शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : मंसिर १५ र २४ गते यातायातमा जोरबिजोर प्रणाली, मौन अवधिमा बम विस्फोट

बिहीबार, १२ मङ्सिर २०७६, १९ : ०९
बिहीबार, १२ मङ्सिर २०७६

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ । 

महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ ।
 बिहीबार अस्पतालका चिकित्सक अरुण सायमीले प्रधानमन्त्री ओली सामान्य हिँड्न र खाना खान सक्ने भएको जानकारी दिए । उनले प्रधानमन्त्री ओलीलाई अझै सघन उपचार कक्षमा नै राखिएको पनि बताए । 

प्रधानमन्त्री ओलीले पनि बिहीबार बिहानै ट्वीटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका थिए । प्रधानमन्त्री ओलीको उपचारमा चिकित्सकहरु अरुण सायमी, रमेशसिंह भण्डारी, दिव्या सिंहलगायतको टिम रहेको छ ।

१३ औं सागको तयारी

सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार काठमाडौंमा संचारकर्मीहरुसँग कुरा गर्दै सागको व्यवस्थापन र खेलकुद सञ्चालन सम्बन्धी सबै तयारी पूरा भएको बताए ।  त्यस्तै मंसिर १५ गते आइतबार साँझ ५ बजे सागको भव्य समुद्घाटन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने मन्त्री विश्वकर्माले जानकारी दिए ।  समुद्घाटन कार्यक्रममा देश विदेशबाट विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागिता रहने समेत उनले बताए । 

साग समुद्घाटनमा कलाकारहरुले नेपाली कला संस्कृति झल्कने खालका प्रस्तुतिहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको समेत उनले बताए । 


त्यसैगरी सागको बेला २ दिन उपत्यकामा सञ्चालन हुने यातायातमा जोर विजोर प्रणाली लागू हुने भएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सागको उद्घाटन र सम्पन्न हुने दिन मंसिर १५ र २४गते दुई दिन जोर–विजोर प्रणाली लागू गरिने भएको हो । 

मंसिर १५ गते विजोर नम्बर र २४ गते जोर नम्बरका सवारी साधन चल्ने महाशाखाले जनाएको छ । यो नियम काठमााडौं उपत्यकाको रिङ रोडभित्र लागू हुने एसएसपी ढकालले बताए । 

त्यस्तै भिभीआइपी र खेलसँग आवद्ध र सञ्चारमाध्यमका सवारी साधनलाई भने जोरविजोर प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ । खेल अवधिमा सञ्चारमाध्यमका सवारी साधनको पार्किङ स्थान छुट्टै स्थानमा तोकिनेछ । 

त्यसैगरी, साग सुरक्षा उपसमितिले पनि पत्रकार सम्मेलन गरेको छ । सोही अवसरमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विदेशी पाहुना र साग आयोजनाको मुख्य चुनौतीको रुपमा रहेको सुरक्षा ब्यवस्थालाई सहज रुपमा सम्पन्न गरिने बताए । 

यता सागको आइतबार हुने उद्घाटन भव्य बनाउन विशेष तयारी थालिएको छ । राजधानीको दशरथ रंगशालामा सागको औपचारिक उद्घाटन हुनेछ । त्यसका बिहीबार रंगशालामा  ‘रिहर्सल’ गरिएको छ । नेपाली सेना, प्रहरी तथा विद्यार्थीले ‘रिहर्सल’ गरेका हुन् । 

सागमा विशेषगरी फुटबल, क्रिकेट, भलिबल र बास्केटबल खेलमा दर्शक शुल्क राखिएको र दर्शकले ई–सेवा मार्फत टिकट किन्न सक्ने ब्यवस्था गरेको छ ।

मौन अवधिमा बम विस्फोट

उपनिर्वाचनको मौन अवधिकै समयमा एक उम्मेदवारको घरमा बम विस्फोट भएको छ । महोत्तरीको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवारको घरमा बम विस्फोट भएको हो । नेकपाका उम्मेदवार बिक्रम चौधरीको घर नजिकै बम विस्फोट भएको हो । 

विस्फोटबाट चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको छ । प्रहरीले विस्फोट भएको प्रेसर कुकर बम रहेको बताएको छ ।  मंसिर १४ गते सो गाउँपालिकामा उपनिर्वाचन हुँदैछ भने मौन अवधिको समयमा भएको विस्फोटले स्थानीयमा त्रास फैलिएको छ । घटनामा मानवीय क्षति भने भएको छैन । 

मन्त्रिपरिषद् बैठक 

पछिल्लो मन्त्रिपरिषद बैठकका दुई निर्णय सार्वजनिक भएका छन् । बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गोकुल बाँस्कोटाले पछिल्लो पटक गरेका २ निर्णय सार्वजनिक गरेका छन् ।  

समाचार भिडियो हेर्नुहाेस्

जसमा नेपाल भारत पारबहन सन्धि पुनरावलोकनसम्बन्धी सहसचिव स्तरीय बैठकका लागि उद्योग मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय भएको छ । त्यसैगरी भुमीसम्बन्धी एकिकृत विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति पनि प्रदान गरेको छ । 

निर्णय सार्वजनिक हुनु अगावै सन्धि पुनरावलोकनसम्बन्धी बैठक बसिसकेको छ ।

अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले साना व्यवसाय तथा उद्यम गर्नका लागि पूँजीको अभाव हुन नदिने बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले सरकारले साना तथा घरेलु उद्योगको विकासका लागि पूँजीको अभाव हुन नदिने नीति लिएको बताए । 

 साना तथा घरेलु उद्योगको विकास गरी रोजगारी सिर्जना गर्न उद्यमीहरुलाई प्रोत्साहन गर्नका लागि पनि पूँजी अभाव हुन नहुने उनले बताए ।  उनले बैंकहरु मार्फत सरकारले ब्याज अनुदानमा उपलब्ध गराउने सहुलियत ऋणको उपयोग गर्नपनि हस्तकला व्यवसायीहरुलाई आग्रह गरे । 

कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारले हस्तकला व्यवसायको विकासका लागि आधुनिक प्रविधि र सिप विकासमा सघाउ पु¥याउनुपर्ने बताए ।

आइएमईको विजेता घोषित

बैंकिङ च्यानलबाट रेमिट्यान्स भित्र्याउँदै आएको आइएमईले दशैंका अवसरमा ल्याएको ‘दशैंमा डबलको डबलको डबल’ अफरको बम्पर बिजेता सप्तरीका विरेन्द्र खङ्खत्वे बनेका छन् । 

आइएमईले काठमाडौंमा बिहीबार एक कार्यक्रम गरी लक्कि ड्र मार्फत बिजेता घोषणा गरेको हो । बिजेता खङ्खत्वेले आइएमई मार्फत ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए । उनले बम्पर अफर मार्फत पठाएको रकमको आठ गुणा ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ जितेका छन् । 

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएईले ल्याएको यस्तो योजनाले विदेशमा बसेर कमाएको रकमलाई बैंकिङ प्रणालीमार्फत देशमा भित्र्याउन सहयोग पुगेको बताए । 

आइएमईले गत भदौ १५ गते देखि कात्तिक मसान्त सम्मका लागि उक्त अफर सार्वजनिक गरेको थियो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप