मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

१३औँ साग: महिला फुटबलमा भारतलाई स्वर्ण

सोमबार, २३ मङ्सिर २०७६, १७ : ३५
सोमबार, २३ मङ्सिर २०७६

कास्की ।  १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको पोखरामा सम्पन्न महिला फुटबलमा भारतले स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न फुटबलको फाइनलमा आयोजक नेपाललाई २–० गोलअन्तरले पराजित गरी डिफेन्डिङ च्याम्पियन भारतले उपाधि रक्षा गरेको हो ।  

नेपाललाई पराजित गर्ने क्रममा भारतका एनजी बालादेवीले खेलको पहिलो हाफको १८ औँ तथा दोस्रो हापको ५५औँ मिनेटमा एक÷एक गोल गरिन् । लिग चरणको खेलमा समेत नेपाललाई भारतले उनकै गोलको मद्दतले १–० अन्तरले पराजित गरेको थियो । महिला फुटबलमा अन्तर्राष्ट्रिय उपाधिबाट बिमुख हुँदै आएको नेपाल घरेलु मैदानमा स्वर्ण जित्ने ऐतिहासिक अवसरको सदुपयोग गर्न नसकेपछि रजत पदकमा चित्त बुझाउन बाध्य बन्यो । 

अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा नेपाली खेलाडीले केही गोलका मौका पाए पनि सदुपयोग गर्न सकेनन् । रङ्गशालामा उपस्थित दर्शकले खेलको शूरुआतदेखि अन्तिमसम्म निरन्तर नेपाली टोलीको समर्थनमा नारा लगाउँदै हौसला प्रदान गरेपनि टोलीले गोलको खाता खोल्न सकेन । खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । खेल लगत्तै उनले टोलीको हारको सम्पूर्ण जिम्मेवारी आफ्नो भएको बताउँदै राजीनामा दिने बताएका हुन् । 

भारतीय टोलीका प्रशिक्षक मेयामल रकीले उपाधि रक्षा गरेर स्वर्ण जित्न पाउँदा खुशी भएको बताउँदै नेपालले पछिल्ला वर्षमा राम्रो फुटबल खेल पस्कदै गोल अन्तरलाई कम गर्दैै लगेको प्रतिक्रिया दिए । विजेता खेलाडीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले ट्रफी तथा मेडल प्रदान गरेका थिए ।

भारतसँगको खेलपछि नेपाली टोलीका खेलाडीद्वय निरु थापा र मनमाया लिम्बूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनीहरुलाई समापन समारोहमा सम्मान गरिएको थिया भने राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले दुवै जनालाई आधा तोला सुन प्रदान गरेर सम्मान गर्ने घोषणा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप