शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनागरिकहरुको आँशु आउने कथा: बाबुबिनै कसरी जन्मियौ ? यसरी छुरी समेत धसियो

आइतबार, २२ मङ्सिर २०७६, १९ : १३
आइतबार, २२ मङ्सिर २०७६

पात्र १ : रिता लामा (नाम परिवर्तन)
मकवानपुरकी रिता लामा ११ बर्षको उमेरमा भारतमा बेचिइन् । बेचिएको २० वर्षपछि उनी नेपाल फर्किइन् । नेपाल आएपछि उनले नागरिकता बनाउन खोजिन तर भारतीय नागरिकसँग बिहे गरेको भनेर उनको नागरिकता बनेन । उनका बुवा, आमासँग वंशजको नेपाली नागरिकता छ । बंशजको आधारमा उनले नागरिकता पाउन लडाई लडिरहेकी छिन् । गत भदौं ७ गते अदालतमा मुद्धा हालेको ८ बर्ष भयो । नागरिकता सम्बन्धी हरेक कार्यक्रममा उनी सहभागी हुन्छिन् तर नागरिकता पाएकी छैनन् ।  

उनले पीडा पोखिन– ‘मेलै वडामा म फलानाको छोरी हो कि हैन भन्दा हो भन्छन् तर विदेशीसँग बिहे गरेको भनेपछि मैले नागरिकता पाइन् । म भारतमा जाउँ भने श्रीमानको घर कहाँ छ मलाई थाहा छैन । छोरी अहिले २२ वर्षको छ । मैले छोरीलाई कसरी नागरिकता दिने ?’

पात्र २: शिवराम परियार 
ललिपुरको सैंबु भैसैपाटी घर भएका शिवराम परियारको पूरै परिवार नागरिकता विहिन छन् । उनी सानै छँदा उनका बुवा आमा बिते । शिवाराम मामाघरमा हुर्किए । बुवाआमा दुबै जनाको नागरिकता बनाइएको थिएन । पछि ठूलो भएपछि घर फर्किए । उनका ठूलो बुवाका छोरालाई नागरिकता बनाउन सहयोग गर्न भन्दा उनले सहयोग गरेनन् ।

नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा जाँदा सिडिओले वडाध्यक्षको रोहबरमा स्थानीय ७ जनाको नागरिकताको फोटोकपि सहित सरजमिन गर्न भने । फेरि सिडियोले फेरि प्रहरीकोे सजर्मिन गर्न भने । उनले त्यो पनि पूरा गरे । फेरी प्रहरीको गोप्य सर्जमिन हुनुपर्छ भने । प्रहरीले गोप्य रुपमा उनको बारेमा बुझ्ने काम पनि ग¥यो तर पनि उनलाई नागरिकता दिइएन । 

सिडियो कार्यालयबाट नागरिकता प्राप्तिको कागजात बोकेर हिँडेको बेला गत बैशाख  ५ गते राती उनको छाति छुरी धसियो । उनी एक महिनासम्म उपचारका लागि अस्पताल बसे ।  एक छोरा एक छोरी छन् । छोराछोरी दुबैले नागरिकता नपाएका कारण पढाई बिग्रिएको उनले बताए । उनका छोरा दिवाकरले नागरिकता नपाएको तनावका कारण आफूले गाँजा लगायतका लागूपदार्थ सेवन गरेर बसेको सुनाए । 

शिवरामकी श्रीमती कल्पना परियारको उनीसँग बिहे गर्नुअघि नागरिकता बनेको थिएन । बिहेपछि श्रीमानको नागरिकता नभएका कारण उनले पनि नागरिकता पाएकी छैनन् । उनलाई छोराछोरीले बेला बेला भन्छन्– ‘नागरिकता नभएको मान्छेसँग किन बिहे गरेको ?’

नागरिता नभएकोसँग बिहे गरेको भन्दै नागरिकता नदिएको विषय आश्चर्य भएको सांसद बिन्दा पाण्डेले बताइन् । उनी भनिन्–‘नागरिकता नभएकोसँग बिहे गर्दैमा वंशजको नाता कसरी तोडिन्छ ?’

 पात्र ३: मोहम्मद इस्लाम 
रुपन्देही घर भएको मोहम्मद इस्लामको बुवा ५० बर्षअघि भारतबाट नेपाल आएका थिए । उनकी आमा नेपाली हुन । उनका बुवाआमाले हालसम्म पनि नागरिकता पाएका छैनन् । त्यसकारण उनको पनि नागरिकता बनेको छैन । उनका दाईले २०६३ सालमा नागरिकता पाए तर अरुले पाउन सकेका छै्रनन् । 

पात्र ४: सुमन भुसाल  

लुम्बिनीका सुमन भुसाल अहिले २५ वर्षका भए । उनकी आमाको बंशजको नेपाली नागरिकता छ । उनका बुवा वेपत्ता छन् । नेपालमै जन्मिएको भएपनि अहिलेसम्म उनको जन्मदर्ता नभएको उनले बताए । उनी जन्म दर्ता र नागरिकता बनाउनका लागि सरकारी कार्यालय धेरैपटक धाए तर केही सिप लागेन ।

सबैले उनको बाबु को हो भनेर सोधे । उनले भने– ‘उनीहरु बिहे नगरी कसरी बच्चा जन्मिन्छ भन्छन् । एउटा अनाथ ब्यक्तिले नागरिकता नपाउने ? ऐयासी गरेर हिँड्ने बाबुको किन विर्य खुलाउनुपर्ने ? । हामी नेपालमा जन्मिएका हौ, अघि हामीले छातिमा हात राखेर राष्टिय गान गायौ, हामीलाई देशको माया छैन ? यथासक्य छिटो हामीले नागरिकता पाउने कानून बनोस । यो एउटा व्यक्तिको मात्र समस्या हैन ९ लाखको समस्या हो । यो कुरा २ सय ७५ जनालाई भनिदिनुस् । हामी एकजुट हुनु नपरोस, सरकारले नै यो समस्या हल गरोस् ।’

पात्र ५: सुरज हजारे दाहाल 

सुमन हजारे दाहालका बुवा भारतीय हुन् । हजारे उनको भारतीय बाबुको थर हो भने दाहाल आमाको थर । उनको बुवाको मृत्यु भइसक्यो । उनी आमासँगै लामो समयदेखि नेपालमै बस्दै आएका छन् । आमा नेपाली वंशजको नागरिक हुन् । उनले अहिलेसम्म नागरिकता पाएका छैनन् ।

उनी भन्छन्–‘स्वदेशी महिलाले जन्माएको सन्तानले अंगिकृत नागरिकता पाउने ? मैले विदेशी बाबुबाट जन्मिए पनि विदेशको नागरिकता लिएको छैन । म नेपालको भान्जा हुँ । भान्जाबाट यो देशलाई के खतरा हुन्छ ? हामीले कहिलेसम्म अनागरिक हुने ? मैले २२ वर्र्षको उमेरदेखि नागरिकता पाउन प्रयास गरे अहिले ३० बर्षको भए ।’ 

पात्र ६ : सीता ढकाल (नाम परिवर्तन)  

चितवनकी सीता ढकाल (नाम परिवर्तन) एकजना यूवासँग प्रेम बस्यो । उनले एक छोरा जन्माइन् तर उनका श्रीमान बेपत्ता भए । उनको बिहेदर्ता भएको थिएन भने नागरिकता पनि बनेको थिएन । उनले नागरिकता बनाउन आफ्ना बुवाआमालाई लिएर सिडियो कार्यालय गइन तर उनले नागरिकता पाउन सकिनन् । उनी भन्छिन्– ‘श्रीमान बेपत्ता छन् । जहाँ जादा पनि नागरिता खोज्छन् । नागकिरता बिना धेरै काम रोकियो । छोरालाई कसरी नागरिकता दिलाउने अर्को समस्या पनि छ ।’

पात्र ७ : सन्तोष परियार, चितवन 

चितवनकै सन्तोष परियारकी आमा सानोमै बितिन् । ८ बर्षको हुँदा उनका बुवा पनि बिते । एकजना स्थानीयले उनलाई पाले, काम गर्न भारत लिएर गए । भारतबाट फेरि नेपाल फर्किएर उनले बिहे गरे । उनकी श्रीमतीको बंशजको नागरिकता छ ।  

उनीहरुकी एक छोरी छिन् । वडामा छोरीको जन्मदर्ता गर्न गए तर उनको नागरिकता नभएका कारण छोरीको जन्म दर्ता रोकिएको छ । जन्मदर्ता गर्न बिहे दर्ता हुनुपर्ने तर बिहे दर्ता गर्न पनि उनको नागरिकता छैन् । नागरिकता नहुँदा उनको परिवार तनावमा छ । 

पात्र ८ : जोनी जेके

नुवाकोटका जोनी जेके ४० बर्षका भए । उनले आफ्नो नागरिकता खोजेको २३ बर्ष भयो । तर पाएका छैनन् । यसको मुख्य कारण उनकी आमा नेपाली र बुवा भारतीय हुनु ।   नागरिकता नपाएपनि नुवाकोट बहुमुखी क्याम्पसबाट उनले उच्चशिक्षा लिए । अहिले उनी निजी स्कूल चलाएर बसेका छन् । नुवाकोटमै बिहे गरेका उनकी श्रीमतिको भने बंशजको नागरिकता छ । चिनजानका कारण उनको बच्चाको जन्मदर्ता भने भएको छ । सोही आधारमा उनकी जेठी छोरी अहिले नर्सिङ पढिरहेकी छिन् । तर छोरीसँग पनि नागरिकता छैन ।

उनकी बहिनीले नेपाली नागरिकसँग बिहे गरेपछि नागरिकता पाइन् । उनकी छोरीले भोली कोही नेपाली नागरिकसँग बिहे गरेपछि वैवाहिक अंगिकृत नागरिकता पाउनेछिन् । तर उनका छोराले नागरिकता नपाउने कुराको उनलाई चिन्ता छ । उनले भने– ‘समस्या भनेको छोरीले नागरिकता पाउँछन् तर मेरो छोरा अनारिक हुन्छ । नागरिकताको सट्टामा काम गर्ने परिचय पत्र बनाइदिए यो नेपाली हैन भनेर बनाइदिनु । तर मलाई आफू नेपाली हुनुमा गर्व छ ।’

माथि प्रस्तुत विभिन्न कारणले नागरिकता पाउन नसकेका र नागरिकताको परिचयपत्र नहुँदा अनेक हण्डर भोग्नेहरु प्रतिनिधि पात्र हुन् । महिला कानून र विकास मञ्चले आइतबार काठमाडौंमा गरेको नागरिकताबाट वञ्चित व्यक्तिहरु र सांसदहरुसँग प्रत्यक्ष छलफल कार्यक्रममा उनीहरुले सांसदहरुलाई यसरी आफ्ना पीडा सुनाएका थिए । 

महिलाले पुरुषलाई पहिचान दिन सक्ने अवस्था छैन : मिरा ढुङ्गाना 

कार्यक्रममा महिला कानून र विकास मञ्चकी अध्यक्ष अधिवक्ता मिरा ढुगानले आमा वा महिला भएकै कारण आफ्नो पति वा सन्तानलाई पहिचान दिन नसक्ने अवस्था नरहेको बताइन् ।   उनले भनिन्– ‘अहिले पनि ९ लाख बालबालिका एकल महिलासँग छन् । महिला, आमा भएकै कारण आफ्नो पतिलाई पहिचान दिन नसक्ने अवस्था छ । विदेशी नागरिकसँग बिहे गरेको अवस्थामा सन्तालाई पहिचान दिन झन समस्या छ ।

नाबालाकहरुलाई संरक्षकले पाले पनि नागरिकता नपाएको अर्को समस्या छ । बाटोमा फेला परेको वा कुनै मन्दिरमा फेला परेको आधारमा म सिफारिस दिन सक्छिन्, मलाई कमनूनी समस्या पर्यो भने कसले सहयोग गर्छ भनेर नागरिकता नदिएको टड्कारो रुपमा देखिएको छ ।’

उनले नागरिकता नपाएका कारण पनि महिला हिंसा भइरहेको बताइन् । बाबु वेपत्ता भएका छोराले नागरिकता नपाउँदा आफ्नै आमालाई कुटपिट गरेको पनि अवस्था रहेको उल्लेख गर्दै नागरिकता ऐन आउँदै गरेको अवस्थामा प्रभावित व्यक्ति र सांसदहरुबीच छलफल गराएर समस्या सामाधान होस् भन्ने चाहना राखेको उनले बताइन् । 

नागरिकतासम्बन्धी विधेयकमा १५ खालका समस्या, छिट्टै पास हुनेमा सांसदकै शंका  

आउदो हिउदे अधिवशेनमा नागरिकता विधेयक पास हुनेमा सत्तारुढ दलकै सांसदले शंका ब्यक्त गरेका छन् । कार्यक्रममा नेकपा सांसद बिन्दा पाण्डेले नागरिकता प्राप्तिका लागि १५ खालका फरक फरक समस्या रहेको बताउँदै समाधानका लागि नागरिकता विधेयकमा संशोधन हालेको बताइन् । उनले सो लिस्ट गृहमन्त्रीलाई पनि बुझाएको पनि उल्लेख गरिन् । 

नागरिकता विधेयकमा रहेका प्रावधानप्रति एउटै पार्टीको पनि फरक–फरक विचार आएको उनले बताइन् । उनले भनिन्– ‘संसदीय समितिमा विदेशबाट बिहे गरेको आएको महिला वा पुरुष भएपनि ७ बर्ष समय राख्नुपर्छ भन्ने नेकपा सांसदको मत थियो ।

७ बर्षका लागि शिक्षा, जग्गा खरिद बिक्री, बैंक खाता खोल्नका लागि छुट्टै परिचयपत्रको व्यवस्था गर्ने सहमति भएको थियो । पछि पार्टीको बैठकले २०६३ सालमा जे व्यवस्था भएको थियो, त्यसमै पोजिसन लिने निर्देशन भए अनुसार पोजिसन लियौँ । प्रमुख प्रतिपक्षले पनि २०६३ सालकै व्यवस्था गर्ने भनेपछि दुई पक्षको टसलमा विधेयक पास नगर्ने पछि छलफल गर्ने भनेर स्थगित भएको थियो ।’ 

उनले आउँदो हिउँदे अधिवेशन नागरिकता विधेयक पास हुनेमा आफू विश्वस्त नभएको उनको भनाई छ । सदनमा छलफल भइरहेको बेला सबै जिल्लामा नसके सबै प्रदेशमा आफ्नो आवाज उठाउन उनले आग्रह गरिन् । 

यता सांसद कृष्णभक्त पोखरेलले छोरीसँग बिहे गरेको विदेशी ज्वाँइले नागरिकता पाउन नसक्ने अवस्था रहेको उल्लेख गर्दै संविधान जारी गरेको ४ बर्षपछि पनि आमाको नामबाट नागरिकता पाउन पनि अदालत जानुपरेको घटना सुनाए । 

उनले भने– ‘सरकारले संसदमा १ वर्षभित्र नागरिकता कानून ल्याउन विधेयक पठाएको पनि हो । तर वादविवाद पनि भयो । समितिमा आमाको नामबाट नागरिकता दिने विषयमा सर्वसहमति छ । समितिमा अहिले फेरि विदेशी बुहारी बिहे गर्दा छिमेकी मुलुक भारतमा पनि ७ बर्ष पर्खनुपर्ने यता पनि पर्खर्ने कि नपर्खने भन्नेमा विवाद छ ।’ तर अहिले बाउको पत्ता नलागेको बंशजको नागरिकता भएको आमाको सन्तानलाई नागरिकता दिन के समस्या भयो भन्दै उनले प्रश्न गरे । 

उनले सत्तारुढ दलकै सांसदको बहुमत भएको बेला अरुलाई भन्नुनपर्ने, बहुमतका आधारमा पास गर्न सक्ने अवस्थामा पनि विधेयक रोकिनु ठीक नभएको बताए । उनले आफ्ना पनि छोरी रहेको र छोरीले विदेशी नागरिकसँग बिहे गरेमा ज्वाँइले नागरिकता पाउनुपर्ने पक्षमा आफू रहेको उल्लेख गरे । 

कर्मचारीतन्त्र जनतामैत्री नभएको भन्दै उनले संविधानले अधिकारको ग्यारेन्टी गरेपनि आमाको नामबाट नागरिकता पाउन समस्या रहेको बताए ।  साथै राज्यव्यवस्था समिति सभापति शशि श्रेष्ठलाई  नागरिकता विधेयकमा जति सहमति भएको छ त्यसलाई हाउसमा पठाउन र बाँकी हाउसमै छलपल गर्ने भनेको पनि उल्लेख गरे ।  

यस्तै  राष्ट्रिय महिला आयोगका पूर्वअध्यक्ष शेख चाँदा ताराले नेपालमा नागरिकताको विषयलाई जटिल बिषय बनाइएको बताउँदै नागकिता विधेयकमा केही कुरा राम्रो आएपनि अझै समस्या रहेको बताइन् । उनले सम्पत्ति दिनुपर्छ भनेर बाबुले छोरीलाई नागरिकता नदिएको घटना समेत रहेको बताइन् । 

महिलाले कहाँ कहाँको मान्छेसँग बिहे गर्छिन् र उसबाट जन्मिएको सन्तानबाट देशलाई खतरा हुन्छ भनेर कानून बन्न रोकिनु नहुने बताइन् ।  यस्तै सांसद निरु जैरुले नागरिकताको सट्टामा अस्थायी परिचय पत्र दिएर मात्र समस्या समाधन नहुने बताइन् । 

उनले यो विषयलाई प्रधानमन्त्री कार्यालयमा पनि लैजाने र संसदमा पनि आवाज उठाउने बताइन् । 

समस्या समाधान नजिक छ : सांसद नवराज सिलवाल

संसदको राज्यव्यवस्था समितिका सदस्य सेमत रहेका सांसद नवराज सिलवालले नागरिकता नपाउने अवस्थाको समाधान हुने अवस्थामा पुगेको बताए । उनले  नागरिकता सम्बन्धी बिधेयक २ वटा कुरामा अड्किएको उल्लेख गर्दै महिलाले आफ्नो पतिको बारेमा स्वघोषणा गरेको आधारमा नागरिकता दिने व्यवस्था गरेको बताए ।  

उनले भने– ‘महिलाले स्वघोषणाका आधारमा श्रीमान बिदेशी हो भने अंगिकृत र स्वदेशी हो भने उनका सन्तानलाई वंशजको नागरिकता दिने बिषमा सहमति भएको छ । यो व्यवस्थाले धेरैको समस्या समाधान गर्छ ।’ 

उनले अर्को धेरै विवाद भएको विषय नेपालबाट भारतमा बिहे गरेर जाने नेपाली चेलीले ७ बर्ष पर्खनुपर्ने र उताबाट बिहे गरेर नेपाल आउने महिलालाई तुरुन्तै नागरिकता दिने अवस्था बारेमा रहेको जानकारी गराए । 
उनले भने–‘कि दुबै देशमा समान हुनुपर्छ भन्ने कुरा उठेको छ ।

यो विषयमा भएको विवाद सायद हिउदे अधिवेशनमा टुगिंएला । संविधानको स्पिरिटअनुसार कानून निर्माण गर्छौ । मुलुकमा राज्यबिहिन भएर अब कोही बस्नु पर्दैन भन्ने कुराको हामी ग्यारेन्टी गछौँ ।’ उनले नागरिकता प्राप्तिमा कसैलाई केही समस्या भए लिखित रुपमा आफूलाई दिन आग्रह गर्दै नागरिकता प्राप्तिमा सहज हुने गरी नागरिता बिधेयक संशोधन गर्न सक्ने समय अझै रहेको बताए । 

सांसद विन्दा पाण्डेले संसदकोे हिउँदे अधिवेशनमा नागरिकताबाट वञ्चितहरुको कुरा सुनेर समस्या समाधान गर्ने गरी आवाज उठाउने बताइन् । नागरिकता सम्बन्धी विद्येयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन अवस्थामा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप