शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा सिटौलाको ‘इन्ट्री’ले थानी र बडू ‘आउट’

बुधबार, ०१ माघ २०७६, १७ : ४३
बुधबार, ०१ माघ २०७६

काठमाडौं । नेपाली काँग्रेसमा पछिल्लो समय पैदा भएको आन्तरिक विवाद समाधानका लागि कार्यदल छलफलमा जुटेको छ ।

पार्टी कार्यालय सानेपामा उसभापति विमलेन्द्र निधि र पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाबीच छलफल जारी छ ।

आज अपराह्न ४ बाट सुरु भएको बैठकमा नेतत्रयले आ–आफ्नो पक्षबाट महाधिवेशनको कार्यतालिका अगाडि सारेर छलफल थालेका काँग्रेस पार्टी कार्यालय स्रोतले जनाएको छ । 

सभापति शेरबहादुर देउवा पक्षबाट उभापति निधिले पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकले लिएको निर्णयमाथि सहमति जुटाउन प्रयास गरिरहेका छन् । 

यता वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षबाट सिंहले मंसिरमा महाधिवेशन हुने गरी कार्यतालिका ल्याउनुपर्ने पूर्ववर्ति प्रस्ताव अगाडि सारेका छन् ।

स्रोतका अनुसार सिटौलाले पनि नयाँ प्रस्ताव अघि सारेको बताइए पनि उनको प्रस्तावबारे केही खुलाइएको छैन । देउवा पक्ष केन्द्रीय महाधिवेशनको तालिका यथावत राखेर तल्ला तहका अधिवेशनको तिथि मिति मात्र हेरफेर गर्ने पक्षमा छन् । 

यता क्रियाशील सदस्यताको छानबिन समिति निर्माण गर्न र विधानका दफा निलम्बनको निर्णय सच्याउने कुरामा देउवाले लचकता देखाएको पाइन्छ । 

तर पौडेल पक्ष पुस ११ गते पार्टीको आन्तरिक विषयबारे भएका निर्णय सबै सच्याउनु पर्ने माग गरिरहेको छ । नेतात्रयबीच मंगलबार भएको छलफलमा महाधिवेशनको कार्यतालिमाथि छलफल गर्ने बाहेक अन्य विषयमा

सहमति हुन सकेको थिए । यसअघि सिटौला पक्षलाई बाइपास गर्दै देउवा र पौडेल दुई पक्षीय कार्यदल बनाएका थिए । जसले विवादको निकास दिन नसक्दा देउवाले ११ गतेको केन्द्रीय कार्यसमितिमा पौडेल र सिटौलाको उपस्थिति वेगर निर्णय लिएका थिए ।

उक्त निर्णयबाट पार्टीभित्र थप विग्रह आएपछि यतिबेला काँग्रेसमा तीन पक्षीय वार्ता टोली खडा गरिएको छ । पार्टीका तेस्रो धारको नेतृत्व गर्दै आएका सिटौला निधि–सिंहसँगको वार्तामा आफै सामेल भएका छन् । गत आइतबार साँझ सभापति देउवाको निवास बूढानीलकण्ठमा भएको देउवा, पौडेल र सिटौलाबीचको छलफलले विवाद समाधानको जिम्मा कार्यदललाई दिएको हो । 

कार्यदलमा सिटौला पक्षको पति प्रतिनिधित्व गराउने सहमति भएको छ । यद्यपी यसअघि पौडेल पक्षबाट वार्ता टोलीमा रहेका केन्द्रीय सदस्यद्वय हृदयरामथानी र दिलेन्द्र बडू भने सिटौलाको प्रवेशसँगै ‘आउट’ भएका छन् । 
मंगलबार सानेपामा बसेको नेतात्रयको बैठकमा उनीहरु उपस्थित थिएनन् । बुधबारको बैठकमा पनि उनीहरुको उपस्थिति छैन ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप