शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख चयन प्रक्रिया चाँडो टुङ्ग्याउन नेकपामा दबाब

मङ्गलबार, ०१ पुस २०७६, १७ : ५३
मङ्गलबार, ०१ पुस २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सभामुख चयन प्रकृया चाँडो टुङ्ग्याउन माग गरिएको छ ।  २९ गतेबाट जारी रहेको बैठकमा मंगलबार सदस्यहरुले सभामुख चयन प्रकृया धेरै लम्ब्याउन नहुने धारणा राखेको नेता भीम रावलले बताए ।

४ गते संसद आह्वान भएको अवस्थामा छिटो निर्णय गरेर जानुपर्ने धारणा बैठकमा व्यक्त भएको उनको भनाई छ । नेता रावलले पार्टीभित्र देखिएका गुट उपगुटहरु अन्त्यगरी केन्द्रीय कमिटी बैठकसम्म सबै एकरुप भएर अगाडी बढ्नुपर्ने धारणा सदस्यहरुले राखेको बताए ।

मंगलबारको बैठकमा २ जना आमन्त्रित सदस्यसमेत गरी १४ जनाले आफ्नो विचार राखेका थिए । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधनमाथि सदस्यहरुले आलोचनात्मक टिप्पणी राखेको प्रवक्ता नारायणकाजी श्रेठले जानकारी दिए । बैठकमा उठेका कतिपय विषयहरुमा बैठकपछि पनि छलफल गर्न सकिने विचार व्यक्त भएको उनले बताए । 

मंगलबार स्थायी कमिटी बैठकमा आमन्त्रित सदस्यहरु नन्दकुमार प्रसाईं र विष्णु प्रकाश श्रेष्ठले आफ्नो धारणा राखेका थिए । प्रसाईं केन्द्रीय सल्लाहकार कमिटी र श्रेष्ठ निर्वाचन आयोगका अध्यक्ष हुन् । त्यसैगरी सुरेन्द्र पाण्डे, अमृत बोहरा, वेदुराम भूसाल, शंकर पोखरेल, केशव बडाल, रघुवीर महासेठ, लेखराज भट्ट, मणि थापा, जनार्दन शर्माले विचार राखेका थिए  ।

बैठक बुधबार बिहान ११ बजे पुनः बस्नेछ । नेकपामा सभामुखका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फे, सुवास नेम्वाङ र अग्नि सापकोटा प्रतिस्पर्धामा छन् । अध्यक्ष केपी शर्माओली नेम्वाङको पक्षमा छन् भने प्रचण्ड सापकोटाको पक्षमा छन् । उता उपसभामुख तुम्बाहाम्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाकै महिला सांसदहरुले सभामुखको उम्मेद्वारको रुपमा अघि सारेका छन् । यद्यपि सभामुखबारे निर्णय गर्ने अधिकार २ अध्यक्षको जिम्मामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप