शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मदन भण्डारी राजमार्ग सर्भेमा विवाद

बुधबार, ०९ पुस २०७६, १३ : ३७
बुधबार, ०९ पुस २०७६

सुर्खेत । स्थानीयवासीबीच सडक रुटमा सहमति नजुट्दा पश्चिम सुर्खेतमा मदन भण्डारी राजमार्गको सर्भे रोकिएको छ । सालकोट–बाबियाचौर खण्डको विवाद उत्कर्षमा पुगेपछि स्थानीयवासीले बड्डीचौर–गुटु सडकखण्ड अवरुद्ध पारेका छन् । स्थानीयवासीको अवरोधका कारण राजमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) का लागि भइरहेको सर्भे रोकिएको हो । 

राजमार्ग सालकोट र बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा स्थानीयवासीबीच सहमति जुट्न सकेको छैन । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले सङ्घीय सडक बोर्डले साधारण मार्ग खोलिएका दुईलाई राजमार्ग र सहायक मार्ग भनेर छुट्याउन नसक्दा विवाद बढेको बताए । स्थानीयस्तरमा विवाद बढेपछि सडक बोर्ड र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदले सहजीकरण गर्नुपर्ने उनको सुझाव छ । नगर प्रमुख थापाका अनुसार पञ्चपुरी  २ बेनीघाटदेखि वडा नं ६ जाने र वडा नं ३ को सालकोट हुँदै वडा नं ९ को विद्यापुर जोड्ने सडकमा विवाद देखिएको छ । 

पञ्चपुरी–५ का अध्यक्ष होमबहादुर रामजालीले विवाद समाधानका लागि तल्लो र माथिल्लो बस्तीका बासिन्दासँग छलफल अघि बढाइएको जनाए । उनले छोटो दूरी, वन क्षेत्रमा पर्ने असरका साथै अधिग्रहण गर्नुपर्ने घरजग्गा कम भएको स्थानलाई छनोट गर्नुपर्ने बताए । ‘सहमतिका लागि स्थानीयस्तरमा प्रयास भइराखेको छ, धेरै दिन सर्भे रोकिनुहुन्न भन्नेमा हामी जनप्रतिनिधि सचेत छौँ’, उनले भने । डिपिआर तयार गर्ने जिम्मा सिल्टर सिआरसी र जिओकम जेभी ललितपुरले पाएको छ ।

आन्दोलित स्थानीयवासीले पञ्चपुरी –२ खम्बागाडे–सालकोट–चतुरे बाबियाचौरसम्म सर्भे हुनुपर्ने माग गरेका छन् । असन्तुष्ट स्थानीयवासीले सङ्घर्ष समिति गठन गरेर सर्भे रो्क्नाका साथै उक्त खण्डमा चल्ने सवारीसाधन ठप्प पारेका छन् । सङ्घर्ष समितिका संयोजक झक्कबहादुर सिँजापतिले बढी जनसङ्ख्या भएको क्षेत्र राष्ट्रिय राजमार्गबाट लाभान्वित हुनुपर्ने तर्क गरे । उनले आफूहरुको माग पूरा नभए आन्दोलन जारी राख्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप