शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचनमा मत दायाँबायाँ गर्नेको पद धरापमा !

मङ्गलबार, २२ पुस २०७६, १५ : ३८
मङ्गलबार, २२ पुस २०७६

काठमाडौँ –राष्ट्रिय सभा निर्वाचनमा मतको चलखेल हुने आशंका भइरहेको बेला निर्वाचन आयोगले गरेको एउटा निर्णयले राजनीतिक दलहरुलाई ढुक्क बनाएको छ  ।

प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका कुनै जनप्रतिनिधिले दल त्याग गरे वा पार्टीले कारवाही गरे उसका पद स्वतः जाने प्रावधान आयोगले ल्याएको छ । 

आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७४ अनुरुप संघ, प्रदेश र स्थानीय तहका जुनसुकै जनप्रतिनिधिले पनि दल त्याग गरेमा वा सम्बन्धित दलले प्रक्रिया पूरा गरी कारवाही गरेको आधिकारिक जानकारी गराएमा पद रिक्त हुने प्रष्ट पारेको हो । 

यसअघि राजनीतिक दलसम्बन्धी ऐन र स्थानीय तह निर्वाचनसम्बन्धी ऐनमा रहेको व्यवस्थाले स्थानीय जनप्रतिनिधिले पार्टी छाडेमा वा पार्टीले कारवाही गरेमा पद रहने वा नरहने भन्ने कुरामा अन्यौल थियो । 

कुनै दलको तर्फबाट स्थानीय तहको कुनै पदमा उम्मेदवार भइ निर्वाचित भएको सदस्यले ऐनको दफा ३२ को उपदफा (१) बमोजिम दल त्याग हुने कार्य गरेमा सो दलको केन्द्रीय समितिले निर्णय गरी निजले दल त्याग गरेको व्यहोराको जानकारी आयोगलाई गराउनुपर्नेछ । यसरी जानकारी गराउँदा केन्द्रीय समितिको निर्णयको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ । जानकारी प्राप्त गरेपछि १५ दिनभित्र आयोगले दैनिक पत्रिकामा सो सूचना प्रकाशन गर्नेछ र सूचना प्रकाशन भएपछि स्थानीय तहको त्यस्तो सदस्यको पद स्वतः रिक्त हुने भनि राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ मा उल्लेख छ । 

आयोगको निर्णयसँगै अब जनप्रतिनिधिले आफ्नो मतलाई दायाँबायाँ गरेका पाइएमा पार्टीले कारवाही गर्ने वित्तिकै उसको पद जाने निश्चित भएको छ । यस्तो व्यवस्था गरिएसँगै आगामी माग ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा मत दायाबायाँ नहुने देखिएको हो ।  

यसअघि पार्टीले कारवाही गरेपनि उसको पद रहिरहने अवस्था रहेका कारण कतिपय जनप्रतिनिधिहरु पार्टी छाडेर अर्को पार्टीमा पनि प्रवेश गरेको उदाहरण पनि रहेको छ । अब भने पार्टी छाड्नुबाहेक चुनावी प्रक्रियामा पनि मत दायाँबायाँ पारेको पाइएको अवस्थामा उसको पद जाने अवस्था देखिएका हो । 

खासगरि प्रदेश २ मा मतको चलखेल हुने आशंका बढी गरेको थियो । प्रदेश २ मा चारवटा सीटमा चुनाव हुँदैछ । त्यसका लागि नेकपा र राजपा नेपाल तथा काँग्रेस र समाजवादी पार्टीको छुट्टाछुट्टै गठबन्धन रहेको छ । 
दुई गठबन्धनका बीचमा मतमा थोरैको अन्तर रहेको हुनाले ठूलै चलखेल हुने सम्भावनाको विषयमा चर्चा शुरु भएको थियो । प्रदेश २ मा नेपाली काँग्रेस र समाजवादी पार्टीको राम्रो पकड छ । यद्यपि प्रदेश तथा स्थानीय तहमा राजपा नेपाल र नेकपाको गठबन्धनको बहुमत छ । 

प्रदेश २ मा नेकपाको ३२ जना प्रदेशसभा सदस्य तथा ८३ प्रमुख र उपप्रमुखसहित कूल मतभार ३ हजार ३० छ  भने राजपा नेपालको २५ जना प्रदेशसभा सदस्य र ५४ जना प्रमुखसहित कुल मतभार दुईहजार १७२ रहेको छ । अर्थात राजपा–नेकपा गठबन्धनसँग प्रदेशसभा सदस्य ५७ र स्थानीय तहका प्रमुख–उपप्रमुख १३७ सहित कुलमतभार पाँचहजार २०२ रहेको छ । 

त्यस्तै समाजवादी पार्टीको ३० जना प्रदेश सदस्य र ५२ जना स्थानीय तहका प्रमुख र उपप्रमुखसहित कुल मतभार २ हजार ३७६ रहेको छ भने काँग्रेससँग १९ जना प्रदेश सभा सदस्य तथा ८१ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखसहित कुल मतभार २ हजार ३७० रहेको छ । अर्थात काँग्रेस–समाजवादी गठबन्धनसँग ४९ प्रदेशसभा सदस्य, १३३ स्थानीय प्रमुख सहित कुल मतभार चारहजार ७४६ रहेको छ । 

कुल मतभारमध्ये समाजवादी–काँग्रेस गठबन्धनलाई ४५६ कुल मतभारको आवश्यकता छ अर्थात प्रदेशमा ८ जना सदस्य र स्थानीय तहमा ४ जना प्रमुख–उपप्रमुखको आवश्यकता छ । 

हुन त रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीसँग प्रदेशसभा सदस्य १ जना र स्थानीय तहमा एकजनासहित कुल मतभार ४८ रहेको छ । तर सो दलको मत कुन गठबन्धनलाई जान्छ हालसम्म निर्णय गरेको छैन । सो पार्टीका अध्यक्ष रिजवान अन्सारीले कुन गठबन्धनलाई मत दिने भन्नेबारे निर्णय भइनसकेको बताए । 

यद्यपि यो पार्टीले सरकार निर्माण गर्नका लागि प्रदेशमा समाजवादी पार्टीलाई सहयोग गरेको छ । सो पार्टीले नै राष्ट्रिय सभामा उम्मेदवारी दिन खोजेको भएपनि निर्वाचन कार्यालयमा ढिला पुग्दा मनोनयन दर्ता हुन सकेको थिएन । 

त्यस्तै हरीचरण साह नेतृत्वको नेपाली जनता दलसँग २ जना प्रमुख र उपप्रमुखसहित ३६ मतभार रहेको छ । यो मत पनि कुन गठबन्धनलाई जान्छ त्यसको निर्णय हालसम्म पार्टीले गरेको छैन ।

यसरी मत तथा मतभार हेर्दा राजपा–नेकपाको गठबन्धन समाजवादी–काँग्रेसभन्दा थोरैमतले अगाडि छ । मत प्राप्त गर्नका लागि चलखेल हुनसक्थ्यो । 

समाजवादी पार्टी र काँग्रेसबीच गठबन्धनको घोषणा हुनुभन्दा पहिले समाजवादी पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादव काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवासमा गएको बेला यस विषयमा दुई पक्षमा कुराकानी भएको समाचार यसअघि हामीले प्रकाशन गरेका थियौं । 

समाजवादी पार्टी र काँग्रेसले त्यस अनुसारको उम्मेदवार पनि उठाएका छन् । समाजवादी पार्टीले राजपा नेपाल र नेकपाबाट मत तान्ने सोच बनाएको थियो । 

राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले सुरुमा राष्ट्रिय सभा निर्वाचनमा मतको चलखेल हुने सम्भावना देखिएपनि आयोगले ऐनमा स्पष्ट पारेपछि त्यसमा केही हदसम्म नियन्त्रण हुने बताए ।

‘पहिला कारवाही गर्दा पनि पद नजाने अवस्था थियो । अब पार्टीले कारवाही गरेपछि पद जाने देखिएपछि पार्टीको ह्वीपलाई उल्लघंन गर्ने आँट हुन सक्दैन’, उनले भने ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप