शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालबालिकाको मलद्वारमा प्वाल नहुने अनौठो समस्या : के भन्छन् चिकित्सक ? (भिडियोसहित)

शनिबार, २८ मङ्सिर २०७६, १४ : ०३
शनिबार, २८ मङ्सिर २०७६

काठमाडौँ । कतिपय अवस्थामा नवजात शिशुमा दिसा निस्कने प्वाल नहुन पनि सक्छ । यो समस्या विश्वका सबै देशका बालबालिकामा देखिने समस्या हो ।

जन्मजात मलद्धवारको प्वाल नहुने समस्या नेपालको बालबालिकामा पनि देखिन्छ । शिशु जन्मेको २४ घण्टासम्ममा दिसा गरेन भने यसबारे चनाखो हुनुपर्छ ।

नवजात शिशु तथा बालबालिकामा यस्तो समस्या देखिए र समयमा उपचार गर्ने हो भने सामान्य अवस्थामा ल्याउन सकिन्छ । तर, ढिला उपचार गर्दा अझ धेरै समस्या आउने बाल शल्यचिकित्सकहरुको भनाइ छ ।

सुन्दा अचम्म र दूर्लभ लाग्ने यस्ता समस्या आउनुको कारण, कति समयमा उपचार गर्नु उपयुक्त हुन्छ । अविभावकले ध्यान दिनुपर्ने कुरा लगायतको विषयमा वरिष्ठ बाल शल्यचिकित्सक (पेडियाट्रिक सर्जन) प्रा.डा रामनन्द प्रसाद चौधरीसँगको कुराकानी ।

पछिल्लो समय नेपालका बालबालिकामा जन्मजात मलद्धार नभएको समस्या पनि देखिँदै छ । बालबालिकामा जन्मजात मलद्ववार नहुनुको कारण के हुन सक्छ ?

आमाको गर्भावस्थामा भ्रुण विकास मुखबाट सुरु हुन्छ । विकासको क्रमसँगै आन्द्रा बन्दै जाँदा मलद्ववारको ठाउँमा प्वाल खुलेर जान्छ । शरीरको विकासको क्रममा कुनै समस्या आयो र भ्रुणको विकास रोकियो भने खाने नली र श्वास नली जोडिन्छ । विस्तारै दिसाको प्वालनजिक खुल्नुपर्ने ठाउँ खुलेन भने त्यस्ता नवजात शिशुमा मलद्धवारको प्वाल नहुने भए पनि असामान्य अवस्थामा हुने समस्या हुन्छ ।

भ्रुणको विकासको क्रम भनेको एकदमै संवेदनशील समय हो ।  अवरोध भन्नाले बन्द हुनुपर्ने तर खुलिराखेको छ र खुल्नुपर्ने बन्द भइरहेको छ भने यस्ता समस्याहरु आउन सक्छन् । तर यही कारणले यस्ता समस्या आउँछन् भन्न सकिन्न । विभिन्न कारणले पनि समस्या निम्तिन्छ ।

नेपालमा जन्मजात मलद्धवार नभएको बालबालिकाको संख्या यति नै छ भन्ने बारेमा अहिलेसम्म कुनै खोज अनुसन्धान भएको छैन । ४ देखि ५ हजार बालबालिकामध्ये एक जनामा दिसाको प्वाल अथवा मलद्धवार नभएको अन्तर्राष्ट्रिय तथ्याङक हो । यो समस्या बालिकाभन्दा बढी बालकमा धेरै देखिएको छ ।

यस्ता किसिमको समस्यामा ढिलो र छिटो उपचारमा कस्ता खालको समस्या हुन्छ ?

दिशाको प्वाल जुन ठाउँमा हुनुपर्ने त्यो ठाउँमा बन्द हुन्छ र अन्य कुनै ठाउँमा खुलेको हुन्छ । जस्तै बालिकाहरुमा योनीको छेउमा खुलेको हुन्छ । त्यहाँबाट दिसा त गरिरहेको हुन्छ तर जुन ठाउँमा हुनुपर्ने हो त्यो ठाउँमा हुँदैन । यस्ता समस्या भएका बालबालिका खासै समस्या नभए पनि ढिला अस्पताल आउँछन् । 

आर्थिक अवस्था कमजोर भएको हुँदा पनि अस्पताल आउन ढिला गर्छन् । केही समय पहिला दिसाको प्वाल ठाउँमा भएकी एक १४ वर्षकी बालिकालाई कान्ति बाल अस्पतालमा उपचारको लागि ल्याइएको थियो । उनको योनीको नजिकै दिसाको प्वाल थियो ।  मैले किन उपचारमा ढिला गर्नुभएको भनेर बालिकाको आमासँग सोधेको थिए ।

छोरीको विवाह गर्ने उमेर भएको हुँदा उपचारको लागि आएको आमाको भनाई थियो । मैले भन्न खोजेको अविभावकले बेवास्ता गरेको या जनचेतनाको कमी भएको हुँदा जन्मजात देखिने समस्याको उपचारको लागि हाम्रो नेपालमा समयमा आउने चलन अझै पनि छैन् । यस्ता किसिमको अप्रेशन एक पटकमा सफल हुन्छ भन्ने छैन् एकदुई पटक पनि गर्नुपर्ने हुन्छ । आर्थिक अवस्था कमजोर भएकै कारण पनि उपचारमा चासो नदिएका पनि हुनसक्छन् ।

यस्ता किसिमको अप्रेशनको लागि सरकारी अस्पतालमा सहुलियतको व्यवस्था पनि हुने गरेको छ । अहिले बीमाको कार्यक्रम पनि आईरहेको छ । बीमा गरेको बालबालिकाको लागि यस्ता किसिमको अप्रेशनको लागि झन सहज हुन्छ । ३ देखि ६ महिनासम्म सबै अप्रेशन सकाउने हो भने दिसा च्याप्न सक्ने क्षमता राम्रो हुन्छ ।

तर हामीले त्यो पाटोमा कहिले पनि चासो दिएनौँ । उपचार गर्न पाए भयो भन्ने अनि ढिला अस्पताल आउने चलन छ । तर समयमा अप्रेशन भयो भने जीवनभर दिसा च्याप्न सक्ने क्षमता   सामान्य बालबालिकाको जस्तै हुनसक्छ । ढिलो र अनुभव कम भएको सर्जनले अप्रेशन गर्दा भने जीवनभर दिसा चुहिने समस्या हुन्छ ।   

आर्थिक अवस्था एकदमै कमजोर छ । नीजिमा उपचार गराउन चाहनुहुन्छ भने कुनै पनि नीजि अस्पतालले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा दिने भनेका छौँ । त्यो अन्तर्गत पनि नीजि क्षेत्रले उपचार गरिरहेको छ । अप्रेशन गर्दा कहिलेकाहिँ आईसियूमानै राख्नुपर्ने अवस्था आएको खण्डमा सोचे भन्दा बढीनै खर्च हुन सक्छ । आर्थिक अवस्था एकदमै कमजोर छ भने यस्तो अवस्थामा पनि व्यवस्थापनसँगको छलफलबाट बिरामीका परिवारलाई सहज बनाउँदै आइरहेका छौँ र यो हुनुपनि पर्छ ।

मलद्ववार भए/नभएको कसरी थाहा पाउने ?

जन्मेको २४ घण्टामा ९९ प्रतिशत नवजात शिशुले दिसा गर्छन । अस्पतालमा जन्मेको शिशुमा पनि दिसाको प्वाल भए÷नभएको बारेमा त्यती धेरै जानकारी हुन्न । जन्मेको २४ घण्टामा कुनै पनि शिशुले दिसा गरेन भने दिसाको प्वाल छ कि छैन् भनेर आमाबुवा अथवा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्छ ।

दिसाको प्वाल भए पनि २४ घण्टामा दिसा गरेन भने आन्द्रामा नसाको कमिले गर्दा पनि यस्तो समस्या आउन सक्छ । यस्तो समस्या छ भने बालरोग विशेष अथवा अस्पतालमै हुनुहन्छ भने त्यहाँको चिकित्सकलाई देखाउँदा राम्रो हुन्छ । सकेसम्म बालबालिकामा जन्मजात देखिएको समस्याको समयमानै उपचार गर्दा राम्रो हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप