मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानले आफ्नो सेना प्रवक्तालाई किन हटायो ?

आइतबार, ०५ माघ २०७६, ०७ : ५०
आइतबार, ०५ माघ २०७६

मेजर जनरल आसिफ गफूरलाई पाकिस्तानी सेनाको प्रवक्ता पदबाट हटाइएको छ । जनरल गफूर पाकिस्तानमा सोसल मिडियामा सेनाका प्रवक्ता रहँदा निकै चर्चित रहे ।

उनको मीम्स बन्थे र कतिपटक त ट्वीटरमा ट्रेन्ड पनि भएका थिए । उनी प्रवक्ताको पदबाट हटेपछि उनको कामको प्रशंसा पनि भयो र आलोचना पनि ।

जनरल गफूरलाई पदबाट अप्रत्याशित रुपमा हटाइएको थिएन तर सोसल मिडियामा पाकिस्तानी टिभी प्रस्तोता सना बुचासँग उनको विवाद निकै चर्चित रह्यो ।

जानुअघि जनरल गफूरको एउटा ट्वीट निकै विवादित भएको थियो । उनले भारतीय अभिनेत्री दीपिका पादुकोणको समर्थनमा एउटा ट्वीट गरेका थिए । दीपिका जेएनयूमा हमलाको विरोधमा आन्दोलन गरिरहेका विद्यार्थीलाई भेट्न गएकी थिइन् । जनरल गफूरले यसैका लागि दीपिकाको तारिफ गरेका थिए ।

यो ट्वीटमा उनको अत्यधिक आलोचना भएपछि उनले यसलाई डिलिट गरेका थिए । जनरल गफूर आफ्नो नीजि अकाउन्टबाट सबै ट्वीट गर्दथे । उनी ट्वीटरमा भारतका अवकाशप्राप्त जनरल र पत्रकारसँग पनि बादविवाद गरिरहन्थे ।

यो हप्ताको सुरुवातमा उनी सना बुचासँग पनि भिडेका थिए । सनाले जनरल गफूरलाई आफ्नो ‘क्लास मेन्टेन’ गरिराख्न सल्लाह दिएकी थिइन् । यी दुईबीचको विवाद पाकिस्तानमा ट्वीटरमा ट्रेन्ड भएको थियो ।

सनाले बीबीसीसँग भनिन्, ‘उनले मेरो परिवार र साथीभाइलाई हाम्रो विवादमा तान्न थालेका थिए । पाकिस्तानमा छानिएको सरकारलाई अपदस्थ गरेर सेनाको सत्तामा कब्जा गरेको लामो इतिहास छ ।’

जनरल गफूर सेनाको प्रवक्ता भएको नाताले सोसल मिडियामा थोरै सतर्क रहून् भन्ने सनाको चाहना थियो । सनाले भनेकी थिइन्, ‘यदि तपाईं सेनाको प्रवक्ताको पदमा हुनुहुन्छ भने आफ्नो नीजि अकाउन्टबाट ट्वीट गर्नुको कुनै अर्थ छैन ।’

सनाको यो धारणामा मानिसहरुको विभिन्न मत छ । सेनाका अवकाशप्राप्त वरिष्ठ अधिकारीले बीबीसीसँगको कुराकानीमा भने, ‘गफूर यदि प्रवक्ता हुन् भने सेनाका प्रवक्ताको रुपमा मात्रै बोल्न सक्छन् । उनले सोसल मिडियामा नीजि धारणा दिनु उचित हुँदैन ।’

उनले भने, ‘यति वरिष्ठ पदमा भएपछि तपाईंको कुनै पनि कुरा नीजि हुँदैन । सेनाका प्रवक्ताको हैसियतले तपाईं हरेक मुद्दामा आफ्नो धारणा व्यक्त गर्न सक्नुहुन्नँ । जबसम्म तपाईंलाई आधिकारिक रुपमा केही भन्नका लागि निर्देशन दिइँदैन तबसम्म तपाईं सोसल मिडियामा जे पनि भन्न सक्नुहुन्नँ ।’

यस्तै, अर्का पूर्व आर्मी जनरल गुललाम मुस्तफाले बीबीसी उर्दूसँग भने, ‘यदि कसैले पाकिस्तानी सेनामा हमला गर्छ भने सोसल मिडियामार्फत् त्यसको बचाउ गर्दा कुनै समस्या छैन । यद्यपि, उनले यी सबै सेनाको प्रवक्ताको रुपमा नै गर्नुपर्छ, नीजि हैसियतले होइन ।’

गत वर्ष भारतको सीमामा तनाव बढ्दा जनरल गफूर ट्वीटरमा अत्यधिक सक्रिय रहे । उनका थुप्रै ट्वीट निकै भड्किलो हुने गर्दथ्यो । उनको ट्वीटको आलोचना पनि भयो । यद्यपि, कतिले प्रशंसा पनि गरे ।

आसिफ गफूर सोसल मिडियाबाहेक आफ्नो पत्रकार सम्मेलनका लागि पनि याद गरिनेछन् । उनी अत्याधुनिक युद्धको कुरा गर्दथे ।  

आबिद हुसैन/ बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप