शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचनमा नेकपा–राजपालाई क्रस भोटिङको चिन्ता

सोमबार, २८ पुस २०७६, १८ : ५५
सोमबार, २८ पुस २०७६

जनकपुर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई प्रदेश नम्बर २ मा हुन लागेको राष्ट्रियसभा सदस्यको रिक्त पदको निर्वाचनमा क्रस भोटिङको चिन्ताले सताएको छ ।

सोमबार जनकपुर बार एशोसेशनमा भएको नेकपा र राजपाको संयुक्त बैठकमा क्रस भोटिङबारे छलफल भएको हो । बैठकबाट दुवै दलले आ–आफ्ना संयूक्त उम्मेदवारलाई जिताउनका लागि प्रदेश नम्बर २ भित्र रहेका स्थानीय जनप्रतिनिधि र प्रदेशसभा सदस्यहरुको छलफल गरेको छ ।

बैठकमा सहभागी एक नेतृले भनिन् ‘क्रस भोटिङ नभएमा हाम्रो उम्मेदवारको जित सुनिश्चित छ । तर क्रस भोटिङको आशंका देखिएको छ । यसका लागि पार्टी र प्रदेशसभाका संसदीय दलका नेताहरु अहिलेदेखि नै सचेत हुनुपर्ने देखियो ।’

प्रदेशसभा सदस्य समेत रहेकी ती नेतृले काँग्रेस र समाजवादी पार्टीले एक प्रदेशसभा सदस्यका लागि २५ लाख रुपैया नगद दिएर खरिद गर्ने कार्य सुरु गरेको बताइन् । यता  नेकपामा संसदीय दलका नेता सत्यनारायण मण्डलले संयूक्त बैठकमा क्रस भोटिङको निगरानी र मत बदरबारे छलफल भएको बताए ।

मण्डलले  भने, ‘गणतीय हिसाबले हाम्रो संयूक्त उम्मेदवारको जित सुनिश्चित छ । क्रस भोटिङ र बद मदर हुने आशंका भने कायमै रहेको छ । त्यसप्रति सचेत हुनुपर्ने अवस्था छ ।’

त्यस्तै राजपा नेपालका सचेतक परमेश्वर साहले आफ्ना उम्मेदवारको जित सुनिश्चित रहेको जित हुनेमा आफुहरु ढुक्क रहेको बताए । 

उनले जनप्रतिनिधि र प्रदेशसभा सदस्यहरुको बैठकबाट उम्मेदवारहरुलाई एक अर्काले चिन्ने अवसर पाएको र एक अर्कासँग भलाकुसारीले खुला रुपमा कुराहरु राख्ने अवसर समेत पाएकोमा खुसी रहेको बताए ।

नेकपा–राजपाको गठबन्धनमा नेकपाको तर्फबाट राधेश्याम पासवान, तुलसाकुमारी दाहाल र राजपाको तर्फबाट मृगेनद्रकुमार सिंह र शेखरकुमार सिंहले राष्ट्रिय सभा सदस्यको लागि उम्मेदवारी दिएको छ ।

यता आइतबार नेपाली काँग्रेस र समाजवादी पार्टीबीच पनि संयूक्त बैठक भएको थियो । गणितीय हिसाबले प्रदेश नम्बर २ मा नेकपा–राजपा गठबन्धन मजबुत स्थितिमा पनि काँग्रेस र समाजवादी पार्टीले आफ्नो गठबन्धनको उम्मेदवार राष्ट्रियसभा निर्वाचनमा निर्वाचित हुने दाबी गरेका छन् ।

काँग्रेस र समाजवादी पार्टीको बैठकमा नेकपासँगको गठबन्धनप्रति राजपा नेपाल भित्र व्यापक असन्तुष्टि रहेकोले राजपाको मत आफूहरु तर्फ आउने सम्भावना प्रबल रहेको एक नेताले बताए ।

महोत्तरीको बर्दिवासमा भएको काँग्रेस र समाजवादी पार्टीको संयूक्त वैठकमा उपसभापति विमलेन्द्र निधि र समाजवादीका अध्यक्ष उपेन्द्र यादवको समेत सहभागिता रहेको थियो । दुबै दलका प्रदेशसभा सदस्य तथा स्थानीय तहमा दुबै पार्टीबाट प्रतिनिधित्व गर्ने अध्यक्ष, उपाध्यक्ष, मेयर तथा उपमेयर सहभागी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप