मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूहका नेताहरु पक्राउ प्रकरण : विप्लवका दाइ चन्द्रबहादुर भन्छन्– कारागार मै बस्छु

मङ्गलबार, ०८ पुस २०७६, १५ : ०६
मङ्गलबार, ०८ पुस २०७६

बुटवल । नेत्रविक्रम चन्द समूहका २१ जना नेतालाई असोज ३० गते मध्यरात दाङको राजपुरबाट प्रहरीले घेरा हालेर पक्राउ गरेको थियो । जिल्ला अदालतले पक्राउ परेका सबैलाई धरौटीमा रिहाइको आदेश दियो ।

तर, पक्राउ परेकाले अदालतले तोकेको जनही १५ हजार रुपैयाँ धरौटी बुझाएका छैनन् । उनीहरुले आर्थिक हैसियत कमजोर भएका कारण धरौटी रकम नबुझाएका भने होइनन् । उनीहरु फेरि प्रहरीले पक्राउ गर्ने त्रासले धरौटी रकम बुझाउन इच्छुक नभएका हुन् । धरौटी रकम नबुझाएका उनीहरु कारागारमै छन् ।

यसरी कारागार रोज्नेमध्येका एक हुन् नेत्र विक्रम चन्दका सरोदर जेठा दाजु चन्द्रबहादुर चन्द । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इञ्चार्ज उनी बिरामी पनि छन् । 

सुगर, प्रेसर रोगबाट ग्रसित उनी पक्राउ परेलगत्तै छातीमा समस्या आएपछि एक हप्तासम्म अस्पतालमा प्रहरीको रेखदेखमा उपचार गराए । अहिले धरौटी रकम बुझाएर घर जाऊ भन्दा कारागारमै बस्न रुचाएका उनले धरौटी रकम बुझाउन नसकेका हुन् त ? रातोपाटीको प्रश्नमा विप्लव समूह निकट जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुमे्र भन्छन्, ‘बिरामी पनि हुनुहुन्छ, अर्कोतिर रिहालगत्तै प्रहरीले कुनै न कुनै बहानामा फेरि पक्राउ गर्ने गरेको छ, त्यसैले कारागार मै बस्ने मनसाय सबैको भयो ।’

जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले सोमबार जनही १५ हजार रुपैयाँ धरौटी मागेको थियो । नेत्रविक्रम चन्द समूहका नेताहरु अदालतको आदेश अनुसारको धरौटी रकम बुझाउन नसकेपछि कारागार गएको र धरौटी रकम बुझाएको दिन छुट्न सक्ने जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले बताए ।

विप्लवका दाई चन्द्र बहादुरकै चर्चा
मध्यरातमा पक्राउ पर्दादेखि कारागार रोज्ने बेलासम्म अर्थात् असोज ३० देखि आजसम्म ७० दिनको अवधिमा ५ नम्बर प्रदेशमा सबैभन्दा धेरै चर्चा सो पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इञ्चार्ज शिवराज नगरपालिका ८ कपिलवस्तुका ५९ वर्षीय चन्द्रबहादुर चन्दकै छ । उनी नेकपा महासचिव नेत्रविक्रम चन्दका सहोदर जेठा दाजु हुन् । उनी विगतको माओवादी विद्रोहमा पनि सहभागी उच्च तहका नेता हुन् ।

स्थानीय तहको निर्वाचनको बेलामा काठमाडौँबाट उनलाई प्रहरीले पक्राउ गरी १८ दिन नियन्त्रणमा राखेको थियो । माओवादी आन्दोलनको शुरुदेखि नै सक्रिय भए पनि उनी सशस्त्र द्वन्द्वको समयमा पक्राउ परेका थिएनन् । तर पछिल्लो अवस्थामा उनी दुई पटक पक्राउ परिसकेका छन् । 

मध्यरातमा बैठकस्थलबाट यसरी पकाउ गरिएको थियो 
असोज ३० गते दाङ जिल्लाको राजपुर गाउँपालिका–४, मगराइनामा पार्टीको बैठक बसिरहेको थियो । जंगलको बिचमा खाली घरमा बैठक बस्ने  सूचना प्रहरीले पायो । स्थानीय ज्ञानेन्द्रविक्रम रानाको घरमा मध्य कमाण्डको बैठकपछि सबैजना सुतिरहेका थिए । राति १ बजे प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध प्रहरीले संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरेको थियो । उनीहरुको साथबाट मेड इन यूएसए लेखिएका दुई पेस्तोल, चार कटुवा पेस्तोल, थ्री नट थ्री राइफलको ५ राउण्ड गोली, एक सुतली बम र ३ लाख ८४ हजार ५ सय ३० रुपयाँ नगद बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताए ।

को–को छन् कारागारमा ? 
कारागार जानेहरुमा नेकपा केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इञ्चार्ज केशबहादुर बाँठा र केन्द्रीय सदस्य तथा युवा संगठनका केन्द्रीय अध्यक्ष बबिन केसी भनिने दिपराज शेर्पाली छन् । 

यसैगरी राप्ती ब्यूरो सदस्य तथा बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष रामबहादुर थापा, दाङ जिल्ला इञ्चार्ज यमलाल कटुवाल र दाङ जिल्ला सेक्रेटरी प्रदिपबहादुर वली पनि कारागारमै छन् ।

यस्तै सल्यान जिल्ला इञ्चार्ज रमेश आचार्य भनिने डिल्लीराज शर्मा, पश्चिम रुकुम जिल्ला सेक्रेटरी जित क्षेत्री भनिने चन्द्रबहादुर बुढा सहित पुस्तमान घर्ती, दलबहादुर खत्री पनि कारागार मै छन् ।

यसैगरी राप्ती ब्यूरो कार्यालय सचिव सबिन पोख्रेल भनिने बालकृष्ण शर्मा, रोल्पाको थबाङ स्वायत्त क्षेत्र सेक्रेटरी अमित घर्ती, थबाङ स्वायत्त क्षेत्र इञ्चार्ज हितप्रसाद रोका र अखिल नेपाल किसान संघका दाङ जिल्ला अध्यक्ष एकराज चौधरी पनि धरौटी रकम नबुझाइ कारागार गएका छन् ।

यस्तै दलित मुक्ति मोर्चा दाङका अध्यक्ष सुरज परियार, युवा संगठनका केन्द्रीय सदस्य तिलक पुन, दाङको राजपुर गाउँपालिका इञ्चार्ज धनबहादुर बोहरा तथा पार्टी सदस्यहरु बिष्णुबहादुर रावत, कुलबहादुर वली र इन्द्रबहादुर वली पनि कारागार गएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप