बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शिवमायाको राजीनामापछि को होला उपसभामुख ?

आइतबार, ०५ माघ २०७६, १५ : १६
आइतबार, ०५ माघ २०७६

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा उम्मेदवारी दिने निश्चित भएसँगै सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ । 

यसअघि नेकपाले सभामुखमा उम्मेदवारी दिने घोषणा गरेपनि उम्मेदवारबारे टुङ्गो लाग्न ढिलाइ हुँदा र उपसभामुख शिवमाया तुम्वाहाङफेले राजीनामा नदिने अडान राख्दा नेकपाले सभामुख पद नै गुमाउनुपर्ने हो कि ? भन्ने आशंका उब्जिएको थियो । 

तर, आइतबार नेकपाका दुई अध्यक्षबीच सभामुखमा नेकपाका अग्नि सापकोटाले उम्मेदवारी दिनेमा सहमति भएपछि उपसभामुख अन्य पार्टीबाट चयन हुने निश्चित भएको हो । उपसभामुखमा नेकपाले जुन पार्टीको उम्मेदवारलाई समर्थन गर्छ उसैको हुने पक्कापक्की जस्तै छ । प्रतिनिधि सभामा नेकपाको स्पस्ट बहुमत छ । 

संविधानमा फरक पार्टी र फरक लिङ्गको व्यक्ति सभामुख र उपसभामुख हुनुपर्ने प्रावधान छ । तर नेकपाले उपसभामुखमा कसलाई सघाउने भन्ने खुलाइसकेको छैन । 

नेकपा उच्च स्रोतका अनुसार प्रदेश २ को राष्ट्रिय सभा निर्वाचनमा राजपा नेपालसँग सहकार्य गरेकाले उपसभामुखमा पनि नेकपाले राजपाका उम्मेदवारलाई सघाउने लगभग पक्का जस्तै छ । तर यसबारे नेकपाले आधिकारिक निर्णय भने गरिसको छैन । यसअघि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच उपसभामुख अन्य पार्टीलाई प्रस्ताव गर्ने सहमति भएको थियो । नेकपाका स्थायी समिति सदस्य देव गुरुङले उपसभामुखबारे आजै बस्ने सचिवालयले निर्णय गर्ने सम्भावना रहेको बताए । 

यसैवीच हाल उपसभामुख रहेकी डा. शिवमाया तुम्हाङफेले सोमबार राजीनामा गर्ने भएकी छन् । उनले सोमबार बस्ने प्रतिनिधि सभाको बैठकअघि संसदको जेष्ठ सदस्यलाई राजीनामा बुझाउने तयारी गरेकी हुन् । उनले यसअघि पार्टीले सभामुखको टुङ्गो लगाएपछि आफू राजीनामा दिन तयार रहेको बताउँदै आएकी थिइन् ।

बालुवाटारमा शिवमाया 
दुई अध्यक्षबीच आइतबार बिहान सभामुखमा सहमति भएपछि उपसभामुख शिवामाय तुम्वाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीले बालुवाटार बोलाएपछि तुम्बाहाङफे केहीबेर अघि सिंहदरवारबाट बालुवाटारतर्फ प्रस्थान गरेकी छन् । 

बालुवाटारमा तुम्बहाङ्फेले आफ्नो राजीनामाबारे प्रधानमन्त्रीसँग छलफल र आफूले राजीनामा दिएपछि संसद सञ्चालनबारे कुराकानी गर्ने बुझिएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप