शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा बैठकमा घनश्याम भुषालले राखे पार्टी पुनर्निर्माणको प्रस्ताव

मङ्गलबार, ०१ पुस २०७६, १७ : १२
मङ्गलबार, ०१ पुस २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य घनश्याम भुषालले जारी बैठकमा पार्टी पुनर्निर्माणको प्रस्ताव पेश गरेका छन् । 

मंगलबारको बैठकमा भुषालले तीन पृष्ठ लामो ‘पार्टीको पुननिर्माणबारे प्रस्ताव’ पेश गरेका हुन् । भुषालले पार्टी एकता र सरकारको विगतका कामकारवाही सन्तोषजनक नभएको आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् ।

पछिल्लो समय कृषिमन्त्री समेत रहेका भुषालले अध्यक्षलाई सम्बोधन गर्दै क्रान्तिसम्बन्धी आफूहरुका सिद्धान्त र मान्यताहरु राजतन्त्रविरुद्ध जनवादी क्रान्तिका लागि विकसित र अभ्यास गरिएको बताएका छन् ।

 ‘त्यो क्रान्ति नै सम्पन्न भैसकेपछि र नयाँ कार्यभार अगाडि आइसकेपछि हामीले जुन नयाँ उँचाइबाट विचार र सङ्गठनलाई विकसित गर्नुपथ्र्यो, त्यो हुन सकेन । त्यसले गर्दा सबै क्षेत्रमा नयाँ नयाँ समस्याहरु देखा पर्दैछन्’ भुषालको प्रस्तावमा भनिएको छ । 

उनले पार्टी एकतापछि समस्या नयाँ नयाँ रुपमा आएका भन्दै तिनकोसमाधान पुरानै ढाँचाबाट समाधान खोज्दा पार्टी अझ समस्याग्रस्त हुँदै गएको उल्लेख गरेका छन् । ‘त्यसर्थ, हामीले आफूलार्ई नयाँ ढाँचामा उभ्याउन हिम्मत गर्नैपर्छ ।’

प्रस्तावमा भुषालले भनेका छन् ‘हाम्रो केन्द्रीय कमिटीदेखि टोल कमिटीसम्म आठलाख सदस्यलाई सङ्गठित गरेर, त्यसका वरिपरी जनसङ्गठनसमेत अन्य संरचनामा रहेका अरु १०–१५ लाख सङ्गठित व्यक्तिहरु संघीय, प्रादेशिक र स्थानीय सरकार र जनप्रतिधि संस्था, जनसङ्गठनहरु र अन्य सामाजिक संघ–संस्थामार्फत् परिचालित हुँदा जुन उर्जा पैदा हुन्छ, त्यसले मात्रै सामाजिक रुपान्तरणको आजको कार्यभार पूरा गर्न सकिनेछ ।’

भुषालले पार्टीको हरेक व्यक्ति र कमिटीको काम राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्न व्यक्ति वा कमिटीले गरेको योगदानका आधारमा मूल्याङ्कन हुने भन्दै त्यस्तो मूल्याङ्कन गर्ने परिपाटी स्थापित भएको पार्टीमा मात्रै आन्तरिक लोकतन्त्र र सदस्यको क्रान्तिकारी योग्यताको ग्यारण्टी गर्न सकिने छ र त्यस्तो पार्टीले मात्रै क्रान्तिको ग्यारण्टी गर्नसक्ने बताएका छन् । 

पार्टी स्थायी कमिटीको चालु बैठकमा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा कैयन् महत्वपूर्ण विषयहरु समेटिएपनि  खास गरी ‘पार्टीका आगामी कार्यक्रमका रुपरेखा’ अन्तरगत उल्लेख गरिएको कार्य योजना पार्टी कमिटी र सदस्यहरुको परिचालन र विभिन्न तहका अधिवेशनमा केन्द्रित रहेको जनाएका छन् । 

त्यसलाई उनले उपयुक्त छन् भनेपनि ‘उही काम दोहोर्याएर फरक परिणामको आशा गर्नु बुद्धिमानी हुँदैन भनिए झैँ, आजकै वैचारिक र साङ्गठानिक अस्पष्टता, गुटबन्दी र विधिहीनता बोकेर कार्यकर्ताको परिचालन र अधिवेशन गर्दा फरक परिणाम नआउने कुरा स्पष्ट’ भएको बताएका छन् ।  

‘त्यसैले मेरो के प्रस्ताव छ भने केन्द्रिय कमिटीको आगामी बैठकभन्दा अघि स्थायी कमिटीका सबै पदाधिकारी र सदस्यका बीच ‘आजको पार्टी’ वा ‘कम्युनिष्ट पार्टीको आजको कार्यभार’ वा यस्तै कुनै उपयुक्त शीर्षकमा ५–७ दिनको कार्यशाला आयोजना गरियोस् । त्यस कार्यशालामा पार्र्टीका सैद्धान्तिक, राजनीतिक र साङ्गठानिक क्षेत्रका सबै विषयमा छलफल गरेर निष्कर्ष निकालियोस् र केन्द्रिय कमिटीमा ती निष्कर्षहरु पेश गरियोस्’ भुषालको प्रस्ताव छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप