बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जाडोमा यसरी गर्नुपर्छ छालाको स्याहार

मङ्गलबार, १५ पुस २०७६, ०८ : ४४
मङ्गलबार, १५ पुस २०७६

जाडो बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या देखापर्छ । चिसोमा मानिसलाई हुने स्वास्थ्य समस्यामध्ये छालामा सुख्खापन अपवाद बाहेक सबैलाई हुन्छ । यो मौसममा हावा धेरै चिसो हुन्छ । चिसो हावाका कारण छालामा सुख्खापन आउनुका साथै विभिन्न समस्या देखापर्छ । नियमित औषधि सेवन गर्नेको छाला झन बढी सुख्खापन आउने गर्छ । जस्तै सुगर, ब्लड प्रेसर, किड्नीको औषधि प्रयोग गर्नेको छालामा सुख्खापना बढी देखिन्छ । चिसो मौसममा छालालाई कसरी स्याहार गर्ने भनेर छाला रोग विशेषज्ञ डाक्टर अनिलकुमार झासँग गरिएको कुराकानी ।

जोडो मौसममा छालामा यस्ता समस्या आउन सक्छन् :

हाम्रै लापरबाहीका कारण पनि छालामा सुख्खापनका आउनुका साथै अनेक समस्या देखापर्छ । शरीरमा पानीको मात्रा कम हुँदा, धेरै तातो पानीले नुहाउँदा, साबुनको धेरै प्रयोग गर्दा, शरीरमा घामका विकिरण बढी छिर्दा पनि छाला सुख्खा हुन्छ ।

जाडो मौसममा छाला सुख्खा हुँदा चर्याउने, चिलाउने, पोल्ने, फुट्ने, औँलाहरु रातो भएर सुनिने र घाउ आउने जस्ता समस्याले प्रायः मानिसलाई सताएकै हुन्छ । सामान्य रूपमा जोडो मौसममा मुख्य रूपमा तीन कुरामा ध्यान पुर्याउन सकेमा छाला आउने सुख्खापनबाट जोगिन सकिन्छ ।  

जाडोमा छाला सुख्खा हुनबाट यसरी जोगाउन सकिन्छ :

जाडोमा बाक्लो बाक्लो उलनको न्यानो लुगा लगाइन्छ । त्यसरी न्यानो लुगा लगाउँदा शरीर सुख्खा भएर चराउने हुन्छ । शरीर चिलाउने हुँदा न्यानो लुगा लगाउनुभन्दा अघि सुतीको वस्त्र पहिरिएपछि मात्रै न्यानो लुगा लगाउँदा छालामा सुख्खापन आउँदैन ।

चिसो मौसममा नुहाउँदा प्रयोग गरिने साबुनसम्बन्धी पनि सावधानी अपनाउनुपर्ने हुन्छ । जाडोमा नुहाउँदा प्रयोग गरिने साबुन बढी ग्लिसिरिन भएको प्रयोग गर्नुपर्छ । जुनपायो त्यही साबुनले नुहाउँदा छालामा धेरै सुक्खापन आउन सक्छ । त्यसैले जाडो र गर्मी मौसममा नुहाउँदा प्रयोग गरिने साबुन फरक फरक हुन जरुरी छ । मोस्चराइजर साबुनको पनि प्रयोग गर्नाले छालामा सुक्खापन आउँदैन ।

जाडोमा छाला सुक्खा हुनुका साथै हात, खुट्टाका औँलाहरु रातो भएर सुनिने समस्याले धेरेलाई सताउँछ । जाडोले आँैला रातो भएर सुनिनुलाई ‘चिनप्लान’ भनिन्छ । त्यो पनि  छालाको रोग हो । हात, खुट्टाका औँला रातो भएर सुनिने काठमाडौँ लगायत देशका पहाडी तथा हिमाली क्षेत्रमा धेरैलाई हुने गरेको छ । पानी खेलाउनुभन्दा अगाडि रबरको पञ्जा लगाएर काम ग¥यो भने औँला सुनिदैन । यस्तै औँलाहरुलाई रातो भएर सुनिन नदिनका लागि ‘हट वाटर ब्याग’ले हात, खुट्टाका औँलामा सेक्नुपर्छ । जुत्ता लगाउँदा पातलो सोल भएको लगाउन हुँदैन । ‘स्पोट टाइप’को जुत्ता लगाउनुपर्छ । अन्य समयमा  न्यानो पञ्जा लगाउनुपर्छ ।

जाडोमा सामान्य छाला पनि खस्रो भएर जान्छ । छाला सुक्खा हुन नदिन नियमित रूपमा मोइस्चराइजर क्रिमको प्रयोग गर्नुपर्छ । चिसोले छाला सुक्खा हुँदा कत्लाकत्ला निस्कने पनि गर्छ । सुख्खा छालाबाट कत्लाकत्ला निस्कँदा चिल्लो पदार्थको प्रयोग नगरेर विशेषज्ञको सल्लाहमा उपचार गराउनुपर्छ ।

छालालाई सुक्खा हुन नदिनका लागि धेरै तातो पानीले नुहाउनु हुँदैन । नुहाउँदा मनतातो पानीको प्रयोग गर्नुपर्छ । जाडो याम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउनुपर्छ । खानपानमा विशेष ध्यान दिनुपर्छ । हरियो सागसब्जीका साथै प्रशस्त पानी पिउनाले सुक्खा छालाको समस्या समाधान हुन्छ । नुहाउने वित्तिकै तेल तथा मोइस्चराइजर लगाउनुपर्छ ।

छालामा समस्या आउन नदिनका लागि बजारमा पाइने जुनपायो त्यही मोस्चराइजर क्रिम प्रयोग गर्नाले पनि समस्या आउन सक्छ । छालाको प्रकृति फरक फरक हुन सक्छ । त्यसैले विशेषज्ञको सल्लाहमा आफ्नो शरीरको छालालाई  कस्तो खालकोे मोस्चराइजर क्रिम तथा लोसनको प्रयोग गुर्नपर्छ । विशेषज्ञको उपलब्धता छैन भने छाला सुक्खा हुन नदिनका लागि नरिवलको तेल निकै लाभदायी मानिन्छ । यसका साथै भ्यासलिन जस्ता चिल्लो पदार्थ प्रयोग गर्न पनि सकिन्छ । मह, जैतुनको तेल दूधमलाई र एलोभेरा जस्ता घरायसी औषधिको सुक्खा छालामा प्रयोग गर्दा यसले मोइस्चराइजरको काम पनि गर्छ । यी घरायसी औषधिले छालालार्ई सुक्खा हुनबाट जोगाउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप