शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेम्वाङलाई सभामुख बनाउन ओली र प्रचण्ड सकारात्मक !

शुक्रबार, २० मङ्सिर २०७६, १५ : ३४
शुक्रबार, २० मङ्सिर २०७६

काठमाडौ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन पार्टीका अध्यक्षद्वय सकारात्मक भएका छन् ।  अध्यक्षद्वयबीच कार्यविभाजन र मन्त्री हेरफेरकै समय दुईजनाबीच सभामुखको बारेमा पनि लगभग सहमति भएको स्रोतको दावी छ तर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘आफ्ना पक्षका नेताहरुसँग कुरा गर्न बाँकी रहेको कारण’ त्यसलाई अन्तिम रुप दिन सकेको छैन । 

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्माओलीले आफू अनुकूल सभामुख बनाउने अडान पार्टीमा लिएका थिए । तर तत्कालिन माओवादीको तर्फबाट सभामुख बनेको कारण सोही पक्षबाट पुनः बन्नुपर्ने अडान अध्यक्ष प्रचण्ड पक्षको थियो । संसद सचिवालयका महिला कर्मचारीलाई दुरव्यवहार गरेको आरोपमा सभामुख पदबाट मुक्त भएका कृष्णबहादुर महरा तत्कालिन माओवादीबाट सभामुख बनेका थिए । 

त्यही भएर तत्कालिन माओवादी पक्षका नेताहरुले सभामुखमा दावी गरिरहेका छन् । त्यसमा देव गुरुङ, अग्नी सापकोटा, हरिबोल गजुरेल, पम्फा भुसाल, ओन्सारी घर्तिमगर लगायतले सभामुखका लागि दाबेदारी पेश गर्दै आएका छन् । प्रधानमन्त्री ओली सरकारको काम गर्न र गराउन आफूले चाहेको व्यक्ति सभामुख हुनुपर्ने अडानमा छन् ।

केही समय पहिला दुई अध्यक्षबीच भएको कुराकानीमा अध्यक्ष प्रचण्डले सुवास नेम्वाङ सभामुखका लागि तयार भए आफू त्यस विषयमा सोच्न सक्ने संकेत गरेपछि दुबै नेता नेम्वाङप्रति लचक भएका हुन् । तर नेम्वाङले एउटा सार्वजनिक कार्यक्रममा आफू सभामुख बन्न नचाहेको बताएका थिए । । नेम्वाङले भने यसबारेमा आफुलाई केही पनि थाहा नभएको र अहिले नै टिप्पणी गर्नु हतार हुने बताए । उनले शुक्रबार रातोपाटीसँग भने,‘अहिले टिप्पणी गर्दा अपरिपक्वता हुन्छ ।’ 

तर यही बीचमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले नेम्वाङलाई बोलाएर सभामुख बन्ने नबन्ने भनि अभिव्यक्ति नदिन सुझाएका थिए । बालुवाटार स्रोतका अनुसार अध्यक्ष प्रचण्डले भनेका थिए, ‘तपाई चुप लगाएर बस्नुस् हामी सल्लाह गर्दैछौं ।’ त्यो बेलादेखि नेम्वाङले सभामुखको बारेमा सार्वजनिक रुपमा कुनै प्रतिकृया दिएका छैनन् । 

प्रधानमन्त्री ओली स्वास्थ्य उपचार गराएर सरकारी निवास फर्किसकेका छन् । यस विषयमा अध्यक्ष प्रचण्डले चाँडै नै उनीसँग कुरा गरेर सभामुखको विषयलाई अन्तिम रुप दिने बताइएको छ । नेम्वाङ सभामुख पदका लागि तयार भए प्रचण्डले पनि उनकै नाममा सहमति जनाई दिने लगभग पक्का नै भइसकेको नेकपाका एक नेताले बताए ।

यद्यपि,प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सभामुख चयनका विषयामा संसद अधिवेशन सुरु नभई यो प्रक्रिया अघि नबढ्ने बताए । ‘त्यो विषय अधिवेशन आह्वान भएपछि मात्रै सुरु हुन्छ, अहिले प्रधानमन्त्रीसँग त्यसबारेमा प्रस्ट छलफल भैसकेको छैन’ सल्लाहकार थापाले भने । 

संविधानमा नै सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने व्यवस्था गरेको र सोहीअनुसार पार्टी अगाडि बढ्ने नेकपाका प्रमुख सचेतक देव गुरुङले बताए । उनले भने, ‘छिटोभन्दा छिटो सभामुख चयन गरिनुपर्छ । दलहरुको सहमतिमा यसबारेमा निर्णय लिनुपर्छ । सभामुख संविधानअनुसार नै चयन गरिन्छ ।’ 

पार्टीका स्थायी समिति सदस्य समेत रहेका प्रमुख सचेतक गुरुङले नेकपाभित्र कसलाई सभामुख बनाउने भन्नेबारे अहिले संसदीय दलको बैठकमा छलफल नभएपनि शीर्ष नेताहरुको तहमा अनौपचारिक छलफल भएको सुनाए । यद्यपि नेम्वाङलाई सभामुख बनाउने विषयमा सहमति भएको नभएको कुरा आफ्नो जानकारीमा नरहेको बताए । 

सभामुख नेकपाबाट नै बन्ने हो तर कसलाई बनाउने त्यसको बारेमा पार्टीभित्र छलफल गरेर टुङ्गो लगाइने उनले बताए । विगतमा पनि नेता नेम्वाङले संविधान निर्माणमा राम्रो भूमिका निर्वाह गरेको तथा अनुभवी भएका कारणले प्रचण्ड सहमत भएको स्रोतको दावी छ ।

अध्यक्ष प्रचण्डले यस विषयमा नेताहरु भेटेर कुराकानी गर्दै आएका छन् । उनले आफ्ना पक्षका नेताहरुको साथै तत्कालिन एमालेका नेताहरुसँग पनि सभामुखको विषयमा छलफल गरेका छन् । सबैको मनको कुरा बुझेपछि उनले प्रधानमन्त्री ओलीसँग छलफल गरेर त्यसलाई अन्तिम रुपम दिने स्रोतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप