शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेनाद्वारा एक हजार किमी सडक निर्माण

शुक्रबार, १८ पुस २०७६, १९ : ४१
शुक्रबार, १८ पुस २०७६

–भीष्मराज ओझा
काठमाडौं । नेपाली सेनाले हालसम्म विभिन्न २७ सडक आयोजनाअन्तर्गत एक हजार ६५ किलोमिटर लम्बाइको सडक निर्माण सम्पन्न गरी नेपाल सरकार, सडक विभागलाई हस्तान्तरण गरेको छ । 

यसबाहेक सेनाले हाल महत्वपूर्ण पाँच सडक आयोजना (५३२.९७ किमी) निर्माणाधीन रहेको जनाएको छ । नेपालको संविधानको धारा २६७ को उपधारा ४ मा ‘नेपाल सरकारले नेपाली सेनालाई सङ्घीय कानूनबमोजिम विकास निर्माण र विपद् व्यवस्थापनलगायतका अन्य कार्यमा समेत परिचालन गर्न सक्नेछ’ भन्ने प्रावधान उल्लेख छ । 

सो प्रावधानअनुसार सेना विकास निर्माणमा संलग्न हुँदै आइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । विकास निर्माणमा नेपाली सेना संलग्न भएको आधुनिक इतिहास हेर्दा विसं २०१६ मा कान्ति राजपथ र विसं २०१८ मा भक्तपुर–नगरकोट सडक निर्माणबाट शुरु भएको देखिन्छ । आधुनिक नेपालको एकीकरणका युद्धदेखि प्रथम र द्वितिय विश्वयुद्धसम्मको अनुभव संगालेको नेपाली सेना शान्तिको समयमा मुलुकका ठूला र महत्वपूर्ण पूर्वाधार निर्माणमा समेत अब्बल बन्दै गएको छ । 

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षामा प्रतिबद्ध सेनाले पछिल्लो समय जटिल भौगोलिक स्थानमा सडक र महत्वपूर्ण आयोजना निर्माण तथा विभिन्न आयोजनाका लागि विष्फोटक पदार्थसमेत आपूर्ति गर्दै आएको छ । विगतमा प्रतिकूल परिस्थितिका बाबजुद सेनाले सडक निर्माण गरी नौ जिल्ला (रसुवा, ओखलढुङ्गा, रुकुम, कालिकोट, जुम्ला, जाजरकोट, जुम्ला मुस्ताङ, मनाङ र मुगु) सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने काम गरेको थियो । 

हाल डोल्पा र हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोड्ने कार्य द्रुत गतिमा भइरहेको निर्देशनालयले जनाएको छ । निर्माणाधीन मुख्य सडक आयोजनामा काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक (७२.५ किमी), कर्णाली करिडोर खुलालु–लैफु–सरिसल्ला खण्ड (१४५ किमी), बेनिघाट–आरुघाट–लार्के भञ्ज्याङ (११८ किमी) र कालिगण्डकी कोरिडोर रिडी मालढुङ्गा खण्ड सडक (८० किमी) रहेका छन् । यसैगरी सेनाले विभिन्न सडक आयोजनाअन्तर्गत हालसम्म एक हजार १९७ मिटर लम्बाईका ३० पुल (बेलिब्रिज) निर्माण गरिसकेको छ । 

त्यस्तै २०५० सालमा बाढी तथा पहिरोले अवरुद्ध पृथ्वीराजमार्गको पहिरो खुलाई सडक सञ्चालन, विसं २०६५ मा कोशी नदी कटानले पूर्व–पश्चिम राजमार्ग बगाएपछि वैकल्पिक कोशी राजमार्ग खोलेको, विसं २०७१ मा जुरे पहिरोले बनेको तालको नियन्त्रितरुपमा गहिराइ कम गरी वैकल्पिक मार्ग निर्माण गरेको, माथिल्लो तामाकोशी पहुँचमार्ग निर्माणलगायत अनुभव सेनासँग छ । 

गत वर्ष चैतमा बारा र पर्सामा आएको घुम्रपात (टोर्नाडो) बाट तहसनहस बनेको बस्तीमा सरकारले दिएको जिम्मेवारीअनुसार सेनाले ८६९ घर निर्धारित समयमै सम्पन्न गरी स्थानीयलाई हस्तान्तरण गरेको थियो ।
पछिल्लो समय नेपाली सेना मुलुकको सबैभन्दा ठूलो राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणमा युद्धस्तरमा खटेको छ । यो आयोजना काठमाडौँलाई तराईसँग जोड्ने छोटो दूरीको सडक हो । यो सडक ललितपुरको खोकनाबाट शुरु भई काठमाडौँको दक्षिणकाली, मकवानपुरको इपा पञ्चकन्या, गढी, छतिवन, धियाल र बाराको रतनपुरी, लालगाउँ हँुदै पूर्व–पश्चिम राजमार्गमा गएर टुङ्गिन्छ । 

नेपाली सेनाबाट गरिने विकास निर्माण, भवन निर्माण साथै आवश्यकताअनुसार विपद् व्यवस्थापनलगायतका अन्य इञ्जिनीयरिङ सेवा प्रदान गर्न प्रधानसेनापतिको मातहतमा इञ्जिनीयरिङ विभागको संरचना रहेको छ । सो विभाग मातहतमा विकास निर्माण निर्देशनालय र सर्भे महाशाखा रहेको निर्देशनालयले जनाएको छ । 

सरकारले सेनालाई दिएको जिम्मेवारीअनुसार विकास निर्माण (विभिन्न सडक आयोजना) पुनःनिर्माणका साथै विपद् व्यवस्थापनमा इञ्जिनीयरिङ कार्यलगायत भवन निर्माण कार्य तोकिएको समयमा मितव्ययी ढङ्गबाट सफलतापूर्वक सम्पादन गर्दै विकास निर्माणमा सरकारको एक भरपर्दो संस्थाका रुपमा स्थापित भएको सेनाको दाबी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप