शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशको स्थायी राजधानी बुटवल नै उपयुक्त हुन्छ: काँग्रेस नेता खाँण

बुधबार, ०९ पुस २०७६, १८ : २९
बुधबार, ०९ पुस २०७६

बुटवल । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्वमन्त्री बालकृष्ण खाँणले  ५ नम्बर प्रदेशको स्थायी राजधानी बुटवल तोक्न उपयुक्त हुने बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि शुरू भएको औद्यौगिक व्यापार मेलाको उद्घाटन गर्दै उनले प्रदेशको स्थायी राजधानी बुटवल नै बनाउनु दोहोर्याएका हुन् ।

उनले राजनीतिक, साँस्कृतिक र पर्यटकीय हिसाबले बुटवल नै स्थायी राजधानीका लागि उपयुक्त भएकाले काँग्रेस नेतृत्वको सरकारले अस्थायी राजधानी तोकेको बताए । प्रदेशसभा स्थापना भएको २ वर्ष पुग्न लाग्दा समेत प्रदेशको राजधानी र नामाकरणको विषय अझै अन्योलमा छ । त्यसलाई छिटै टुङ्ग्याउनु पर्नेमा उनले जोड दिए । राजधानी तथा नामाकरण विशेष समितिले प्रदेशसभालाई प्रतिवेदन बुझाएको छ । रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खाँणले भारतको समेत उदाहरण दिँदै बुटवल राजधानीको लागि उपयुक्त भएको बताए ।

भारतसँगको सहजता, अन्तर्राष्ट्रिय विमानस्थल जस्ता पूर्वाधारले बुटवल नै राजधानीका लागि उपयुक्त भएको उनले बताए । विश्वमा कुनै पनि राजधानी मध्यभागमै नभएको बताउँदै राजधानी सार्ने प्रपञ्च नगर्न उनको सुझाव छ । ‘प्रदेश १, प्रदेश ६ र ७ को राजधानी पनि मध्यभागमा छैन,’ नेता खाणले भने । रूपन्देही र प्रदेश ५ कै नागरिकको भावना बुटवल राजधानी बनाउनुपर्ने मत रहेको उनले बताए । आजदेखी  शुरु भएको मेला  पुस २३ गते सम्म चल्ने छ । मेलामा ५ लाख दर्शक र १५ करोड कारोवार हुने अपेक्षा आयोजकले गरेका छन् ।  मेला ५ सय स्टल राखीएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप