मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षकको कुटाईबाट ओखलढुंगामा एक छात्रा बेहोस

बुधबार, ०२ पुस २०७६, १६ : ५२
बुधबार, ०२ पुस २०७६

-रामहरि श्रेष्ठ 
काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिका ३ नर्मदेश्वरस्थित भिमसेनस्थान माविका शिक्षकले एक छात्रालाई बेहोस हुनेगरी कुटेका छन् । राहात कोटाका अङ्ग्रेजी विषयका शिक्षक दिपक तामाङले सोही विद्यालयमा कक्षा ७ मा अध्यनरत ११ वर्षीय छात्रा पार्वती श्रेष्ठलाई बेहोस् हुनेगरी कुटेका हुन् ।

शिक्षक तामाङले कक्षा सञ्चालन भैरहेको अवस्थामा हल्ला गरेको भन्दै ढाडमा मुक्काले हानेको स्वयम् विद्यार्थी पार्वती श्रेष्ठले बताइन् । उनले शिक्षकको कक्षा चलिरहेको समयमा अन्य साथीहरु हाँसेको र आफुपनि हाँसेपछि शिक्षकले आफुलाई कुटेको बताइन् ।

शिक्षकको कुटाईबाट आफ्नो छाती दुखेको र आँखा समेत हेर्न नभएको बताइन् । ‘साथीहरु हाँसे, अनि म पनि मुख छोपेर हाँसे सरले एकाएक किन हल्ला गरेको भन्दै मलाई ढाडमा दुई मुड्की हान्नुभो, त्यसपछि म रोएको याद छ अरु याद नै भएन । अहिले औषधी खाइराछु ।’

विद्यार्थीको स्थानीय मेडिकलमा पुर्याएपछि होस खुलको थियो । मेडिकलले उनलाई ढाडमा लगाउने मलह र खाने औषधी दिएको छ ।  शिक्षक दिपक तामाङले भने कक्षा सञ्चालका समयमा हल्ला गरेपछि आफुले सामान्य रुपमा कुटेको स्वीकार गरेका छन् । उनले विद्यार्थीलाई चेतावनीस्वरुप ढाडमा सामान्य कुटेको विषयले विद्यार्थी बिरामी परेपछि आफुले गल्ती गरेको स्वीकार गरे । विद्यालयमा अध्यनरत छात्रालाई शिक्षक तामाङले कुटपिट गरेको आफुले नदेखेको प्रअ भिमप्रसाद सुवेदीले बताए ।

उक्त विद्यार्थीले बिहानैदेखि टाउको र जिउ दुखेको साथीहरुसँग बताउने गरेको भन्दै शिक्षक तामाङको कुटाईबाट नभई सोही कारणले बेहोस भएको हुनसक्ने बताए । शिक्षकले कुटेलगत्तै विद्यार्थी रोएर बेहोस भएकाले विद्यार्थीले नाटक गरेको समेत प्रअ सुवेदीले आरोप लगाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश थापाले विद्यार्थीलाई कुटेको विषयमा आफुलाई पूर्ण रुपले जानकारी नभएको बताए । उनले विद्यार्थीले छाती र आँखा दुखेको भन्दै औषधी सेवन गरिरहेको बताएका छन् । घटनाको बिषयमा गाउँपालिकास्थित शिक्षा शाखाले समेत चासो व्यक्त गरेको छ ।

यसैबीच सोही विद्यालयमा अध्यनरत छात्राहरु एकाएक बेहोस हुन थालेका छन् । विद्यालयको माथिल्लो कक्षामा अध्यनरत छात्राहरु एकाएक लड्ने र लडेपछि छटपटाएर बेहोस हुने गरेको विद्यालयका प्रअ भिमप्रसाद सुवेदीले बताए । हरेक हप्ता विद्यालयमा एकदेखि दुई जना विद्यार्थीमा यस्तो समस्या देखिने गरेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप