शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा तेस्रो लिंगीलाई व्यवहारिक सीप, १६ जना सहभागी

शनिबार, १८ माघ २०७६, १५ : १०
शनिबार, १८ माघ २०७६

बुटवल । साधारणतया तेस्रो लिंगीहरुलाई हाम्रो समाजमा अझै पनि त्यति राम्रो दृष्टिकोणले हेरिदैन । उनीहरुले गर्ने क्रियाकलाप धेरैलाई अलि फरकजस्तै लाग्छ । जब हेर्ने दृष्टिकोण नै फरक हुन्छ, स्वाभाविक रुपमा त्यो समुदाय पछाडि पर्ने नै भयो ।

यस्तै दृष्टिकोणका कारण पछि परेका तेस्रो लिंगीहरुलाई मुलधारमा ल्याउने प्रयासस्वरुप बुटवल उपमहानगरपालिकाले व्यवहारिक सीप सिकाउँदैछ । त्यो पनि फेसन डिजाइनर तालिम ।

बुटवलमा फेसन डिजाइनजर सम्बन्धी तालिममा १६ जना तेस्रो लिंगी सहभागी छन् । यानिक रानाको नेतृत्वमा १६ जनाले पहिलो चरणको फेसन डिजाइन तालिम लिन थालेका हुन् । लिंगका आधारमा हुने विभेद र आर्थिक विपन्नताका विषयलाई संवेदनशील रुपमा लिदैँ बुटवल नगरप्रमुखले नै सीपमुलक तालिमको व्यवस्थापन मिलाएको तेस्रो लिंगीका अगुवा रानाले बताए ।

नगरले अरु के गर्दै छ ?
बुटवल उपमहानरगपालिकाले महिलाहरुलाई उद्यमी, स्वावलम्बी र कामकाजी बनाउन विशेष अभियान सुरु गरेको छ । महिला आर्थिक सशक्तिकरण उद्यमशील विकास परियोजना शीर्षकको कार्यक्रममार्फत यहाँका महिलाहरुलाई उद्यमशील र आत्मनिर्भर बनाउने उपमहानगरको लक्ष्य छ ।

तलिम लिइरहेका र तयारीमा रहेका महिलाहरु, प्रशिक्षक, व्यवस्थापकहरुलाई उपमहानगरको सभाहलमा भेला गरेर अभिमुखीकरणसमेत गराइएको छ । सोही अवसरमा उपमहानगर प्रमुख शिवराज सुवेदीले लैंगिक समता, प्रजनन स्वास्थ्य, जीवनोपयोगी शिक्षा तथा पुगीसरी सम्पन्नता र संस्थागत सहभागिताका लागि व्यवहारिक तालिमहरु सञ्चालन गरिएको उल्लेख गरे । महिला आर्थिक सशक्तिकरण उद्यमशील विकास परियोजना त्यसैको एउटा रुप रहेको उनको भनाइ छ ।

बुटवलका उत्पीडित तथा भान्छामा सीमित रहन बाध्य पारिएका महिलालाई जनचेतनामुलक कार्यक्रमसँगै सीप विकास र आयआर्जनमुलक काम सिकाइने उनले बताए । लैंगिक विभेदको अन्त्य, समाजमा व्याप्त कुरितिहरु (जस्तैः दाइजो, बोक्सी, छाउपडी, जातीय विभेद, बालविवाह, बहुविवाह, अनमेल विवाह) का विरुद्ध समुदायसँगको सहकार्यमा उपमहानगरका उपप्रमुखको संयोजकत्वमा लैंगिक हिंसामुक्त नगर घोषणाका लागि विशेष अभियान सञ्चालन भइरहेको छ ।

लैङ्गिक समानता ल्याउने, समावेशीकरणको भावना बढाउने, कुरीतिजन्य परम्परा अन्त्य गर्नका लागि तीनै तहका सरकार, निजी क्षेत्र र नागरिक समाजको सहकार्यमा कार्यक्रमहरु अगाडि बढाइएको उपप्रमुख तथा न्यायिक समितिका संयोजक गोमदेवी आचार्यले बताईन् । बुटवल टेक्निकल इन्ष्टिच्यूटका कार्यकारी निर्देशक प्रधुम्नलाल (पीएल) श्रेष्ठले उपमहानरगरपालिका र यूएनडीपीले सञ्चालन गरेको तालिमलाई बीटीआइमार्फत व्यवस्थापन गर्नेे बताए ।

फेसन डिजाइनरदेखि टायलमार्बल जडानसम्मका तालिम
बुटवल उपमहानगरले महिलाहरुका लागि पहिलो चरणमा विभिन्न १२ प्रकारका विषयमा तालिम सञ्चालन गरेको छ । यसलाई मेयर युवा इलम कार्यक्रमपछिको अर्को नमुना र उदाहरणीय कार्यक्रम मानिएको छ ।
बुटवलमा जारी मेयर युवा इलम कार्यक्रम मुलुककै नमुना मानिन्छ । सोही कार्यक्रमबाट प्रभावित भएर विभिन्न स्थानीय तहले यसखालका तालिम सञ्चालनमा सहकार्य गर्न प्रस्ताव गरेका छन् । केही तालिम सुरु भइसकेका छन् भने केहीको तयारी अन्तिम चरणमा पुगेको छ ।

पहिलो चरणमा सुरु भएको तालिममा टूरिजम तथा हस्पिटालिटी, गार्मेन्ट कटिङ मास्टर, इलेक्ट्रिकल, ढाका कपडा बुनाई, कफीका परिकार बनाउने, हेयर कटिङ तथा श्रृंगार, फेसन डिजाईन तथा बारिष्टाजस्ता विषयलाई समावेश गरिएको छ । गत कात्तिक र पुसमा यसखालका सीपमुलक तालिम खुलाइएको थियो भने अहिले चलिरहेका तालिमहरु माघ अन्तिमदेखि आगामी चैत १४ गतेसम्म सकिनेछन् । लगत्तै अर्को चरणका तालिम सुरु हुने जनाइएको छ ।  

उपमहानगरले यहाँको प्रतिष्ठित संस्था बुटवल टेक्निकल इन्ष्टिच्युटको व्यवस्थापनमा सुरु गरेको यो परियोजनामा बुटवल उपमहानगरपालिकासंगै राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को आर्थिक साझेदारी छ । बुटवल उपमहानगरले ६४ लाख र यूएनडीपीले ६७ लाख गरि यो परियोजनाका लागि कुल एक करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

टायल्स–मार्बल जडान पनि सिकाइने
बुटवलसहित मुलुकभरमै मार्वलजन्य सामग्रीको प्रयोग र माग अत्यधिक छ । तर, यी सामग्रीको जडान गर्ने कामदारको अभाव छ । मार्वल र टायल जडानका लागि महिलाहरुसमेत सक्षम हुन सक्ने भन्दै बुटवल उपमहानगरले महिलाहरुकै लागि यसखालको तालिम सञ्चालन गर्न लागेको छ ।
योसँगै डेरी तथा दुग्धप्रशोधन, नर्सरी तथा बगैंचा निर्माण र इलेक्ट्रोमेकानिकल तालिम पनि सञ्चालन हुँदैछ । यी विषयमा तालिम लिन आवेदन दिएकामध्येबाट पहिलो चरणमा ७० जना महिला छनौट भएको बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत एवं महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप