शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नचिताएको परिस्थितिमा गोल गरेँ: सुनिल बल

मङ्गलबार, २४ मङ्सिर २०७६, २२ : २५
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौं । भव्य समारोहका बीच काठमाडौँको दशरथ रङ्गशालामा भएको तेह्रौँँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम खेल फुटबलको पहिलो हाफमा नेपाल र भुटान बराबरीमा अडिएपछि दोस्रो हाफमा मिडफिल्डर सुनिल बलले हेडमार्फत दिलाएको गोल नै स्वर्ण पदकका लागि निर्णायक भयो ।

प्रतिस्पर्धात्मक जस्तै देखिएको खेलको पहिलो हाफ बराबरीमा रोकिएपछि उत्साहका साथ खेल हेर्ने प्यारापिटमा भरिभराउ नेपाली दर्शकले केही नमिठो अनुभव गरेका थिए । दर्शकको तितो अनुभूति केही क्षणमात्रै रह्यो ।  दोस्रो हाफको ५४ औँ मिनेटमै सुनिलले गोल फर्काएर दर्शकको मुहारमा चमक छरे । डिफेन्डर सुमन अर्यालले दिएको पासलाई सुनिलले हेडमार्फत गोल गर्न सफल भए । सुनिलले दायाँ विङ्गबाट आएको क्रसलाई हेडमार्फत गोल गरे । दर्शकमा थप ऊर्जा भरियो । स्वर्णपदकका लागि त्यही गौल नै निर्णायक बन्योे । राष्ट्रिय झण्डा फहराउँदै दर्शकले नेपाल....नेपाल... भनेर रङशाला गुञ्जाए । भुटानमाथि नेपालले २–१ अन्तरमा जित्दा बीचका केही अवसर भने चुकाएको थियो ।

स्वर्ण दिलाउने महत्वपूर्ण गोल गरेका सुनिल चलचित्रको नायक झै बने । नचिताएको परिस्थितिमा गोल गरेको अनुभव सुनाउँदै उनले भने, ‘सुमन अर्यालले क्रस ग¥यो, त्यही मुभमेन्टमा म पनि टाइमिङमा पुगे, ट्राई गर्छु भनेर हानेको गोलमा परिणत भयो ।’ उनले यो खुशी शब्दमा व्यक्त गर्न नसकिने प्रतिक्रिया दिए ।

गोलगरे लगत्तै उनले जर्सी खोले । जर्सी खोल्दा पहेँलो कार्ड दिइन्छ । उनले त्यो खुशीयालीमा आफूले के गरेँ भनेर सोच्नसमेत सकेनन् । उनका अनुसार भुटानसँगको खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक नै रह्यो । खेल शुरु भएको १६ औँ मिनेटमा फरवार्ड अभिषेक रिजालले नेपालका लागि पहिलो गोल गरे । खेलको ३६ औँ मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले गोल फर्काएर खेललाई बराबरीमा प¥याए । ‘सेकेण्ड हाफमा स्कोरिङ बाहिर निकाल्न सक्यो, त्यसमा पनि म आफैँले गोल गर्न सक्दा अत्यन्तै खुशी छु,’ सुनिलले भने । 

फाइनल पुगेपछि नेपाललाई ठूलो दबाब नभएकाले पनि नेपाली समूह एकदम एकबद्ध भएर खेल्छौँ भन्ने आत्मविश्वास उनको थियो । नभन्दै त्यस्तै भएकाले टिमवर्कले काम गरेको उनी बताउँछन् । ‘गोल गर्दा खुशीको सीमा नै छैन, फुटबललाई माया गरेर धेरै दर्शक आइदिनुभयो, सबैलाई धन्यवाद दिन चाहन्छु, परिवार, साथीभाइ र शुभेच्छुकले गरेर म यहाँ आइपुगेको छु ।’ हर्षित हुँदै उनले भने । 

फुटबलमा सङ्घर्षरत सुनिलले साफमा अन्तिम र निर्णायक गोल गरेर नयाँ उचाइ प्राप्त गरे ।  सामाजिक सञ्जालदेखि समाचारमा सुनिलको नाम अग्रपङ्तिमै छ । सामाजिक सञ्जालबाट सुनिललाई बधाई दिनेको ओइरो नै छ । उनी योसहित दोस्रो गोल्डमेडलिस्ट खेलाडी हो । सन् २०१६ मा भारतको ग्वाँटीको खेलमा पनि उनी सहभागी थिए । त्यहाँ पनि नेपालले स्वर्ण ल्याएको थियो ।

यसपाली होमग्राण्डमा सफल हुनुमा दर्शकको हात रहेको उल्लेख गर्दै भने, ‘हजुरहरुले यति सहयोग गर्नुभयो कि खेलाडीलाई चाहिने शक्ति दिनुभयो, त्यही ऊर्जाले एकदम केही गर्छु र देखाउछु भन्ने लागेको थियो, दर्शकलाई स्वर्ण दिलाएरै छाड्यौँ ।’
 
समूहचरणको खेलमा नेपालसँग भुटान ४–० ले हारेको थियो । एउटा खेल हार्दैमा विपक्षीलाई कहिल्यै कमजोर ठान्न नहुने बताउने सुनिलले पछिल्ला तीन खेलमा भुटानले राम्रो नतिजा ल्याएर जित्दै आइरहेकाले बलियो दाबेदार भएको प्रतिक्रिया दिए । ‘भुटानसँग सहज जितको आशा सोचेका थिएनौँ प्रतिस्पर्धी नै लिएका थियौँ, खेल त्यस्तै भयो पनि,’  सुनिलले भने ।

लिगमा तीन वर्ष थ्रीस्टार क्लबबाट खेल्नुभएको थियो सुनिल । उनी अहिले च्यासलमा आवद्ध छन् । अब लिग गेम पनि शुरु हुन लागेको छ । नयाँ क्लबमा तालिम राम्रै भइरहेकाले लिगमा राम्रो गर्ने उनको सोच छ । ‘नयाँ क्लबमा च्यालेन्जिङ छ, उत्कृष्ट गर्ने प्रयास गर्छु,’ उनले थपे । 

नेपाली फुटबल टिमका कप्तान सुजल श्रेष्ठले स्वर्ण जितेपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै टिम वर्क नै महत्वपूर्ण कुरा भएको बताए । जितको श्रेय नेपाली दर्शकलाई दिँदै उनले भने, ‘आजको खेलमा बलियो पक्ष घरेलु समर्थक नै हो, अनि टिमवर्कले काम ग¥यो ।’ उनले पहिले जे जस्तै खेले पनि भुटानलाई बलियो प्रतिस्पर्धी कै रुपमा हेरेको बताए । कुनै पनि खेलका लागि सरकारले ध्यान दिनुपर्नेमा उनको जोड छ । 

नाकमा टेप लगाएरै भएपनि मैदानमा उत्रिएका गोलकिपर विकेश कुथुले दर्शकले गरेर नै स्वर्ण जितेको उल्लेख गर्दै भने, ‘यो मेडल दर्शकका लागि डेडिकेट गर्न चाहन्छु ।’ 

आज व्यवस्थित र भव्यरूपमा झिलिमिली पारेर सिङ्गारिएको रङ्गशालामा खेल भएको थियो नेपालको जितसँगै हजारौँ दर्शक तथा खेलाडीको उपस्थितिमा आतसबाजी र विविध मौलिक सांस्कृतिक कार्यक्रम, झाँकी तला लाखे नाच प्रस्तुत गरिएको थियो । सबै देशको झण्डा र मस्कटसहित मार्चपासमा सहभागी भएका खेलाडीहरुलाई दर्शकले हात हल्लाएर अभिवादन गरेका थिए । खेलाडीले पनि दर्शकलाई अभिभादन फर्काउन भुलेनन् । दर्शसँगै नेपाली खेलाडीले पनि नेपाल.... नेपाल....भन्दै हुटिङ गर्न भ्याए । नेपाली दर्शकले भुटान.....भुटान....को हुटिङसहित भुटानका खेलाडीलाई पनि सान्त्वना दिए ।  

सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको थियो । सन् १९८४ मा पहिलोपटक नेपालमै साग भएको थियो । सन् १९९९ मा दोस्रो र अहिले तेस्रो साग नेपालमा भयो । दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकुद उत्सवका रूपमा लिने गरिन्छ । यसपटकको सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान र श्रीलङ्काका खेलाडीले २६ विधामा प्रतिस्पर्धा गरेका थिए । 

प्रतियोगितामा भारत पहिलो भयो भने नेपालले ५१ स्वर्णसहित दोस्रो स्थान कायम गर्न सफल भयो । समापनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशमार्फ नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको भन्दै धन्यवाद दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप