शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सभामुखमा सापकोटालाई काँग्रेस संसदीय दलको साथ, पार्टीभित्रबाट चर्को विरोध

उपसभामुखमा नेकपासँग सहमतिको प्रयास जारी !
सोमबार, ०६ माघ २०७६, १२ : ३८
सोमबार, ०६ माघ २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभामुखमा उम्मेदवारी नदिने मनसायमा देखिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवारमा अग्नि सापकोटालाई अगाडि सारेको छ । सापकोटाको प्रतिद्वन्द्वीका रूपमा काँग्रेसले उम्मेदवारी नदिने भएको हो । 

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘सभामुख र उपसभामुख दुईवटा फरक दलको र फरक लिङ्गको हुनुपर्छ । सत्तारुढ नेकपाले सभामुखमा उम्मेदवारी दियो भने उपसभामुखमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले उम्मेदवारी दिँदा सहज हुन्छ ।’

सभामुख र उपसभामुखमा एउटै पार्टीबाट उम्मेदवारी दिन नमिल्ने संवैधानिक प्रावधान अनुसार काँग्रेसले उपसभामुखमा उम्मेदवारी दिने उनले बताए । यद्यपि संसदीय दलले ठोस निर्णय भने लिई नसकेको उनको भनाइ थियो । 

स्रोतका अनुसार चित्रलेखा यादवलाई उपसभामुखका रूपमा काँग्रेसले उम्मेदवार बनाउने तयारी गरेको छ ।

 प्रमुख सचेतक खाँणले भने, ‘सदनका पहिलो र दोस्रो पार्टीले सभामुख र उपसभामुखमा दाबी गर्दा सहज हुन्छ । सहमतिको वातावरण बन्यो भने संविधानको स्प्रिडको पनि पालना हुन्छ ।’ 

पछिल्लो पटक नेकपाका अध्यक्षद्वयसँग काँग्रेस संसदीय दलका नेताबीच निरन्तर संवाद हुँदा सहमति वातावरण बनेको हो ? भन्ने प्रश्नमा उनले भने, ‘काँग्रेस सदैव सहमतिको पक्षमा छ । त्यहीअनुसार नेकपासँग सहमतिको प्रयास पनि भइरहेको छ । आज निर्वाचन प्रक्रिया अगाडि बढेपछि त्यसले आकार लेला ।’ 

सापकोटाको उम्मेदवारीप्रति पार्टीमा विरोध, संसदीय दलको साथ
तर पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णयप्रति प्रश्न उठाएका छन् ।

‘संसदलाई नै बन्धक बनाएर सभामुख चयनका लागि जुट्नुभएका नेकपा अध्यक्षद्वयले आज सफलता पाउनुभयो । तत्कालको गतिरोध त हल भयो तर अदालतको मुद्दा बिर्सिनुभएको छैन भने विधिको शासन चाहिँ के भयो ?,’ शर्माको प्रश्न छ ।

 सापकोटाविरुद्ध सर्वोच्च अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा विचाराधीन छ । उक्त विषयमा उनले भने, ‘सत्य निरुपणको टेबुलमा थियो त अलग कुरा, अन्यथा अदालतमा विचाराधीन मुद्दामा के उन्मुक्ति दिने अधिकार राख्ने थलो हुन् राजनीतिक दल या संसद ?’

दल वा सरकारको नेतृत्वभन्दा ‘संसद’ को नेतृत्व फरक गरिमा, शालीनता र सन्तुलनको संस्कारगत छविसमेत अनुभूति हुनुपर्ने जिम्मेवारी रहेको उनको भनाइ छ । 

‘राजनीतिमा अनेक पात्र र प्रवृत्ति हुन्छन् । कुन पदमा कस्तो पात्र ? छनोट उचित भएन भने त्यो पदको गरिमा त धरापमा पर्छ नै राजनीतिप्रति नै थप वितृष्णा बढ्छ,’ उनले भने, ‘श्री पशुपतिनाथले बहुमतधारी नेकपालाई सत्बुद्धि प्रदान गरून् ।’

शर्माको जस्तै काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले पनि प्रश्न उठाएका छन् । 

गुरुङले ट्वीटरमा लेखेका छन्, ‘माननीय अग्नि सापकोटालाई बधाई ज्ञापन गर्दै काभ्रेका अर्जुन लामाको आत्मको चिर शान्तिको कामना गर्दछु । न्याय हराएको मेरो देश !’

सापकोटाको उम्मेदवारीबारे संसदीय दलका सचेतक खाँणको धारणा भने फरक छ । 

उनले भने, ‘उहाँ (सापकोटा) प्रतिनिधि सभाको सदस्य हुनुहुन्छ । प्रतिनिधि सभाको सदस्यबाट सभामुख र उपसभामुख बन्ने हो । जुन अवधारणाका आधारमा प्रतिनिधि सभाको सदस्य बन्न मिल्छ, त्यो अवस्थामा सभामुख पनि बन्न मिल्छ । प्रतिनिधिसभा बाहिरबाट ल्याउन मिल्दैन ।’ 

कुनै व्यक्तिप्रति आरोप प्रत्यारोप छ भने सम्बन्धित व्यक्तिले त्यसबारे प्रस्ट पार्नुपर्ने उनको भनाइ छ ।

साथै उनले कुनै पार्टीले आफ्नो उम्मेदवारी दिन्छ भने त्यो उनीहरुको विषय भएकाले यसबारे अनावश्यक टिप्पणी गर्न उचित नहुने बताए । 

न्यायपालिकाले लिएको निर्णयलाई सबैले सहज रूपमा लिनुपर्ने भन्दै सापकोटाको विपक्षमा निर्णय भए मार्गप्रशस्त गर्न तयार हुनेपर्ने बताए ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेका भन्दै तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै लामाकी श्रीमती पूर्णिमायाले २०६९ मङ्सिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् । उक्त मुद्दाको सुनुवाइ आगामी माघ २२ गतेका लागि तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप