विहीबार, २६ माघ २०७९
ताजा लोकप्रिय

अपाङ्गता भएका व्यक्तिलाई भत्ता अपुग

सोमबार, ०६ माघ २०७६, १७ : ४७
सोमबार, ०६ माघ २०७६

–मानदत्त रावल
 जुम्ला । माघ महिनाको चिसो सिरेटो । बिहानीको झुल्के घामसँगै घरको आँगनमा आमाको सहारामा ह्विलचेयरमा निस्कनु हुन्छ हरिचन्द्र रावल । खलाचौरस्थित कर्णाली राजमार्गको छेउमा उनको घर छ । घरदेखि वरपर जान नसक्ने भएपछि दुई वर्षदेखि उनले घरको आँगनमै दिन बिताइरहेका छन् । कर्णाली राजमार्गमा गुड्ने सवारी साधन र आवत जावत गर्ने मान्छे हेर्दै उनको दैनिकी बित्ने गर्दछ ।

चन्दननाथ नपा–७ खलाचौरका २४ वर्षीय रावल पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँ जन्मजात अपाङ्गता भएका व्यक्ति भने होइनन् । विसं २०७४ फागुन २८ गते आफैंले चलाएको ट्र्याक्टर दुर्घटना हुँदा मेरुदण्ड भाँचिएपछि उहाँ पूर्ण अशक्त अपाङ्ग भएका हुन् । ‘गरिबीका कारण सानोमा पढ्न लेख्न पाइनँ,’ उनले भने– ‘पछि ठूलो भएपछि जीविकोपार्जनका लागि ट्र्याक्टरको खलासी भएर काम गरें । केही समय खलासीमा काम गरेपछि आफैं ट्र्याक्टर चलाउने भएँ । ट्र्याक्टर चलाउने क्रममै दुर्घटना भएपछि अहिले यो हालत भयो ।’
 
दुर्घटनापछि उनको जीवन केही समय अस्पतालमा बित्यो । उपचारमा करीब पचास लाख रुपियाँ खर्च भयो । सञ्चो भएन । अहिले ह्विलचेयरको सहारामा जीवन बिताइरहेका छन् । शुरुमा जुम्ला अस्पताल, त्यसपछि नेपालगञ्ज हुँदै भारतको लखनऊ पुगेका रावलको घरखेत गयो तर जिन्दगी फर्किएन । 

उनको जीवनमा अर्को पीडा थपियो । दुर्घटनापछि रावलको पत्नीले घर छोडिन् । अहिले चार वर्षकी एक छोरी साथमा छन् । उनको लालनपालन ४७ वर्षीया आमा कर्मकली रावलले गरिरहेकी छिन् । रावलले भने– ‘अहिले त आमा हुनुहुन्छ । आमाले दुःख गरी पालनपोषण गरिरहनुभएको छ तर, भोलि आमाको ज्यान तलमाथि भए के गरौँला ?’ छोरीको भविष्य के हुने हो भन्ने चिन्ताले उनलाई पिरोल्छ । ‘विद्यालय पठाउन सकिएको छैन,’ उनले भने– ‘आफ्नो भविष्य त यस्तै भइसक्यो । छोरीको भविष्य बनाउने उपाय छैन मरौं भने काल आउँदैन बाँचौ भने बाँच्ने आधार छैन ।’

कहिलेकाहीँ आमाभन्दा अगाडि मर्न पाए हुन्थ्यो जस्तो लाग्छ उनलाई । यस्तै यस्तो मनका कुण्ठाले रातमा निद्रा, दिनमा भोक लाग्दैन उनलाई । ‘अरु दाजुभाइ पनि छन्,’ उनले भने– ‘आमाको माया जस्तो कहाँ होला र १ उनीहरुका पनि घर परिवार छन् । आफ्नो घर परिवारको हेरचाह गर्लान् कि मेरो ?’ 

अहिले उनको परिवारलाई सरकारले दिएको अपाङ्गता परिचयपत्र सहारा भएको छ । पछिल्लो समयमा सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालेपछि यो नै जीवनयापनको माध्यम हुन थालेको छ । मासिक तीन हजार रुपैयाँ आउने सामाजिक सुरक्षा भत्ताबाट घर व्यवहार सञ्चालन भइरहेको रावलकी आमा कर्मकलीले जानकारी दिइन् । उनका अनुसार छोरा रावलको उपचारका लागि घर घडेरी ऋणमा छ । सरकारले दिएको तीन हजार रुपैयाँ आजभोलि नून तेलको सहारा भएको छ ।

रावल दिसा पिसाब तर्काउन पनि सक्दैनन् । पाइपमार्फत पिसाब र पञ्जा लगाएर दिसा गराउनुपर्ने हुन्छ तर, त्यही पञ्जा खरिद गर्न पैसा नहुँदा कर्मकलीलाई भौंतारिनुपर्छ । उनी मात्रै हैन, चन्दननाथ नपा–९ का १८ वर्षीय पशुपति शाही पनि पूरै शरीर नचल्ने पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति हुन् । उनको घर परिवारको आम्दानीको माध्यम अरु केही छैन । सरकारले उपलब्ध गराएको रातो परिचयपत्र नै घर परिवारको बाँच्ने सहारा भएको छ ।

सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता अपाङ्गता भएका व्यक्तिहरु, ज्येष्ठ नागरिक र बालबालिकाहरुका लागि भरपर्दो आधार हुन थालेको छ । हरिश्चन्द्र र पशुपति एक नमूनाका पात्र हुन् ।
सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताले परिवारको गुजारा चल्ने भएकाले सरकार अभिभावक जस्तै लाग्ने गरेको चन्दननाथ नपा–५ कालेखोलीका पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति ३७ वर्षीय मोहन शाही बताउँछन  । उनी पनि रातोकार्ड प्राप्त पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति हुन् ।

सरकारले अहिले पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई मासिक ३ हजार रुपैयाँ र अति अशक्त अपाङगता भएका व्यक्तिलाई एक हजार २०० रूपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ ।

अपाङ्ग पुनःस्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालका अनुसार पूर्ण अशक्तका लागि सरकारले जति गरेको छ त्यो राम्रो छ तर, परिवारका एक सदस्यले पूरै समय दिनुपर्ने भएकाले कर्मचारीलाई दिइने तलब बराबरको रकम दिन आवश्यक छ ।

राज्यले अपाङ्गतामैत्री नीति तथा कार्यक्रम ल्याएपनि कार्यन्वयनमा नआउँदा शिक्षाको पहुँचबाट यस्ता व्यक्तिहरु बाहिर रहनुपरेको छ । उनले भने– ‘यहाँको प्राकृतिक भूगोल अपाङ्गता मैत्री त छैन तर, मानव निर्मित भौतिक संरचना अपाङ्गता मैत्री नहुँदा हरेक सेवा सुविधादेखि शिक्षा आर्जनबाट समेत वञ्चित हुनुपरेको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप