बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : गौरिकाले ४ स्वर्ण जित्दै रचिन् इतिहास, १४ औं साग पाकिस्तानमा

सोमबार, २३ मङ्सिर २०७६, १८ : ५९
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौँ । १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता पाकिस्तानमा गर्ने निर्णय भएको छ । सोमबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो । 

 त्यसैगरी, काउन्सिलले ६ महिनाभित्रमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक पाकिस्तानमा आयोजना गरी १४औं दक्षिण एसियाली खेलकुदको मिति तय गरिने निर्णय पनि जनाएको छ । 

गौरिका सिंहको कीर्तिमान 

काठमाडौँ । नेपालकी जलपरी गौरिका सिंहले जारी सागमा इतिहास रचेकी छिन् । गौरिकाले सागको एकै संस्करणमा चार स्वर्ण जित्ने नेपाली खेलाडीका रुपमा कीर्तिमान बनाएकी हुन् ।

सोमबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको १०० मिटरको फ्रिस्टाइलमा अर्को स्वर्ण पदक जित्दै स्वर्ण पदक संख्या ४  पुर्याएकी हुन् । गौरिकाले निर्धारित दुरी ५८.१३ सेकेन्डमा पूरा गरिन् ।

सागमा कुनैपनि नेपाली खेलाडीले एकै संस्करणमा ४ वटा स्वर्ण जितेको यो पहिलो पटक हो । 

प्रतियोगितामा गौरिकाले १०० मिटरकै फ्रिस्टाइल, दुई सय मिटर ब्याकस्ट्रोक र फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् । साग पौडीको विभिन्न आठ स्पर्धामा सहभागी १७ बर्षीया गौरिकाले थप दुई कांस्य समेत जितेकी छन् । 

यसअघि  सागमा नेपालका तेक्वान्दो खेलाडी दिपक विष्टले अलग अलग संस्करणमा मात्र चार स्वर्ण जितेका थिए । गौरिकाले योसँगै चार स्वर्णसहित दुई रजत र दुई कांस्य पनि जितेकी छन् । साग पौडीमा गौरिकाले आठ स्पर्धामा प्रतिस्पर्धा गरेकी थिइन् ।  योसँगै १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको स्वर्ण संख्या ४९ पुगेको छ । 

यसैगरी सागअन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितेकी छन् । सोमबार भएको ७८ केजी तौल समूहको फाइनलमा पुनमले बंगलादेशकी फरिना खनोमलाई हराउँदै स्वर्ण जितेकी हुन् ।  

बक्सिङ भुपेन्द्रले जिते स्वर्ण 

यता बक्सिङमा भुपेन्द्र थापामगरले स्वर्ण जितेका छन् । सोमबार भुपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । फाइनलमा भुपेन्द्रले भारतका मनिष कौसिकलाई हराए । आजै बक्सिङमा नेपालकी मिनु गुरुङले पनि स्वर्ण पदक जितेकी छिन् ।  

पुरुष क्रिकेट 

पुरुष क्रिकेटतर्फ बंगलादेशले स्वर्ण पदक हासिल गरेको छ । उपाधिका लागि श्रीलंकासँग प्रतिश्पर्धा गरेको बंगलादेशले ७ विकेटको जित हासिल गरेको हो । पराजयसँगै श्रीलंका रजत पदकमा सीमित भएको छ ।

आयोजक नेपालले भने कास्य पदक हासिल गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा १२३ रनको लक्ष्य पाएको बंगलादेशले १९औं ओभरको पहिलो बलमा जित हासिल गरेको हो । 

यसैगरी पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्न सफल भएको छ । १० वटा स्वर्ण पदकको लागि पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिम तर्फको इभेन्टमा स्वर्ण पदक हात पार्न सफल भएको हो ।

सोमबार भएको रिकर्भ महिला तथा पुरुष तर्फ बंगलादेशले स्वर्ण पदक हात पार्न सफल भयो भने कम्पाउण्ड तर्फको महिला तथा पुरुष तर्फ पनि स्वर्ण पदक हात पार्न सफल भयो ।

१२ औं सागमा कास्य पदक मात्र हात पार्न सफल भएको नेपालले घरेलु मैदानमा भने रजत पदकसम्म हात पार्न सफल भयो । नेपालले एक रजत, २ कास्य सहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपाल सहित ४ देश सहभागि भएको खेलमा अन्तिम समयमा पाकिस्तान भने सहभागि भएन ।

सुटिङमा भारतको वर्चश्व

साग अन्तर्गतसुटिङ विधामा कुल २० स्वर्ण पदक मध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण रजत र कास्य गरि कुल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरि २९ पदक जित्न सफल भयो ।

दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कास्य सहित १४ पदक हात पारेको छ । कुनै पनि स्वर्ण नजितेको बंगलादेशले कुल १० पदक हात पार्न सफल भयो । बंगलादेशले ६ रजत र ४ कास्य पदक जितेको हो । चौथो स्थानमा रहेका श्रीलंकाले २ रजत र ५ कास्य गरि कुल सात पदक हात पारेको छ । यता, माल्दिभ्स, भुटान र नेपाल भने पदक विहीन बनेका छन् ।
हरि खड्काद्वारा राजीनामा

सागमा नेपालको महिला फुटबलतर्फ भारतसँग पराजित भएपछि टीमका मुख्य प्रशिक्षक हरि खड्काले प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । फुटबलमा नेपाललाई स्वर्ण दिलाउन दावी गरेका खड्काले असफल भएपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा घोषणा गरेका हुन् ।

पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २–० गोलले पराजित भएको थियो । खेलपछि आयोजित पत्रकार सम्मेलनमा खड्काले जुन उद्देश्यले तयारी गरेपनि स्वर्ण जिताउने योजना सफल नहुँदा राजिनामा दिएको बताए । 


पाकिस्तानी खेलाडीलाई सम्मान

नेपाल स्थित पाकिस्तानी राजदूतावासले दक्षिण एशियाली खेलकुदमा सहभागि पाकिस्तानी खेलाडीहरुलाई सम्मान गरेको छ । 

राजदूतावासले काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा खेल्न आएका खेलाडीहरुलाई रात्रिभोज आयोजना गरी सम्मान गरेको हो । दुतावासले खेलाडीहरुले राम्रो प्रतिस्प्रधा गरिरहेको र थप उर्जा दिन सम्मान गरिएको बताएको छ ।

नेकपा बैठक

सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ गते बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो । पार्टी एकतापछि दोस्रो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघि गतवर्ष मंसिर २९ गते बैठक बसेको थियो ।

सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय पनि गरेको छ । यसअघि स्थायी कमिटीले गरेको निर्देशन र यसअघिका सविचालय बैठकले गरेका निर्णहरुलाई बल पुग्ने गरि विधान संशोधनको तयारी नेकपाले गरेको हो । संशोधित विधान स्थायी कमिटी र केन्द्रीय कमिटीमा पेशगरेपछि कार्यान्वयनमा जाने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

बैठकले विभिन्न जिल्लामा देखिएका संगठनात्मक समस्याहरुको आवश्यक छानबिन र समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिएको छ ।

बैठकमा संगठन विधागको तर्फबाट कार्ययोजना सम्बन्धि प्रस्ताव प्रस्तुत गरिएको छ । नेकपाले उपनिर्वाचनको समिक्षा भने अर्को सचिवालय बैठकमा गर्ने भएको छ । प्रवस्ता श्रेष्ठका मंसिर २७ गते बस्ने सचिवालय बैठकमा उपनिर्वाचनको समीक्षा हुनेछ । 

त्यसैगरि केन्द्रीय सल्लाहकार कमिटी, केन्द्रीय निर्वाचन आयोग, जेष्ठ नागरिक मञ्च, केन्दीय आयोग र विभागहरुले ७ दिनभित्र त्यससम्बन्धि प्रस्ताव महासचिव विष्णु पौडेल मार्फत प्रस्तुत गरी सचिवालय बैठकले सवै निकाय र विभागलाई पूर्णता दिने गरी निर्णय लिने विषयमा समेत छलफल भएको छ ।

श्रेष्ठले सीमा समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले माधव कुमार नेपाललाई विशेष दुत बनाएर भारत पठाउने जानकारी बैठकमा प्राप्त भएपनि त्यो विषयमा कुनै छलफल नभएको बताए र 

प्रमका प्रेस सल्लाहकारको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एपेन्डिसाइटिसको ढिलो अप्रेसन हुनुमा निजी चिकित्सकको कुनै दोष नभएको बताएका छन् । 

 सोमबार प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री कार्यालयमा गरेको पत्रकारसँगको भेटघाटका क्रममा यस्तो बताएका हुन् । 

 प्रधानमन्त्रीको उपचार तथा स्वास्थ्य अवस्थाका विषयमा यसअघि आएका समाचारको सम्बन्धमा थापाले छलफल केन्द्रीत गरेका थिए । 

 त्यसैक्रममा ‘प्रधानमन्त्रीलाई त्यति धेरै समस्या हुँदा पनि निजी चिकित्सक के हेरेर बसेका थिए’ भन्ने रातोपाटीको प्रश्नमा जवाफ दिँदै थापाले त्यसमा निजी चिकित्सक तथा अन्य चिकित्सकको कुनै दोष नभएको बताए । 

निर्वाचन आयोग

राष्ट्रिय सभामा रिक्त हुने सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले छलफल सुरु गरेको छ । 

आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा १९ जना सदस्यको पद रिक्त हुने भएपछि निर्वाचन आयोगले सोमबार निर्वाचनका लागि छलफल गरेको हो । छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संघीय संसदबाट पत्र पाप्त भएको बताउँदै १८ जना सदस्यको लागि निर्वाचन गर्नुपर्नै बताए । 

यो निर्वाचनमा पनि अन्य निर्वाचनमा जस्तै दल दर्ता देखि प्रक्रिया सुरु गरी सदस्यहरुको पदावधि सकिन भन्दा ३५ दिन अघि नै नतिजा बुझाउनु पर्ने व्यवस्था ऐनले गरेको छ । सोही अनुसार आगमी माघ १५ गतेभित्र निर्वाचन सम्पन्न गरी नतिजा बुझाउनुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । 

राष्ट्रिय सभा सदस्यका लागि हुने यो निर्वाचनमा निर्वाचन मण्डलमा सम्मिलित प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले संघीय कानुन बमोजिम मतदान गर्न पाउने छन् । निर्वाचन मण्डलमा रहेका सबै तहका व्यक्तिहरुको मतको भार भने फरक फरक हुने छ । राष्ट्रिय सभामा कुल ५९ जना सदस्य रहने व्यवस्था रहेको छ । अहिले निर्वाचन हुने सदस्यहरुको पदावधि भने ६ वर्षको हुने छ । 

ईश्वर पोखरेल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने प्रतिवद्धता जनाएका छन् । 

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरलेले ठूला माछा र साना माछाको प्रशंग चल्ने गरेको बताउँदै भ्रष्टाचारमा संलग्न जुनसुकै व्यक्तिले पनि छुट नपाउने प्रतिवद्धता जनाए । 
उनले राजनीतिको संरक्षणमा त्यस्ता कर्महरु हुन्छन् भने तिनिहरुले छुट नपाउने कुरामा विश्वस्त हुन आग्रह समेत गरे । 

द्रुत मार्गबारे सेना

द्रुत मार्गको करिब २८ दशमलव ९ किलोमिटरको काम सतप्रतिशत भएको नेपाली सेनाले जनाएको छ । सेनाले सोमबार पत्रकार सम्मेलन गरि सडक निर्माणका लागि आवश्यक जग हाल्ने काम २८ दशमलव ९ किलोमिटरमा सत प्रतिशत भएको जनाएको हो । कुल ११ दशमलव ३५ किलोमिटर सडकको ८० प्रतिशत र बाँकी १५ दशमलव ३ किलोमिटर सडकको काम ८० प्रतिशत भन्दा कम काम भएको सेनाले जनाएको छ । 
द्रुतमार्गमा तीन वटा सुरुङ मार्ग र ८७ वटा पुलहरु निर्माण हुनेछन् । विशेष प्रकारका १६ र अन्य ७१ वटा पुलहरु निर्माण हुनेछन् । त्यसैगरि तीन ठाउँमा सुरुङमार्ग निर्माण गरिनेछ । 

द्रुत मार्ग निर्माण सम्पन्न भएपछि खोकनादेखि निजगढसम्म पुग्न १ घण्टाको समय लाग्ने छ । ४ लेनमा बन्ने सडकको पहाडी खण्डमा २५ मिटर र तराईको क्षेत्रमा २७ मिटर चौडाई हुनेछ ।

भौगोलिक अवस्था, कार्य जटिलता, लगायतका विषयलाई मध्यनजर गरेर निर्माण कार्यर्लाइ प्राथमिकता दिइएको सेनाले जनाएको छ । सेनाले अबको ४ वर्षभित्रमा द्रुतमार्ग निर्माणको काम सम्पन्न हुने जनाएको छ । विस. २०८१ बैशाखसम्ममा द्रुत मार्ग निर्माणको काम सम्पन्न हुने आयोजना प्रमुख श्रेष्ठले बताए । 

भिडियो हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप