केन्द्रीय संस्करण

हिमपातले कत्तै खुशी, कतै बेखुशी

person explore access_timeमंसिर २७, २०७६ chat_bubble_outline0
file photo

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भइरहदा कतै खुशी थपिएको छ भने कतैका नागरिक वेखुशी भएका छन् ।  जाजरकोट, डोल्पा, जुम्ला, हुम्ला र मुगुमा भारी हिमपात भएपछि यहाँ परीक्षा अवरुद्ध हुँदा विद्यार्थी दुःखी भएका छन् ।

डोल्पा ठुली भेरी नगरपालिका कुम्लीस्थित विद्यालयका शिक्षक जयकृष्ण हमाल भन्छन्, ‘हिमपातले पूरै दिन पढाइ नहुने डोल्पामा आधा पढेर परीक्षा दिने विद्यार्थीले जाँच नै दिन प्रकृतिले पनि अवरोध गरेको छ ।’ ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चारवटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको ठूलीभेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायले जानकारी दिए । 
 
पुस र माघमा भारी हिमपात हुने भएकाले वार्षिक परीक्षा सम्पन्न गरेर दुई महिनाका लागि सम्पूर्ण विद्यालय बन्द हुने गर्दछ । विद्यार्थी आगो बालेर परीक्षा दिन प्रयास गरे पनि सफल नभएपछि स्थगित गरिएको हो । जुफालस्थित विमानस्थल हवाई सेवा अवरुद्ध भएकाले यात्रुहरुलाई समस्या भएको छ । हुम्ला र जुम्लामा समेत हवाई सेवा अवरुद्ध भएको छ । जुफाल विमानस्थलमा गएको समिट एयरको जहाज नेपालगञ्ज फर्कन नसक्दा विमानस्थलमै रोकिएको छ । 

त्यस्तै जाजरकोटको बारेकोट गाउँपालिका, जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकामा भारी हिमपात भएको छ । हिमपातका कारण यो क्षेत्रमा विद्यालय र सरकारी कार्यालयको कामसमेत ठप्प भएको छ । 

उता कृषकहरु भने खुशी भएका छन् । आकाशे पानीको भरमा लगाएको गहुँ, जौउ, तरकारीबाली हिमपातका कारण सप्रिने भएपछि कृषकहरु खुशी भएका हुन् । जिल्लाका सातै वटा स्थानीय तहका स्थानीयवासी पानी परेका कारण हिउँदेवाली सप्रिने भन्दै खुशी भएको बारेकोट गाउँपालिकास्थित वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले जानकारी दिए । जाजरकोटका गाउँगाउँमा फोन सेवासमेत अवरुद्ध भएको छ । 

जाजरकोट, डोल्पाका आन्तरिक सडक हिमपातले गर्दा अवरुद्ध भएको स्थानीय सरकारका प्रमुुखले बताएका छन् । उपल्लो डोल्पामा हिमपात अत्यधिक मात्रामा भएका कारण स्थानीयवासीहरु घरदेखि बाहिर निस्किन सकेका छैनन् । पिउने पानीसमेत जमेका कारण हिउँ तताएर पगाली पानी प्रयोग गर्न बाध्य भएको स्थानीयले बताएका छन् ।

लगातार केही दिनदेखि बादल लागेका कारण ग्रामीण क्षेत्रमा रहेका टावरमा सौर्यऊर्जा ‘चार्ज’ नहुँदा टावर अवरुद्ध भएका हुन् । यातायातको पहुँच नभएको ठाउँमा सञ्चालन हुने घोडा, खच्चडसमेत बिहानैदेखि लगातार पानी परेका कारण रोकिएको नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

त्यस्तै सुर्खेतको सिम्ता गाउँपालिका–१ बाँखर्क र रोगारया बीच पर्ने मुलागल्पा पहिरो जाँदा छिन्चु – जाजरकोट सडक अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि परेको वर्षाका कारण पहिरो जाँदा दलबहादुर परियारको घरसमेत जोखिममा परेको छ । उक्त स्थानमा गएको पहिरो हटाउन सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीसहित गाउँपालिकाको टिम जुटेको प्रहरीले जनाएको छ । 

त्यस्तै स्थानीय प्रशासनले विपत प्रतिकार्य योजनालाई कडाइका साथ लागू गर्न आग्रह गरेका छन् । स्थानीय सरकारसँग समन्वय गरेर चिसोकै कारण कसैको पनि अकालमै ज्यान नजावस भनि हिमाली जिल्लाहरुमा उच्च सर्तकतामा रहन आग्रह गरिएको छ । समस्या भएको ठाउँमा तत्काल राहत र न्यानो कपडा वितरण गर्नसमेत आग्रह गरिएको छ । 

भीमदत्त राजमार्ग अवरुद्ध

डोटी – लगातारको वर्षासँगै परेको हिमपातका कारण सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने एकमात्र पहाडी राजमार्ग भीमदत्तराजमार्ग अबरुद्ध भएको छ । हिमपातका कारण भीमदत्त राजमार्गको साहुखर्क सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा एसपी दिलीपसिंह देउवाले बताए ।

उनले भने, ‘बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको छ, अवरुद्ध राजमार्ग खोल्नका लागि दिपायलबाट डोजर पठाएका छौँ, अलि हिमपात पर्न रोकिए खुल्न सक्छ । हिमपातले राजमार्ग अवरुद्ध हुँदा पहाडदेखि तराई जाने तथा तराईबाट पहाडका लागि आउँदै गरेका सयौँ यातायातका साधन तथा यात्रुहरु अलपत्रमा परेका छन् । अहिले उक्त राजमार्गमा कम्तिमा पनि दुई फिट जति हिउँ परेको प्रहरीले जनाएको छ । हिमपातका कारण त्यहाँको जनजीवनसमेत प्रभावित बनेको छ 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.