बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विमलेन्द्र–उपेन्द्रको रणनीति फेल : प्रदेश २ मा नेकपा–राजपा गठबन्धनलाई पूर्ण सफलता

बिहीबार, ०९ माघ २०७६, २० : ०८
बिहीबार, ०९ माघ २०७६

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि  प्रदेश २ भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीचको गठनबन्धनलाई पूर्ण सफलता मिलेको छ । नेकपा– राजपालाई क्रस भोटिङको भय थियो ।

प्रदेश २ मा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र समाजवादी दलबीचको तालमेलले नेकपा–राजपाका नेताहरु  ढुक्क हुन सकेका थिएनन् ।उनीहरुको मुटुको धड्कन बढाउने गरी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र काँग्रेस उपसभापति विमलेन्द्र निधि आन्तरिक रणनीतिमा जुटेका थिए ।

यादवले त नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजपा अध्यक्ष मण्डलका सदस्य तथा संसदीय दलका नेता महन्थ ठाकुरसँग गोप्य वार्तासमेत समेत गरेका थिए । यता निधिले प्रदेश दुई मा केन्द्रित रहेर चलखेलको प्रयास थाले ।

जसले नेकपा–राजपा गठबन्धनका योजनाकार प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओली र राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई पनि क्रस भोटिङको चिन्ताले पिरोलेको देखिन्थ्यो ।

जसका कारण राजपाले त आफ्ना मतदातालाई ह्विप समेत जारी गरेको थियो । नेकपा–राजपाको निगरानीसामु काँग्रेस र समाजवादीको चलखेल फेल खायो । निधि पार्टीको आन्तरिक विवादमाथिको संवाद थाँती राखेर प्रदेश २ मा राष्ट्रियसभा उम्मेदावरलाई जिताउने मिशनमा जुटेका थिए ।

 नेकपा–राजपा आफ्नो मत सुरक्षित राख्ने प्रयत्नमा थियो भने काँग्रेस– समाजवादी मतदाता खोस्ने दाउमा थियो  । किनकि नेकपा–राजपा गठबन्धनमा बहुमत रहे पनि काँग्रेस–समाजवादी गठबन्धनसँग फराकिलो मतान्तर थिएन ।

प्रदेश २ मा १ सय ७ जना प्रदेशसभा सदस्य छन् । जसमा नेकपाका ३२ र राजपाका २५ गरी उक्त गठबन्धनसँग ५७ जना छन् । स्थानीय तहका २ सय ७२ मतदातामा नेकपाका ८३ र राजपाका ५४ गरी नेकपा–राजपा गठबन्धनमा १ सय ३७ मतदाता छन् । 

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ छ । त्यसअनुसार नेकपा–राजपासँग कुल मत ५ हजार २ सय २ छ । यता प्रदेशसभामा काँग्रेस–समाजवादी पार्टी गठबन्धनको संख्या नेकपा–राजपाभन्दा ८ ले कम छ ।

काँग्रेसको १९ र समाजवादीका ३० जना सदस्य जोड्दा प्रदेशसभामा उनीहरूसँग ४९ जना मतदाता छन् । स्थानीय तहमा काँग्रेसका ८१ र समाजवादीका ५२ गरेर १ सय ३३ जना मतदाता छन् । 

नेकपा–राजपाभन्दा ४ जना मतदाता मात्रै कम छन् । मतदाता संख्यामा थोरैले मात्र अन्तर रहेकाले काँग्रेस–समाजवादी क्रस भोटिङका लागि भरथेग प्रयास गरे । प्रदेशगत रूपमा हुने राष्ट्रिय सभा चुनावमा प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता भएकाले त्यो कुरा सम्भव भएन ।

साथै दुबै गठबन्धनबीच प्रतिष्ठाको लाडईँ बनेको थियो । अन्य प्रदेशमा नेकपाको सहज बहुमत थियो । प्रदेश २ मा सहज नभएपछि उसले राजपासँग गठबन्धन गरेको हो । केन्द्रमा समाजवादी पार्टी सत्तामा सँगै रहेकै बेला नेकपाले राजपासित गठबन्धन बनाएको हो । पछि सरकारबाट बाहिरिएको समाजवादीले काँग्रेससँग गठबन्धन गरको थियो । तर, मत परिणाम नेकपा– राजपा गठबन्धनले कै पक्षमा आयो ।

नेकपाबाट राधेश्याम पासवान र तुलसा दाहाल, तथा राजपाबाट  शेखर सिंह र मृगेन्द्रसिंह यादवले राष्ट्रियसभा सदस्यमा बाजी मारे । जसले नेकपा– र राजपाबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्य अघि बढाउने भन्ने विषयमा सहमतिलाई थप बलियो बनाएको छ ।

यता सरकारलाई दिएकको समर्थन फिर्ता दिएको राजपा फेरि सरकारसँग जोडने तयारीमा लागेको देखिन्छ । उपसभामुख साथ खोजेको र सरकारमा सहभागी हुने मनसायमा देखिएको राजपालाई यो मत परिणामले नेकपासँगको थप यहयात्राका लागि सहज बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप