दिलाइ दिने आश्वासन दिन्छन् । तर, चुनाव जितेर सत्तामा पुगिसकेपछि कहिले फर्केर आउँदैनन् । 

यो बस्तीको अघिल्तिर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यालय पनि छ । यही बस्तीकी बासिन्दा हुन् सावित्री वि.क. । अहिले उनी ६५ वर्षमा हिँड्दै छिन् । हामी पुग्दा उनी आफ्नै दैनिकीमा व्यस्त थिइन् । सावित्रीलाई पनि मीना र राममायालाई सोधेकै प्रश्न सोध्यौं । ‘हामीलाई त के चाहिन्थ्यो ?’ उनले भनिन्, ‘एउटा लालपुर्जा दिए, पुग्थ्यो ।’

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।