बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किन खानुपर्छ ‘सुपर फुड’ को दर्जा पाएको ब्रोकाउली ?

थुप्रै भिटामीन र खनिजहरु मात्रै हैन, क्यान्सरप्रतिरोधी तत्त्वसमेत पाइन्छ ब्रोकाउलीमा !
शनिबार, १९ पुस २०७६, ०७ : ४८
शनिबार, १९ पुस २०७६

प्रायःजसो जाडो मौसममा सहज र सुलभ रुपमा बजारमा उपलब्ध हुने तरकारीहरुमध्येको एक हो ब्रोकाउली । तिख्खर स्वाद र एक किसिमको गन्धका कारण धेरैजसोका लागि यो रुचिकर तरकारी बन्दैन । खासगरी, केटाकेटीहरुले त यो तरकारी खान खासै मन गर्दै गर्दैनन् । तर ब्रोकाउली तरकारीहरुमध्येमा पनि सबैभन्दा शक्तिशाली, फाइदाजनक मानिन्छ ।

ब्रोकाउली क्रुसिफेरोस तरकारी समूहमा पर्दछ र यो बन्दाकोपी, फूलकोपी समूहका तरकारीको नजिकको नातेदार पनि हो । ब्रोकाउलीमा सुल्फोरोफेन तत्त्व पाइन्छ । मूलतः सल्फर भएको यो तत्त्व क्रुसिफेरोस समूहका अन्य तरकारीहरुमा पनि पाइन्छ ।

तरकारीहरुमध्ये ब्रोकाउली एउटा त्यस्तो महत्त्वपूर्ण र स्वास्थ्यको लागि अत्यन्तै उपयोगी तरकारी हो, जुन स्वस्थ शरीरका लागि चाहिने महत्त्वपूर्ण खनिज, भिटामीन तथा फाइबरहरुले भरिपूर्ण त छँदैछ, त्यसमाथि थप यो तरकारीमा क्यान्सरप्रतिरोधी तत्त्वहरु समेत हुने गरेको कुरा अनुसन्धानहरुले देखाएको छ ।

आउनुहोस्, हामी पनि सुपर फुडको दर्जा पाएको ब्रोकाउलीले गर्ने फाइदाहरुबारे केही चर्चा गरौं ।

क्यान्सर प्रतिरोधी तत्त्व हुन्छ ब्रोकाउलीमा

अमेरिकाको ओरेगन स्टेट युनिभर्सिटीले गरेको एक अध्ययन रिपोर्ट अनुसार, ब्रोकाउलीमा क्यान्सरसँग लड्ने तत्त्व पाइन्छ । त्यो तत्त्वको नाम सुल्फोराफेन (Sulforaphane) हो । यो तत्त्वले क्यान्सर लाग्न नदिने मात्रै होइन, त्यसले क्यान्सरको उपचारलाई पनि प्रभावकारी बनाइदिने गर्छ । विशेष गरेर ब्रोकाउली प्रोस्टेटको क्यान्सर रोक्न र त्यसको उपचारमा धेरै प्रभावकारी देखिएको छ । यसमा हुने उक्त क्यान्सर प्रतिरोधी तत्त्व सुल्फोराफेनले प्रोस्टेट क्यान्सरको कोषहरुलाई मार्ने गरेको र उक्त रोगको विकासलाई सुस्त बनाउने गरेको पाइएको थियो । त्यसका साथसाथै, यस तत्त्वले क्यान्सरको उपचार पद्दति किमियोथेरापीको प्रभावकारितालाई पनि बढाइदिने गरेको फेला परेको थियो ।

उक्त अध्ययनले क्यान्सरको रोगीहरुले औसतभन्दा बढीमात्रामा ब्रोकाउली खानुपर्ने पनि सुझाव दिएको थियो । ब्रोकाउलीलाई पूरक खानाको रुपमा खानेगरेमा त्यसले थप फाइदा गर्ने पनि बताइएको थियो ।

वायुजन्य प्रदूषणहरुबाट बचाउँछ

https://media.pri.org

त्यसो त ब्रोकाउलीले शरीरको विकारहरु, अझ विशेष गरेर वायु प्रदूषणजन्य विकासहरु निष्काशनमा मद्दत पुग्ने गर्छ । वायु प्रदूषण आधुनिक समाजको एउटा ठूलो समस्या बनेर गएको छ । यस अवस्थामा ब्रोकाउलीको नियमित सेवनले वायु प्रदूषणका कारण शरीरमा पैदा हुने विकारहरु निष्काशन हुने अर्को एउटा अध्ययनले देखाएको छ ।

जोन हप्किन्स ब्लूमवर्ग स्कुल अफ पब्लिक हेल्थले गएको एक अध्ययनमा उक्त कुरा देखिएको हो । करिब १२ हप्तासम्म चीनका अत्यन्तै प्रदूषित क्षेत्रमा बसोबास गरिरहेका २९१ जना चिनियाँ महिला एवं पुरुषहरुमा सो अध्ययनको दौरानमा क्लिनिकल परीक्षण गरिएको थियो । तीम्धये एउटा समूहले फ्रिजमा सुख्खा बनाइएको ब्रोकाउलीको पाउडरको परिकार खुवाइएको थियो भने अर्को समूहलाई कागती र भुइँकटहरुको जूस । तीमध्ये ब्रोकाउलीको रस खानेहरुले चाहिँ वायु प्रदूषणबाट पैदा हुने विकासहरु वेन्जाइन, कार्सिनोजेन जस्ता विकारहरु नखानेहरुले भन्दा  ६० प्रतिशत बढी शरीरबाट निस्काशित गरेको देखिएको थियो । त्यसका साथसाथै, उनीहरुले तुलनात्मक रुपमा २३ प्रतिशत बढी वायुप्रदूषणजन्य एक्रोलिन जस्ता तत्त्वहरु पनि बढी शरीरबाट निस्काशित गरेका थिए ।

प्रोगेरिया रोगको खराबी पनि हटाउन सक्छ

प्रोगेरिया (Progeria) एउटा त्यस्तो दूर्लभ रोग हो, जसमा शरीर अति चाँचाँडो बुढो हुँदै जान्छ । यो रोग लागेको धेरैजसो रोगीहरु ३० वर्षभन्दा बढी बाँच्न सक्दैनन् । यो रोगको अझैसम्म उपचार पत्ता लागिसेको छैन । तर अध्ययनले के देखाएके छ भने ब्रोकाउलीमा पाइने तत्त्वहरुले यो रोगमा देखिने प्रोटिनसम्बन्धी खराबीहरुलाई कम गर्न सक्छ र त्यस रोगको विकासलाई सुस्त तुल्याइदिन सक्छ ।

स्वस्थ पाचन प्रणाली

https://images.onlymyhealth.com

स्वस्थ पाचन प्रणाली मानिसको समग्र स्वास्थ्यको लागि अति महत्त्वपूर्ण हुन्छ । पाचन प्रणाली स्वस्थ भयो भने यसले हामीले खाएका खानेकुराहरुबाट पोषक तत्त्वलाई सही ढंगले सोस्ने र शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । पाचनप्रणाली सही भएन भने हामीलाई तत्कालै देखापर्ने धेरै समस्याहरुका साथसाथै थुप्रै दीर्घकालीन रोगहरुसमेत लाग्न सक्छ ।

हामीले हाम्रो खानामा नियमित रुपमा ब्रोकाउलीलाई समावेश गर्ने हो भने पाचन प्रणालीलाई सही ढंगले काम गर्न मद्दत पुग्छ । सबैलाई थाहा भएकै कुरा हो, पाचनप्रणालीलाई स्वस्थ राख्न सबैभन्दा जरुरी चीज भनेकै हामीले खाने खानेकुराहरु फाइबरयुक्त हुन जरुरी छ । ब्रोकाउली त्यस्तो तरकारी हो, जसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । त्यसैगरी, ब्रोकाउलीमा हुने विभिन्न तत्त्वहरुले हाम्रो पाचन प्रणालीमा असल व्याक्टेरियाहरुको बृद्धिमा पनि मद्दत पुर्याउँछ । विभिन्न अध्ययनहरुले देखाएको छः नियमित रुपमा ब्रोकाउली खाने मानिसहरुको पाचनप्रणाली तुलनात्मक रुपमा बढी सही ढंगले काम गर्ने गरेको हुने गर्छ ।

त्यसबाहेक, फाइबरयुक्त खानेकुराहरुले रगतबाट कोलेस्ट्रोल घटाउन पनि सहयोग गर्छ ।

पर्याप्त मात्रामा पोषण

ब्रोकाउलीमा पर्याप्त मात्रामा पोषणहरु पाइन्छ । यो कार्बोहाइड्रेड र प्रोटिनको पनि राम्रो स्रोत हो । ब्रोकाउली स्वादिलो मात्रै हैन, क्यालोरीमा कम हुनुका साथसाथै थुप्रै अत्यवश्यक भिटामीन तथा मिनरलहरुको पनि खानी हो ।

एक कप पाकेको ब्रोकाउलीमा एउटा सुन्तलामा जत्तिकै भिटामीन सी हुन्छ भने यो बिटा क्यारोटिनको पनि राम्रो स्रोत हो । बिटाक्यारोटिन भनेको त्यो महत्त्वपूर्ण तत्त्व हो, जुन भिटामीन एमा रुपान्तरित हुने गर्छ । ब्रोकाउलीमा भिटामीन बी१, बी२, बी३, बी६, आइरन, म्याग्नेसियम, पोटासियम र जिंक पनि पाइन्छ ।

मूलतः ब्रोकाउली भिटामीन के र सीको राम्रो स्रोत हो । त्यसैगरी, फोलेट (फोलिक एसिड) पनि यसमा पाइन्छ ।  स्मरण रहोस्, भिटामीन के रगत जम्नको लागि अत्याश्यक तत्त्व हो भने यसले अन्य थुप्रै कामहरु पनि गर्ने गर्छ ।

त्यसैगरी भिटामीन सी पनि त्यस्तो शक्तिशाली एन्टिअक्सिडेन्ट हो, जसले हाम्रो शरीरको कोषहरु, हड्डीहरु बन्ने प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ भने यसले चोटपटक तथा घाउहरु निको पार्न पनि विशेष काम गर्ने गर्छ ।

स्वस्थ मस्तिष्क, दीर्घ जवानी

https://www.keepingussafe.org

बुढो हुनुलाई कसैले रोक्न सक्दैन । बुढो हुनुको अर्को अर्थ के हो भने बढ्दो उमेरसँगसँगै हाम्रो मस्तिष्कको क्षमता पनि घट्दै जान्छ ।

बुढ्यौली र त्यसको असरमा देखापर्ने मस्तिष्कको क्षमतामा ह्रासलाई पूरै रोक्न त सकिन्न तर त्यसलाई सुस्त पार्न भने सकिन्छ । ब्रोकाउलीको नियमित सेवनल गर्ने हो भने हाम्रो मस्तिष्कलाई लामो समयसम्म बुढ्यौलीको असरहरुबाट बचाएर राख्न सकिन्छ ।

ब्रोकाउलीमा केम्पफेरोल नाम गरेको यौगिक हुने गर्छ । यो यौगिकले मस्तिकको सुन्याइलाई घटाउने काम गर्छ । त्यसक साथसाथै यसले मस्तिष्कघातको बेलामा हुने मस्तिष्कको स्थायी क्षतिबाट समेत जोगाउने काम गर्छ । त्यसबाहेक, ब्रोकाउलीमा हुने सुल्फोराफेनले पनि मस्तिष्कलाई सही ढंगले काम गर्न सहयोग पुर्याउने गर्छ ।

बुढ्यौलीले हाम्रा शरीरमा थुप्रै परिवर्तनहरु आउँछन् । अहिले संसारभरि नै बुढ्यौलीको गतिलाई कसरी कम गर्ने र लामो समयसम्म जवानै रहिरहने भन्नेबारेमा थुपै्र अध्ययन अनुसन्धानहरु भइरहेका छन् । यसै सन्दर्भमा के देखिएको छ भने केही खानेकुराहरुले बुढ्यौलीलाई रोक्न नसकेपनि त्यसको गतिलाई कम गर्ने गरेको चाहिँ देखिएको छ ।

त्यस्ता खानेकुराहरुमध्येमा ब्रोकाउली पनि यस पक्षमा प्रभावकारी देखिएको छ । खासगरी ब्रोकाउलीमा पाइने सुल्फोराफेनले मानिसको बुढोहुने र कोषहरु मर्ने प्रक्रियालाई सुस्त तुल्याउने गरेको पाइएके छ । त्यसबाहेक, यसमा पाइने विभिन्न खालका भिटामीन तथा खनिजतत्त्वहरुले पनि हामीलाई लामो समयसम्म स्वस्थ राख्न मद्दत गर्दछ भने हाम्रा छालामा चाँडै चाउरी पर्न नदिएर हामीलाई लामो समयसम्म जवान नै रहिरहन सहयोग गर्छ ।

रगतमा चिनी घटाउँछ

रगतमा चिनीको मात्रा बढ्यो भने त्यसलाई नियन्त्रण गर्ने सबैभन्दा प्रमुख उपाय भनेकै खानेकुराहरु बार्नु वा नियन्त्रित खानेकुराहरु खानु हो । कतिपय खानेकुराहरु यस्ता हुन्छन्, जसले हाम्रो रगतम चिनीको मात्रा बढाइदिन्छ । त्यस्ता खानेकुराहरुमा विशेषतः क्यालोरी बढी हुने खानेकुराहरु पर्दछन् । तर ब्रोकाउली यस्तो खानेकुरा हो, जो पोषक तत्त्वहरुले भरपूर त हुन्छ तर त्यसमा क्यालोरी चाहिँ कम हुन्छ ।

ब्रोकाउलीमा भरपूर फाइबर हुने गर्छ । फाइबर त्यस्तो चीज हो, जसले मानिसलाई मोटाउन दिँदैन, रगतमा चिनीको मात्रालाई कम गर्न सहयोग गर्छ । त्यसै गरी, अध्ययनहरुले के पनि देखाएको छ भने नियमित रुपमा ब्रोकाउली खाने मानिसहरुमा इन्सुलिनले राम्ररी कामगर्ने गर्छ ।

स्वस्थ मुख, बलियो हड्डी

https://c.ndtvimg.com

मुखको स्वास्थ्यको लागि पनि ब्रोकाउली उपयोगी मानिन्छ । विशेष गरेर दाँत क्षय हुने, गिजा पाक्ने र सुन्निने जस्ता समस्याहरुबाट ब्रोकाउलीले रक्षा गर्ने गर्छ । ब्रोकाउलीमा पाइने केम्पफेरोलले त्यो काम गर्ने गर्छ । त्यसबाहेक, ब्रोकाउली क्याल्सियमको पनि राम्रो स्रोत हो  । उल्लेख गरिबस्नु नपर्ला, दाँतलाई स्वस्थ र बलियो राख्नका लागि आवश्यक तत्त्वहरुमध्ये क्याल्सियम पनि एक हो ।

यही क्याल्सियमले हाम्रा हड्डी तथा जोर्नीहरुलाई बलियो अवस्थामा राख्ने काम पनि गरिरहेको हुन्छ ।

त्यसैगरी, ब्रोकाउलीमा पर्याप्त मात्रामा भिटामीन के पनि पाइन्छ । भिटामीन केले हाम्रो हड्डीलाई स्वस्थ राख्नेको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । अध्ययनहरुले देखाएको छ, ब्रोकाउलीले हड्डी खिइने रोगबाट बचाउनुका साथसाथै जोर्नीसम्बधी धेरै जटीलताहरुबाट पनि हामीलाई रक्षा गर्ने काम गरिरहेको हुन्छ ।

रोगहरुबाट बचाउँछ

हामीलाई रोगहरुबाट बचाउनको लागि शरीरको रोगप्रतिरोधात्मक क्षमता बलियो हुनुपर्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुको लागि थुप्रै भिटामीन तथा खनिजतत्त्वहरुको आवश्यकता पर्दछ । त्यसमा पनि सबैभन्दा महत्त्वपूर्ण भूमिका चाहिँ भिटामीन सीको हुन्छ । ब्रोकाउलीमा शरीरको प्रतिरक्षा प्रणालीाई स्वस्थ र बलियो राख्नको लागि आवश्यक भिटामीन सी लगायतका प्रायः सबैजसो भिटामीन तथा खनिज तत्त्वहरु पाइन्छन् ।

पोटासियमले चाहिँ हाम्रो स्नायु प्रंणालीलाई सही ढंगले सञ्चालन हुन मद्दत गर्नुका साथै मुटुलाई सही रुपमा धड्कन सहयोग गर्छ ।

गर्भावस्थामा फाइदा

https://cdn.newsapi.com.au

आमाका गर्भमा हुर्किरहेका बच्चालाई स्वस्थ राख्नको लागि पर्याप्त मात्रामा पोषक तत्त्वहरुको आवश्यकता पर्दछ, जसले गर्दा ऊ स्वस्थ ढंगले हुर्कन सक्छ । बच्चालाई सही मात्रामा पोषक तत्त्व पुग्नको लागि गर्भवती महिलाले पनि सही मात्रामा पोषकतत्त्वहरु भएका खानेकुरा खानु जरुरी हुन्छ ।

उदाहरणको लागि, गर्भमा रहेका बच्चाको मेरुदण्ड र मस्तिष्कको विकासको लागि भिटामीन बी९ को भूमिका महत्त्वपूर्ण हुन्छ । यो भिटामीनलाई फोलेट वा फोलिक एसिड पनि भन्ने गरिन्छ । फोलेट शरीरको लागि त्यस्तो अत्यावश्यक तत्त्व हो जसले हाम्रो शरीरमा भएका कोषहरुलाई सही अवस्थामा राख्न तथा नयाँ कोषहरु निर्माण हुनमा सहयोग पुर्‍याउँछ ।

ब्रोकाउलीमा यो फोलेट पाइन्छ । यसको अर्थ के हो भने एउटा गर्भवती महिलाले ब्रोकाउली खानु ऊ आफू  आफूभित्र हुर्किरहेका बच्चा दुवैका लागि फाइदाजनक नै हुन्छ । त्यसबाहेक, ब्रोकाउली अन्य भिटामीन र खनिजहरुको समेत राम्रो स्रोत भएको कारणले गर्दा यो गर्भवती महिलाका साथसाथै गर्भभित्र हुर्किरहेको बच्चाको स्वास्थ्यको लागि पनि अत्यन्तै राम्रो खानेकुरा हो ।

घामको विकीरणबाट बचाउँछ

घामको किरण पृथ्वीको लागि जीवनदायी कुरा हो । घामको किरण छ र न पृथ्वीमा जीवन छ । तर घामको किरणले जीवन मात्रै दिँदैन, त्यसमा खतरनाक अल्टाभायोलेट किरण पनि मिसिएको हुन्छ, जसले छालाको क्यान्सर लगायत अन्य समस्याहरु पैदा गरिदिन सक्छ ।

तर ब्रोकाउलीमा भएका कतिपय तत्त्वहरुले घामको उक्त अल्ट्राभायोलेट किरणले छालामा गर्ने नोक्सानीबाट प्रतिरक्षा गर्ने गर्छ । यद्यपि यस कुराम ब्रोकाउलीले कसरी काम गर्छ भन्नेबारेमा थप गहन अध्ययन हुन भने बाँकी नै छ ।

क्यान्सरप्रतिरोधी तत्त्व पाउन धेरै खानुपर्दैन

अहिलेसम्म यो यकीन भइसकेको छैन कि ब्रोकाउलीको फाइदा सही ढंगले पाउनको लागि कत्ति मात्रामा खानुपर्छ । तर अहिलेसम्म स्वीकारिएको मात्रा चाहिँ दिनको आधा कप भए पुग्छ । कतिपयले चाहिँ हप्ताको दुई कप मात्रै खाए पनि त्यसको शरीरलाई आवश्यक क्यान्सरप्रतिरोधी तत्त्वको आपूर्ति हुने मान्छन् । अर्को एकथरिको मतमा चाहिँ कम्तिमा पनि दिनको २५० ग्राम ब्रोकाउली खाँदा पुग्ने मान्छन् । जे होस्, यो भनेको धेरै होइन, यसलाई सजिलै आफ्नो खानेकुरामा समावेश गर्न सकिन्छ ।

काँचो कि पकाएको खाने ?

https://10faq.com

ब्रोकाउली त्यस्तो खाना समूहमा पर्दछ, जुन काँचै वा पकाएर दुवै तरिकाले खान सकिन्छ । ब्रोकाउलीमा भएका जीवनदायी र स्वस्थकर तत्त्वहरुमध्ये कतिपय चाहिँ पकाउँदा नष्ट हुने भएकोले तुलनात्मक रुपमा पकाएको भन्दा काँचो खाँदा यसले बढी फाइदा गर्ने गर्छ । ब्रोकाउलीमा पाइने थुप्रै फाइदाजनक तत्त्वहरुमध्ये सुल्फोराफेन प्रमुख हो । यो तत्त्व चाहिँ पकाउँदा नष्ट हुने गर्छ भनी पछिल्ला केही अध्ययनहरुले देखाएको छ । यस अर्थमा पनि ब्रोकाउली पकाएको खानुभन्दा काँचो खानु नै उचित हुने देखिन्छ । काँचो खान नसक्ने व नरुचाउनेहरुले यसलाई हल्का उमालेर पनि खान सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप