बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विदेशी एयरलाइन्सलाई भ्रमण वर्षमा सघाउन आग्रह

मङ्गलबार, २४ मङ्सिर २०७६, २२ : ३१
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौं । नेपालमा उडान भर्ने विदेशी वायु सेवा प्रदायक कम्पनीले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालय प्रमुखहरुले भ्रमण वर्षलाई सफल बनाउन नेपाल सरकारको सहयात्री र सहयोगीका रुपमा प्रस्तुत हुन आफूहरु तयार रहेको बताएका हुन् ।

सिंहदरबारमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र विदेशी एयरलाइन्सहरूको सङ्गठन बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न) का पदाधिकारीसहित विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरुबीच भएको छलफलमा यस्तो प्रतिबद्धता आएको पर्यटन मन्त्रालयले जनाएको छ ।

छलफलमा मन्त्री भट्टराईले भ्रमण वर्षको तयारीबारे विदेशी एयरलाइन्सहरूलाई जानकारी गराउँदै विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरुलाई एयरलाइन्सहरुमा भम्रण वर्षको विशेष ‘प्रमोशन’ गरीदिन आग्रह गरेका थिए । उनले नेपाल आउने पर्यटकरुका निम्ती विशेष छुट, ‘प्याकेज’ घोषणाको आग्रह गरे ।
मन्त्री भट्टराईले विमानहरुमा नेपाल भ्रमण वर्ष–२०२० सँग सम्बन्धी सामग्रीहरुको छोटो प्रदर्शनी, विमानका यात्रुहरुलाई नेपाल भ्रमण वर्षका बारेमा संक्षिप्त जानकारी र विमानभित्र प्रमोशनका सामग्रीहरु राखिदिन आग्रह गरे ।

यसैगरी मन्त्री भट्टराईले बोर्डिङ पास, लगेजको स्टिकर लगायतमा नेपाल भ्रमण वर्ष–२०२० को लोगो टाँसेर प्रमोशन गरीदिन आग्रह गरे । उनले विदेशी एयरलाइन्सहरूले उठाएका प्राविधिक, व्यवस्थापकीय र नीतिगत समस्याहरु सुधारका लागि सरकार तयार रहेको समेत बताए । उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरुलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी दिए ।

बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न) का अध्यक्ष टङ्कनिधि दाहालले विदेशी एयरलाइन्सहरूले भोगिरहेका व्यवस्थापकीय, प्राविधिक र नीतिगत समस्यासमेत राख्दै नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन बार्नमा आबद्ध सबै एयरलाइन्सहरुको सहयोग रहने बताए । बार्नका उपाध्यक्ष भोला थापाले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न दायित्व आफूहरुको पनि रहेको भन्दै सहयोगको प्रतिबद्धता व्यक्त गरे ।
छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्षलाई केन्द्रित गरेर केही छुट तथा प्याकेजका कार्यक्रमहरु घोषणा गरीदिन आग्रह गरे । उनले विदेशी एयरलाइन्सलाई समस्या हुने कुनै नीतिगत समस्या भए समाधानका लागि मन्त्रालय तयार भएको बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण वर्ष–२०२० को तयारी विषयमा जानकारी  दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप