
नवजात शिशुमा यी समस्या जन्मजात आउन सक्छन्
वरिष्ठ बाल शल्यचिकित्सक (पेडियाट्रिक सर्जन) प्राडा रामनन्दप्रसाद चौधरीसँग अन्तरवार्ता

आधिकारिक तथ्याङ्क नभए पनि नेपालको कुल जनसङ्ख्याको ४० प्रतिशत हिस्सा १८ वर्षसम्मका बालबालिकाले ओगटेका छन् । तर ती बालबालिकाको स्वास्थ्यको कुरा गर्ने हो भने अझैसम्म सरकार तथा निजी क्षेत्र गम्भीर भएको पाइँदैन । अहिलेसम्म कान्ति बाल अस्पतालले मात्र बालबालिकाको स्वास्थ्यसम्बन्धी समस्यालाई धान्दै आइरहेको छ भने केही निजी अस्पताल सञ्चालनमा छन्, ती पनि काठमाडौँ केन्द्रित छन् ।
नेपालमा बाल शल्य चिकित्सकको अवस्थाको कुरा गर्ने हो भने जम्मा २५ जना मात्रै छन् । तीमध्ये २२ जना त उपत्यकामै छन् । अन्य ३ जना केही मुख्य सहरमा छन् । निजी क्षेत्रलाई बालबालिकाको उपचारका लागि अस्पताल सञ्चालनमा सहयोग गर्ने सरकारको भनाइ छ ।
बालबालिकामा जन्मजात आउने स्वास्थ्यसम्बन्धी समस्या थपिँदै गइरहेको छ भने जन्मपछि पनि उत्तिकै समस्या बढ्दो अवस्थामा छ ।
बालबालिकाको स्वास्थ्यमा जन्मजात आउने समस्या, यसको उपचार, रोकथाम र नेपालमा बाल शल्य चिकित्सकको अवस्था र सरकारको जिम्मेवारीका विषयमा हामीले वरिष्ठ बाल शल्य चिकित्सक (पेडियाट्रिक सर्जन) प्राडा रामनन्दप्रसाद चौधरीसँग कुराकानी गरेका छौँ । लामो समयदेखि कान्ति बाल अस्पतालमा कार्यरत वरिष्ठ प्राडा चौधरी अवकासपछि हाल इसान बाल तथा महिला अस्पतालका निर्देशकको जिम्मेवारीमा छन् । उनी विगत २५ वर्षदेखि बाल शल्य चिकित्सकको जिम्मेवारीमा छन् ।
पेडियाट्रिक सर्जरी भनेको के हो ?
नवजात शिशुदेखि १८ वर्ष उमेरसम्मको बालबालिकामा गरिने सर्जरीलाई पेडियाट्रिक सर्जरी भनिन्छ । नवजात शिशु जन्मनुभन्दा पहिले आमाको गर्भ अवस्थाको विषय पनि पेडियाट्रिक सर्जरीमा पर्छ ।
पहिला बालबालिकामा स्वास्थ्य समस्या भए पनि ढिला अस्पताल आउँथे भने अहिले समयमै आउन थालेका छन् । गर्भावस्थामा शिशुमा केही समस्या देखिएको खण्डमा समस्याबारे बताउने र भोलि राम्रो हुन्छ हुँदैन अथवा शिशु राख्नु उपयुक्त छ÷छैन भन्ने बारेमा चिकित्सकसँग परामर्श लिनेको सङ्ख्या बढ्दै गइरहेको छ, जुन राम्रो पक्ष हो ।
सर्जरीको कुरा गर्ने हो भने नवजात शिशुमा जन्मजात धेरै समस्याहरु देखा पर्छन्, जसको तत्काल उपचार तथा सर्जरी गर्नुपर्ने हुन्छ । आन्द्रा बाहिर निस्केको, नाइटो फुट्ने, हर्निया, खाने नली फोक्सोतिर जाने, खाने नली र श्वास नली जोडिएको, बच्चामा बच्चा जोडिएको, मूत्रनलीमा समस्या आउने जन्मजात शिशुमा देखापर्ने समस्या हुन् । साथै शिशु जन्मेपछि छोरा हो कि छोरी छुट्याउनै समस्या हुने, मिर्गाैलामा पानी जम्ने, पिसाब फेर्ने प्वाल सही ठाउँमा नभएको समस्याहरु पनि बालबालिकामा देखापर्ने गरेको छ । यी समस्याको तत्काल उपचार भएन भने शिशुमा झन् समस्या देखिन पनि सक्छ ।
*****
नियमित महिनावारी नभएपछि गर्भ रहेको हो कि भनेर अनुमान गरिन्छ । जब गर्भ रहेको थाहा हुन्छ, त्यो समयमा ७ देखि ८ हप्ताको गर्भ भइसकेको हुन्छ । नवजात शिशुमा यस्तो समस्या आउनुको एउटा मात्रै कारण हुँदैन, विभिन्न कारणहरु हुन्छन् । यही कारणले यस्तो समस्या आउँछ भन्न सकिन्न । गर्भ रहेको पहिलो १२ हप्तासम्म एकदमै सेन्सेटिभ हुन्छ । त्यो समयमा भ्रुणबाट विभिन्न भागहरु बन्न थाल्छ ।
*****
शिशुमा जन्मजात समस्या आउनुको प्रमुख कारण के–के हुनसक्छन् ?
नेपालमा सन्तान जन्माउनका लागि खासै पूर्वतयारी गरिन्न, जुन कुराको धेरै आवश्यक छ । पूर्वतयारी गर्ने, स्त्रीरोग विशेषज्ञको परामर्श लिने हो भने जन्मने नवजात शिशुमा समस्या नआउन सक्छ । तर नेपालमा धेरैजसोको अचानक गर्भ रहँदै आइरहेको छ ।
नियमित महिनावारी नभएपछि गर्भ रहेको हो कि भनेर अनुमान गरिन्छ । जब गर्भ रहेको थाहा हुन्छ, त्यो समयमा ७ देखि ८ हप्ताको गर्भ भइसकेको हुन्छ । नवजात शिशुमा यस्तो समस्या आउनुको एउटा मात्रै कारण हुँदैन, विभिन्न कारणहरु हुन्छन् । यही कारणले यस्तो समस्या आउँछ भन्न सकिन्न । गर्भ रहेको पहिलो १२ हप्तासम्म एकदमै सेन्सेटिभ हुन्छ । त्यो समयमा भ्रुणबाट विभिन्न भागहरु बन्न थाल्छ ।
यो समयमा रेडियसन, लागू पदार्थ, मद्यपान धूमपानले धेरै असर गर्ने हुँदा यस्ता कुराबाट टाढै बस्दा राम्रो हुन्छ । नियमित रूपमा भ्रुणको विकास भइरहेको बेलामा बीचमा कुनै अवरोध भयो, जस्तै आन्द्राको नसा बन्ना साथ माथिबाट सर्दैसर्दै दिसाको प्वालसम्म जानुपर्यो तर कुनै ठाउँमा रोकियो भने आन्द्राको नसाको कमी हुन्छ । त्यस्तै दिसाको प्वाल अन्तिममा गएर खुल्छ तर त्यो कुनै कारणवस खुलेन भने दिसाको प्वाल बन्दैन ।
शिशु जन्मने बित्तिकै तत्काल सल्यक्रिया कुन अवस्थामा गर्नुपर्छ ?
शिशु स्वास्थ्य संस्थामा जन्मेको छ भने त्यहाँको बाल रोग विशेषज्ञले हेर्नुहुन्छ र समस्या भए नभएको बारेमा जानकारी हुन्छ । समस्या छ भने समयमै पत्ता लाग्छ र उपचार हुन्छ । शल्यक्रिया नै गर्नुपर्ने अवस्था भने दिसाको प्वाल नभएको, जन्मेको बच्चाको आन्द्रा पेटमा नभएर नाइटोमा प्वाल परेर आन्द्रा बाहिर निस्कने समस्याहरु पनि हुन्छन् । शिशु जन्मनुभन्दा पहिला नै भिडियो एक्सरे गरेको छ भने गर्भमै थाहा पाउन सकिन्छ, जन्मेपछि पनि थाहा पाउन सकिन्छ ।
*****
नवजात शिशुमा जण्डिस पनि देखिँदै आइरहेको छ । शिशुमा ४ देखि ६ हप्तासम्म जण्डिस भएको छ भने पित्तको नली सुक्ने बित्तिकै आन्द्रामा पित्त जान पाउँदैन, जसले गर्दा कलेजोमा समस्या आउँछ । ओठ राम्रोसँग नजोडेका लगायत माथि उल्लेखित समस्याको सक्दो छिटो सर्जरी गर्दा राम्रो हुन्छ ।
*****
बालकमा जन्मने बित्तिकै पिसाब गर्दा धेरै परसम्म पिसाब फाल्ने, पिसाब फेर्दा कन्ने अथवा नजिकै तुरुक तुरुक पिसाब फाल्ले गरेको छ भने पिसाबको बाटोमा पर्दाहरु हुन सक्ने र त्यस्तो बालकको मिर्गाैलामा पानी जमेको समस्या पनि हुन सक्छ । नवजात शिशुले हरियो बान्ता गरेको छ भने कहीँ न कहीँ आन्द्रा अड्किएको अथवा किटाणुको सङ्क्रमणले पनि त्यस्तो हुन सक्छ ।
नवजात शिशुमा जण्डिस पनि देखिँदै आइरहेको छ । शिशुमा ४ देखि ६ हप्तासम्म जण्डिस भएको छ भने पित्तको नली सुक्ने बित्तिकै आन्द्रामा पित्त जान पाउँदैन, जसले गर्दा कलेजोमा समस्या आउँछ । ओठ राम्रोसँग नजोडेका लगायत माथि उल्लेखित समस्याको सक्दो छिटो सर्जरी गर्दा राम्रो हुन्छ ।
यस्ता समस्याहरु एक पटकको सर्जरीबाट निको हुन्छ ?
बालबालिकामा देखिने स्वास्थ्यसम्बन्धी समस्याहरु धेरैजसो कम आर्थिक अवस्था भएका र अशिक्षित भएकोमा पाइन्छ । रोग सबैलाई लाग्न सक्छ तर बढी सम्भावना यस्ता परिवारबाट जन्मेका शिशु जसको आमाले गर्भावस्थामा खानपान, स्वास्थ्य परीक्षणजस्ता कुरामा विशेष ध्यान दिएको हुँदैन । दिसा गर्ने प्वाल, आन्द्रामा नसाको कमी भएको, पिसाबको बाटोमा पर्दा भएको, मिर्गाैलामा पानी जमेको समस्याको कसैलाई एक पटकको सर्जरीले निको हुन्छ भने कसैलाई पटक पटक सर्जरी गर्नुपर्ने अवस्था पनि हुन्छ ।
*****
गर्भको शिशुमा समस्या भए नभएको बारेमा जानकारी पाउने मुख्य समय भनेको १८ देखि २० हप्ता हो । त्यो समयमा अल्ट्रासाउन्ड गरेर अथवा अन्य प्राविधिक विधिमार्फत पनि गर्भको शिशुको अवस्थाबारे जानकारी पाउन सकिन्छ । गर्भको शिशुमा केही समस्या छ भने आमाको गर्भलाई खोलेर शिशुको सर्जरी पनि गर्न सकिन्छ जसलाई फिटल सर्जरी भनिन्छ । यस्ता किसिमको सर्जरी मैले अमेरिकामा हेर्ने मौका पाएको थिएँ । तर त्यो सेवाको नेपालमा भने सम्भव छैन ।
*****
सबैको आर्थिक अवस्था राम्रो हुँदैन । यस्तो समस्या भएका बालबालिकाको पटक पटक सर्जरी गर्दा आर्थिक अभावका कारणले कतिपय अविभावकले शिशुलाई आधा उपचार गरेर पनि घर लाने गरेका छन् । यो हाम्रा लागि पीडादायक कुरा हो ।
उपचार गराउने स्वास्थ्य संस्था अथवा व्यक्तिले पनि बिरामीका यस्तो समस्यालाई बुझ्नुपर्ने हुन्छ । एउटा सर्जरी गरेर निको हुनेका लागि खासै समस्या नभए पनि पटक पटक सर्जरी गर्नुपर्नेहरु आर्थिक अवस्थाकै कारणले गर्दा उपचारबाट वञ्चित हुन बाध्य छन् । एउटा बच्चाको उपचारमै धेरै पैसा लाग्ने हो भने अन्य बालबालिकालाई कसरी हेर्ने भन्ने कुरा गर्छन् र पूरा उपचार नगरी घरमा लिएर जाने धेरै केसहरु मैले भोगेको छु ।
गर्भ रहेको कति हप्तामा स्वास्थ्य परीक्षण गर्दा शिशुमा समस्या भए नभएको बारे जानकारी पाउन सकिन्छ ?
गर्भको शिशुमा समस्या भए नभएको बारेमा जानकारी पाउने मुख्य समय भनेको १८ देखि २० हप्ता हो । त्यो समयमा अल्ट्रासाउन्ड गरेर अथवा अन्य प्राविधिक विधिमार्फत पनि गर्भको शिशुको अवस्थाबारे जानकारी पाउन सकिन्छ । गर्भको शिशुमा केही समस्या छ भने आमाको गर्भलाई खोलेर शिशुको सर्जरी पनि गर्न सकिन्छ जसलाई फिटल सर्जरी भनिन्छ । यस्ता किसिमको सर्जरी मैले अमेरिकामा हेर्ने मौका पाएको थिएँ । तर त्यो सेवाको नेपालमा भने सम्भव छैन ।
नेपालमा बाल शल्य चिकित्सकको अवस्था कस्तो पाउनु हुन्छ ?
२५ वर्ष पहिला नेपालमा अध्ययन गरेर आउँदा म चौथो पेडियाट्रिक सर्जन थिएँ । अहिले २५ जना जति नेपालमा पेडियाट्रिक सर्जन छन् । तर दुर्भाग्य के छ भने २५ जनामध्ये २२ जना काठमाडौँ उपत्यकामै छन् । बाँकी एक जना धरान, एकजना बुटवल र एकजना वीरगञ्जमा छन् । पहिला पनि हरेक कुरा काठमाडौँ केन्द्रित थिए भने अझैसम्म पनि यो क्रम रोकिएको छैन ।
म कान्ति बाल अस्पतालमा कार्यरत हुँदा स्वास्थ्य मन्त्रालयसँगको छलफलमा बालबालिकाको स्वास्थ्यको बारेमा के गर्ने भन्ने सवालमा मैले पहिला पनि भनेको थिएँ । ५ वटा विकास क्षेत्रमा कम्तीमा पनि एक एकवटा बालबालिकासम्बन्धी अस्पताल सञ्चालन गर्नुपर्ने मेरो कुरा थियो तर त्यो पनि लागू भएन । अहिले ७ वटा प्रदेश छन्, हरेक प्रदेशमा सरकारी स्तरको बाल अस्पताल हुनै पर्छ । कान्ति बाल अस्पताल नेपालको एक मात्र बाल अस्पताल हो । त्यसमा पनि पेडियाट्रिक सर्जरीको त एउटा मात्रै विभाग छ ।
*****
नेपालका सबै ठाउँमा बाल शल्य चिकित्सक छैनन् । जसले गर्दा समयमा उपचार पाउनबाट बालबालिका वञ्चित भएका छन् ।
*****
अहिले नेपाल सरकारले आफ्नो सरकारी अस्पताल नबनाई निजी क्षेत्रलाई अस्पताल बनाउन सहयोग गर्ने कुरा सुन्नमा आएको छ । यसरी सरकार पन्छिन पाउँदैन । जुन देशमा ४० प्रतिशत जनसङ्ख्या १८ वर्षका (पेडियाट्रिक पपुलेसन) छन् । ४० प्रतिशत जनसङ्ख्यालाई सरकारले इग्नोर गर्न मिल्छ ?
सरकारी स्तरको सबै प्रदेशमा एक एकवटा अस्पताल हुनुपर्छ । पछि एनजीओ, आईएनजीओ जो कसैलाई सहयोग गरे पनि कुनै फरक पर्दैन । तर गरिब, विपन्न बालबालिकाले उपचार पाउने अस्पताल भनेकै सरकारी अस्पताल हो । त्यसैले बालबालिकाको स्वास्थ्य क्षेत्रमा सरकारले विशेष ध्यान दिनुपर्छ । बालबालिका भविष्यका कर्णधार हुन्, स्वस्थ्य बालबालिका छन् भने स्वस्थ्य नेपाल बन्छ । देशलाई सेवा उनीहरुले नै हो गर्ने ।
२५ जना पेडियाट्रिक सर्जनमध्ये २२ जना काठमाडौँ उपत्यकामा छन् भनेपछि बालबालिकामा देखिएको समस्या बोकेर उपत्यकामै धाउनुपर्ने बाध्यता कायमै छ ?
नेपालका सबै ठाउँमा बाल शल्य चिकित्सक छैनन् । जसले गर्दा समयमा उपचार पाउनबाट बालबालिका वञ्चित भएका छन् ।
कम्तीमा सबै प्रदेशमा एक, एक बालबालिकाको उपचारका लागि अस्पताल हुनै पर्छ । बाल शल्य चिकित्सक मात्रै भएर हुँदैन, बालबालिकाको उपचारका लागि छुट्टै अध्ययन गरेका नर्स पनि हुनुपर्छ । बालबालिकाको स्वास्थ्य उपचारका लागि विभिन्न विभागको स्थापना गर्नुपर्ने हुन्छ । सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन ।
बालबालिकामा जन्मजात देखिने समस्या समाधानका लागि केके कुरामा ध्यान दिनुपर्छ ?
शिशु जन्माउनुभन्दा पहिला स्त्रीरोग विशेषज्ञसँग परामर्श लिँदा राम्रो हुन्छ । शिशु जन्माउने तयारीमा हो भने श्रीमान श्रीमती दुवै जनाले खान नहुने कुराहरु जस्तै धूमपान मद्यपान, अनावश्यक औषधिहरु खानु हुँदैन । गर्भ अवस्थामा नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । समयमा अल्ट्रासाउन्ड गराउने, सुत्केरी घरमा भन्दा पनि स्वास्थ्य संस्थामै गराउँदा आमा र शिशु दुवै जनाका लागि राम्रो हुन्छ । आमा र शिशुमा थप समस्या देखेको खण्डमा थप उपचारका लागि अन्य अस्पतालमा पठाउन सकिन्छ । समयमै यी कुरालाई ध्यान दिने हो भने स्वस्थ्य जीवन जिउन सकिन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
अञ्जु तामाङ
तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।
तपाईको ईमेल गोप्य राखिनेछ