बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपा बैठकका ८ निर्णय : ‘विशेष दूत’ बारे थोरै सल्लाह, धेरै हल्ला !

सोमबार, २३ मङ्सिर २०७६, १८ : ३४
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई सीमा विवादबारे छलफल गर्न भारत पठाउने प्रसंग अलिकति सल्लाह र त्यो भन्दा बढी हल्ला भएको बताएको छ । 

सोमबार बसेको सचिवालय बैठकमा यसबारेमा कुनै छलफल नभएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका तर्फबाट भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट नेता माधव कुमार नेपाललाई विशेष दूतका रुपमा भारत पठाउने कुरा गरेको खुलासा गरे । 

यसअघि नेकपाका नेताहरुले नेता नेपाललाई विशेष दूतका रुपमा भारत पठाउनेबारे फरक फरक धारणा सार्वजनिक गर्दै आएका थिए । 

अघिल्लो बैठकमा नेता नेपालले यसवारे जानकारी दिएपनि भारतले समय नदिएकाले नेता नेपाल भारत नगएका समाचारहरु सार्वजनिक भएका थिए । महासचिव विष्णु पौडेलले यसवारे कुनै छलफल नभएको रातोपाटीसँग बताएका थिए । 

सोमबारको बैठकपछि सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, प्रधानमन्त्रीज्यूले नेता माधव कुमार नेपाललाई सरकारको विशेष दूत बनाएर पठाउने कुरा गर्नुभएको हो । यसबारे पार्टीमा अलिअलि सल्लाह पनि भएको हो । तर धेरै हल्ला भएको हो ।’

उनले सोमबारको बैठकमा भने यसवारे कुनै छलफल नै नभएको दावी पनि गरे ।

सोमबार तीन घण्टा बसेको नेकपा सचिवालय बैठकले आठवटा निर्णय गरेको छ । जसमा जिल्लास्तरमा भएको सांगठानिक समस्या समाधान गर्नेदेखि कर्णाली प्रदेशका सचिव माया शर्माले दिएको राजीनामा अस्वीकृत समेत रहेका छन् । त्यस्तै बैठकले स्थायी कमिटीको निर्देशन मान्दै यसअघिको सचिवालयको निर्णयका आधारमा पार्टी विधान संशोधन प्रस्ताव तयार गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

 विधान संशोधनको प्रस्ताव आवश्यकता अनुसार स्थायी कमिटी र केन्द्रीय कमिटिमा पेश भएपछि मात्रै कार्यान्वयनमा लगिने नेकपाले जनाएको छ । विधान संशाेधनपछि नेता वामदेव गौतमलाई उपाध्यक्ष बन्ने बाटो खुल्नेछ ।  त्यस्तै अघिल्लो बैठकले मातहतका कमिटीलाई  उपनिर्वाचनको समीक्षा रिपोर्ट पठाउन दिएको समयसीमामा सवैले नपठाएकाले अरु ५ दिन थप गर्ने निर्णय गरेको छ ।

अवको ५ दिनभित्र अनिवार्य समीक्षा रिर्पोट पठाउन पनि बैठकले निर्देशन दिएको छ । यसअघि १८ गते बसेको बैठकले मंसिर २२ गतेभित्र समीक्षा रिपोर्ट पठाउन उपनिर्वाचन भएका जिल्लाका कमिटीहरुलाई निर्देशन दिएको थियो । थपिएको समयमा आएका रिर्पोटका आधारमा उपनिर्वाचनबारे थप महासचिवमार्फत अर्को बैठकमा छलफल गर्ने नेकपाले जनाएको छ । 

त्यस्तै सोमबारको बैठकमा संगठन विभाग प्रमुख समेत रहेका नेता बामदेव गौतमले संगठन विभागसम्बन्धी कार्ययोजना पेश गरेका छन् । उक्त प्रस्तावका बारेमा सचिवालयका सदस्यले पार्टी अध्यक्षहरुलाई सुझाव पेश गर्नेछन् । सुझावलाई अध्यक्षले संगठन विभागसँग समेत परामर्श गरेर पार्टीको अब बस्ने सचिवालय बैठकमा निर्णायर्थ पेस गर्नेछन् ।

नेकपाको एकीकरणका सम्बन्धमा केही जिल्लाहरुमा देखिएको संगठनात्मक समस्या समाधान गर्न संगठन विभागलाई जिम्मेवारी दिएको छ । संगठनात्मक समस्याको आवश्यक छानविन गर्न र समाधान गर्न जिम्मेवारी दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यस्तै केन्द्रीय निकायहरु केन्द्रीय सल्लाहकार कमिटी, निर्वाचन आयोग, विभाग, जेष्ठ कम्युनिस्ट मञ्चको पूर्णताको निम्ति प्रमुख र उपप्रमुखहरुले सात दिनभित्र त्यससम्बन्धी प्रस्ताव महासचिवमार्फत प्रस्तुत गर्न निर्देशन दिएको छ । उक्त प्रस्तावबारे पनि अर्को सचिवालय बैठकले सवै निकाय र विभागलाई पूर्णता दिनेछ । नेकपाले अर्को सचिवालय बैठक मंसिर २७ र स्थायी कमिटी बैठक मंसिर २९ गतेलाई बोलाएको छ ।

अवको सचिवालय बैठकले पार्टीका केन्द्रीय विभाग र निकायहरुलाई पूर्णता दिने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप