शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘अब स्वर्ण नै जित्छौँ’

आइतबार, १५ मङ्सिर २०७६, ०७ : ३२
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौँ । नेपाली महिला भलिबल टोलीको प्रदर्शन पछिल्लो समय शानदार बनिरहेको छ । भर्खर बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि चुमेर स्वदेश फर्किएको महिला टोली अहिले १३ औँ सागको ऐतिहासिक स्वर्णको सम्मुखमा छ ।

नेपालले साग महिला भलिबलको रजत पदक कम्तीमा पक्का गरिसकेको छ । रजतनै नेपालका लागि ऐतिहासिक पदक हो । यद्यपी नेपाली टोली त्योभन्दा ठूलो ऐतिहासिक स्वर्णको नजिक छ । नेपाली महिला भलिबल टोलीले सागमा यसअघि तीन पटक काँस्य जितेको थियो ।

नेपाली महिला भलिबल टोलीले सन् १९९९, सन् २००६ र सन् २०१६ को सागमा काँस्य जितेको थियो । सेमिफाइनलमा श्रीलंकालाई ३–० सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको छ ।

नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले नेपालको एउटै लक्ष्य उपाधि भएको बताए । फाइनलमा नेपालले परिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ ।

समूह चरणमा नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । भारतले सेमिफाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएर नेपालसँगको उपाधि भीडन्त पक्का गरेको हो ।

फाइनलमा नेपालका लागि भारतसँग समूह चरणमा खेपेको हारको बदला लिने राम्रो मौका समेत मिलेको छ । मङ्गलबार हुने फाइनल खेलमा नेपालले पुरानो गल्तीलाई सच्याउने पनि प्रशिक्षक भट्टले बताएका छन् ।

‘हाम्रो एउटै लक्ष्य स्वर्ण हो । हामीले पहिलेदेखि स्वर्ण जित्छौँ भन्दै आएका छौँ । अब अझै दुई दिन बाँकी छ । अघिल्ला खेलको कमजोरीलाई सुधार गर्दै भारतसँग स्वर्णका लागि भिड्ने छौँ । श्रीलङ्कासँगको जीतले खेलाडीको मनोबल झनै उच्च भएको छ । दर्शकको समर्थन हाम्रा लागि अर्को फाइदा हुनेछ,’ प्रशिक्षक भट्टले भने ।

नेपाली टोलीकी कप्तान अरुणा शाहीले पनि घरेलु भूमिमा भारतलाई हराएर स्वर्ण जितेर छाड्ने दावी गरिन् । ‘हामी भारतसँग उच्च मनोबलका साथ खेल्नेछौँ । समूह चरणमा हामीले सानो गल्तीले हार खेपेका थियौँ । फाइनलमा पुगेर इतिहास रचेका छौं । तर हाम्रो लक्ष्य स्वर्ण नै जित्ने हो । त्यसका लागि हामीले लामो तयारी र धेरै मिहेनत गरेका छौँ,’ अरुणाले भनिन् ।

नेपालको पुरुष भलिबल टोली भने यसअघिनै समूह चरणबाट बाहिरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप