बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
व्यङ्ग्य

कठै ! सुझाव, सल्लाह र परामर्श !

मङ्गलबार, १५ पुस २०७६, ०९ : ०१
मङ्गलबार, १५ पुस २०७६

आधिकारिक संस्था र व्यक्तित्वहरुले जबसम्म सुझावलाई गुलाफ, सल्लाहलाई साक्षात् अल्लाह अर्थात् भगवान् सम्झिँदैन, अनि उचित परामर्श हृदयले स्पर्श गरेर प्रयोगमा ल्याउँदैनन् तबसम्म अराजकताले खुट्टा घुमाउन छोड्दैन । नेपालमा बढ्दो सडक दुर्घटना प्रतिदिन झन् ललना, कथना, अरण्यरोदन र क्षणिक चिच्याहट मात्र बन्ने क्रमको डिग्री चढ्दो छ । जुन जोगी आए पनि कानै चिरेका ! जहाँ निष्ठा विष्ठा बनाइन्छ, प्रणलाई  व्रण सोचिन्छ, वाचालाई आचा मानिन्छ त्यहाँ भद्रगोल र वितण्डाले अण्डा कोरल्छ । हरेक कुराको सुन्दर पक्षमा उल्टो विश्व कीर्तिमानी कायम गरेका हाम्रा हर तथ्याङ्कहरुले  मिथ्याङ्क पस्किरहेका छन् । कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैँ यतिखेर सडक दुर्घटनामा पनि नेपाल विश्वमै पहिलो नम्बरमा आउँछ ।

दुई पाङ्ग्रेदेखि सोह्र पाङ्ग्रेसम्मका सवारी साधन गुडाउने हाम्रा सडक अति साँघुरा, कमजोर सुरक्षा निरीक्षण, आवश्यक ठाउँमा सङ्केत पाटी नहुनु, मोड्नै नमिल्ने, मापदण्डविपरीतका  केवल धराप थापेर नागबेली र जोखिमका घुम्तीमा कुर्कुस्त यात्रु तथा माल कोची लाखौँ वाहन गुडाउँदा अनाथ पक्की कच्ची सडक झोक्राइरहेको छन् ।

हरेक दिन चालीसभन्दा बढी सवारीसाधन दुर्घटनामा पर्ने, सात यात्रुले इहलीला समाप्त गरी पैँतालीस घाइतेमध्ये बीसभन्दा माथि मृत्युकै प्रतीक्षासूचीमा रहने र बाँकी अङ्गभङ्ग भई कहरिलो  जिन्दगी विताउनेमा दर्ज हुन्छन् भन्ने भयकारी आकडाले सरकार नामधारीलाई किन पोल्दैन ? सरोकारवालाहरु यो दुर्दशालाई कानुनको कार्यान्वयनमा घोल्दैन । यस्तो चरम अव्यवस्था टुलुटुलु हेरेर बस्ने हाम्रो निरीह नियतिले यहाँका शासक प्रशासकका नियत छरपष्ट हुन्छ ।


सरकारले नै गठन गरेका विज्ञका सुझाव जबसम्म राज्यचालक लात्ताले हान्छ, रिसवत, नजराना र हिस्साको गिद्धे नजरमा बाँच्छ तबसम्म सडक दुर्घटना निरीह ललना बनिरहन्छ । कठै, सुझावलाई गुलाफ नठान्ने ढुकरे छाती, प्राविधिक सल्लाहलाई अल्लाह वा ईश्वर नबनाउने विवेकहीन सत्ता, नीति नियमलाई कर्ममा नउतार्ने अकर्मण्य चरित्र !


दुर्घटनालगत्तै त्यसको जाँचबुझ गर्न र भावी दिनमा अपनाउने होसियारीका उपाय खोज्न समिति पनि निर्माण गरिन्छ । सत्ताधारी निकटकाले अल्पकालीन रोजगारको चिठ्ठा पनि पार्छन् । प्रतिवेदन पनि तयार हुन्छ । सुझावका बुँदामा नौ थरी फुँदा गाँसेर सिँगारपटारसाथ मूलीकहाँ बुझाएको कुरा मिडियामा गुडिया बनेर नाच्छन् पनि । बिडम्बना ! हात लाग्यो शून्य । भयावह दुर्घटनाले राज्यचालक मूली भावुक र गम्भीर हुँदै  घोर शोक सागरमा डुबेका कुरा भएभरका सञ्चारगृहमार्फत प्रचार गराएर पीडित आफन्तका दिलदिमागलाई भुट्दै आत्मीयता प्रकट गरेका मन्तव्यका नाटक पनि मनग्गे मञ्चन गरिन्छ । तर यो ओठे आडम्बर फगत् अफबाह मात्र बनेका प्रमाण बढ्दो दुर्घटनाले देखाउँछ । विकासका पूर्वाधारमध्ये सडक प्रमुख हो, अपशोच ! यो केही आसेपासे ठेकदार र सरकारको कमाउने गतिलो भाँडो बनेकैले अगतिलो सडक तथा गुणस्तरहीन बनिरहेछ । पिउनको गेटदेखि हाकिमको कुर्सीसम्म, मुन्द्रे पाखुरेदेखि कार्यकर्ता र सत्ताधारी नेतासम्मका प्रेतात्मा खुसी बनाउँदा नै निर्माणको बजेटले विनिर्वाण प्राप्त गर्ने कुरा कैयौँ ठेकदार ओकल्छन् पनि । कुल बजेटकै पचास प्रतिशत फूल बनाएर सम्बन्धितहरुमा चढाउने गम्भीर भूल सहजतासाथ गरेपछि अनि पुल, सडक गुणस्तरका बन्छन् र ?

सवारी चलाउँदा चालक बालकझैँ मोबाइलमा झुन्डिने, निकटका यात्रु महिलाका विकट शारीरिक प्रदेशतिर नजर दौडाउने, चर्को स्वरका भल्गर गीतको तानामा दिवाना बन्ने गुरुजीहरुको बानी पनि दुर्घटनाको मानी हो । तीव्र गतिमा मति भ्रष्ट बनाउँदै बिरामी सवारी साधन गुडाएर एक घण्टाको यात्राको बाटोलाई आधा घण्टामै सिध्याउने  हत्पते र फत्फते हँकुवाका चञ्चले ल्यागतले पनि कैयौँ दुर्घटना विशाद बनेर मडारिन्छ । त्यसमा पनि मापसे बानीमा फसेका अर्थात् सुराले बेसुर बनेकाहरुको हातमा अलिकति चाट्न पाउने बित्तिकै स्टेयरिङ थमौती गराउने सुरक्षा प्रशासनको कुशासन कैयौँ यात्रुहरुका लागि यमराजको औतार बनेर नाचिरहेका छन् । सिट सङ्ख्याको तेब्बर यात्रु सिन्की खँदाइ बनाएर हावाविहीन पञ्चर भएका टायर, ब्रेक नलाग्ने थोत्रा तर अङ्गअङ्ग रङ्ग दलेर अनङ्गजस्ता बनेका सवारी साधन, स्टेयरिङ काट्न नसक्दा पनि जबरजस्ती गर्ने मुढेबल झिक्ने डाइबर दुर्घटनाका मुहान हुन् भनेर चुहान भेट्टाउँदा पनि कार्यान्वयनमा जान हिच्किचाउने किच्किचे  प्रशासनको सडक शासन धिक्कार र विकारबाहेक केही पनि रहेन ।

सरकारले नै गठन गरेका विज्ञका सुझाव जबसम्म राज्यचालक लात्ताले हान्छ, रिसवत, नजराना र हिस्साको गिद्धे नजरमा बाँच्छ तबसम्म सडक दुर्घटना निरीह ललना बनिरहन्छ । कठै, सुझावलाई गुलाफ नठान्ने ढुकरे छाती, प्राविधिक सल्लाहलाई अल्लाह वा ईश्वर नबनाउने विवेकहीन सत्ता, नीति नियमलाई कर्ममा नउतार्ने अकर्मण्य चरित्र ! पैसे मगजका तिल्के तारे लाले र कालेहरु हो । तिमीहरुलाई भोट होइन धिक्कारको मतदान दिन मात्र बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बद्रीप्रसाद दाहाल
बद्रीप्रसाद दाहाल
लेखकबाट थप