बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठकले सभामुखबारे टुङ्गो लगाउन सकेन

आइतबार, १३ पुस २०७६, ११ : २१
आइतबार, १३ पुस २०७६

काठमाडौँ । सभामुख पदका लागि उम्मेदवार चयन गर्न बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिर्णित भएको छ । आइतबार बिहान बसेको सचिवालय बैठकले सभामुख चयन गर्न नसकेको हो ।

बैठकपछि महासचिव विष्णु पौडेलले सञ्चारकर्मीलाई जानकारी दिएअनुसार सभामुख चयन, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बसेको भए पनि समयअभावका कारण छलफल हुन सकेन । उनले छिटै बस्ने अर्को बैठकले यसबारे थप छलफल र आवश्यक निर्णय गर्ने जानकारी दिए ।

नेकपामा पछिल्लो समय सभामुख चयनबारे विवाद बढ्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुख चयनका बारेमा सहमति जुट्न बाँकी नै छ भने राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सभामुख चयनमा चासो राख्दै आएकी छन् ।

बिहीबार बेलुका राक्ष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग सभामुख चयनबारे चासो राखेकी थिइन् । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रधी ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउनु पर्ने प्रस्ताव गरेको बताइन्छ । तर प्रधानमन्त्रीको प्रस्ताव राष्ट्रपतिलाई ‘चित्त नबुझेको’ स्रोत बताउँछ ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारी उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई नै सभामुख बनाउनु पर्ने पक्षमा छिन् । ‘महिलालाई सभामुख बनाउन किन नहुने ? उपसभामुखलाई सभामुख बनाउन के आपत्ति भयो ?’ राष्ट्रपतिले उपसभामुख शिवमायालाई सभामुख बनाउन पार्टीपंक्तिले नचाहनुको कारण सोध्दै यस्ता प्रश्न गरेपछि प्रधानमन्त्री ओली द्विविधामा परेको बताइन्छ ।

यसअघि प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष प्रचण्डसँग नेम्वाङका बारेमा सहमति जुटाउन छलफल गरेका थिए । यद्यपि दुवै अध्यक्षबीच अझै सहमति जुट्न सकिरहेको छैन ।

सत्तारुढ दलले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा शुक्रबार प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । संसदको चालु अधिवेशनमा सभामुख चयन नै पहिलो प्राथमिकतामा परे पनि सत्ता पक्षले सभामुखको उम्मेदवार छान्न नसक्दा सभामुख निर्वाचन प्रक्रियामा ढिला हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप