मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ क्यान्सरसँग समेत लड्ने क्षमता भएको चकलेटको कथा

के हो चकलेट ? कसरी बन्छ चकलेट ?
बिहीबार, २४ पुस २०७६, २३ : ५३
बिहीबार, २४ पुस २०७६

 

चकलेट धेरैलाई मन पर्छ । चकलेट भन्नेबित्तिकै गुलियो र मीठो भन्ने बुझिन्छ । तर वास्तवमा चकलेट बनाइने मुख्य पदार्थ आफैं चाहिँ गुलियो हुँदैन । त्यो तीतो तीतो हुन्छ । चकलेट कहको (Cacao (kah KOW) ) वा काेका रुखको फलबाट प्राप्त हुन्छ । कहकोको रुखमा एउटा विशेष किसिमको फल लाग्छ । त्यही फललाई प्रशोधन गरेपछि प्राप्त हुने पाउडरलाई नै चकलेट पाउडर भनिन्छ । सो पाउडरमा गुलियो पदार्थ मिसाएर पछि चकलेट बनाइन्छ ।

https://www.sciencefriday.com

चकलेटको रुख कहकोमा एक वर्षमा फूल फुल्छ । त्यो फूललाई मिडगेज नाम गरेको झिंगाले परागसेचन गर्छ । परागसेचन भनेको बिरुवामा फल लाग्न आवश्यक प्राकृतिक प्रक्रिया हो । त्यो परागसेचनपछि त्यसको हाँगाबिगाहरुमा फल लाग्न थाल्छ ।

चकलेटमा परागसेचन गर्ने झिंगा अचम्मकै हुन्छ । यस झिंगाले एक सेकेण्डमा एकहजार पटकसम्म आफ्नो पखेटा फड्फडाउन सक्छ । संसारमा सबैभन्दा छिटो पखेटा फड्फडाउने जीव नै यही झिंगा हो । अझ रोचक त के छ भने, यो झिंगा अति नै सानो हुन्छ । कतिसम्म भने, यो झिंगा एउटा आलपीनको टाउकोमा सजिलै अटाउन सक्छ ।

कहकोको फलभित्र बदाम आकारका ३० देखि ५० वटासम्म बीउहरु हुन्छ । एउटा कहकोको फलबाट प्राप्त हुने बीउबाट सातवटा मिल्क चकलेट क्यान्डी बार बनाउन पुग्छ ।

https://www.nhm.ac.uk

बच्चा, किशोर तथा युवाहरुले बेसी गरेर चकलेट खान मन पराउने गर्छ । कतिपय पश्चिमी देशका मानिसहरु त चकलेटलाई खानाकै रुपमा पनि लिने गर्छन्ध्र उनीहरु चकलेटलाई चियाजस्तै बनाएर पिउने पनि गर्छ । तर हामीकहाँ चकलेटलाई खानाको रुपमा लिइँदैन । कसै कसैले त चकलेट खाने बानीलाई नै राम्रो मान्दैन । उनीहरुको बिचारमा चकलेट खाँदा दाँतमा कीरा लाग्छ । रगतमा चिनी बढ्छ । शरीर मोटो हुन्छ ।

अध्ययनहरुले के देखाएको छ भने, मिलाएर खाने हो भने चकलेट खाने बानी राम्रो पनि साबित हुन सक्छ । केही समय अगाडि अमेरिकाको न्यूयोर्कस्थिति कोरनेल विश्वविद्यालयका वैज्ञानिकहरुले पत्ता लगाएका छन् – चकलेट बनाइने कहको पाउडरमा क्यान्सरसँग लड्ने विशेष तत्व हुन्छ । त्यसैले चकलेट खाने बानीले क्यान्सरबाट मानिसलाई बचाउन सक्छ । कतिसम्म भने, क्यान्सरसँग लड्ने क्षमता भएका अरु पेय पदार्थहरु ग्रिन टी, ब्लाक टी र रेड वाइनमा भन्दा पनि चकलेट बनाइने कहको पाउडरमा क्यान्सरसँग लड्ने एन्टीअक्सिडेन्ट रसायन (Antioxidants)  बढी भएको कुरा ती वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

त्यसो त क्यान्सरसँग लड्ने क्षमता हुन्छ भन्दैमा जथाभावी चकलेट खाने गर्नुचाहिँ हुँदैन । किनभने, चकलेट खाँदा हामीले कहको पाउडर मात्र हैन, चिनीजस्ता गुलियो पदार्थ र अरु केही रसायनहरु पनि खान पुग्छौं । त्यसैले ठीकसँग चकलेट खाने बानी गर्नु नै राम्रो । ठीक्कसँग चकलेट खानुका साथसाथै एन्टिअक्सिडेन्ट रसायन धेरै पाइने फलफूल र हरियो सागसब्जीहरु सक्दो बेसी खानु नै राम्रो हुने कुरा वैज्ञानिकहरु बताउँछन् ।

Title Photo: https://www.gannett-cdn.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप