शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा बैठकमा देखियो एमाले र माओवादीको धङधङ्गी, बैठक हल हाँसोले गुञ्जायमान

शनिबार, १८ माघ २०७६, २२ : २०
शनिबार, १८ माघ २०७६

काठमाडौँ । बुधबारदेखि सुरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक जारी रहेको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक र महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल भएका छन् । शनिबारसम्म १५ वटै समूहमा छलफल भइ टोली नेताले आ–आफ्नो रिपोर्ट प्रस्तुत गरिसकेका छन् । अब आइतबारको बैठकमा अध्यक्ष र महासचिवले छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् । 

लामो समयपछि भएको केन्द्रीय समिति बैठकमा केही रोचक दृश्य पनि देखिए । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाको एकीकृत केन्द्रीय समितिका नेताहरुले नै तत्कालीन पार्टीकै हैसियतमा प्रस्तुत हुँदा बैठकको माहोल रोचक र हाँसोले गुञ्जायमान समेत बन्यो । 

शनिबारको बैठकमा नेकपा केन्द्रीय सदस्य तथा टोली नम्बर १२ की नेतृ रेनु दाहालले आफ्नो रिपोर्ट प्रस्तुत गर्ने क्रममा ‘हाम्रो पार्टी नेकपा माओवादी’ भनेपछि बैठकमा हाँसोको फोहरा छुटेको थियो । 

यस्तै अनुशासन आयोगका अध्यक्ष अमृत बोहरापनि त्यसैगरी चिप्लिए । उनले ‘हाम्रो पार्टी एमाले’ मा अनुशासन छैन भन्दै आफ्नो धारणा राखेका थिए । 

पार्टी एकता भएको दुई वर्ष पुग्न लाग्दा समेत नेताहरुले तत्कालीन पार्टीकै नाम लिने अवस्था रहेको भन्दै कतिपय नेताहरुले अझैपनि भावनात्मक रुपमा एकता हुन नसक्नेको रुपमा टिप्पणी गरेका छन् । नेकपाका एक नेताले पार्टीका गतिविधि शून्य हुनु र भावनात्मक रुपमा एकता हुन नसक्दा अझै पनि समस्याहरु देखा परिरहेको प्रतिक्रिया दिए । 

हुन त नेकपा केन्द्रीय कमिटी बैठकको उद्घाटनसत्रमा बोल्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले अझै भुलेर बेलाबेला पुरानै पार्टीको नाम लिने समस्या रहेको बताएका थिए । उनले आफूले सम्बोधनका क्रममा झुक्किएर अझैपनि एमालेकै नेताको रुपमा बोल्ने गरेको भन्दै यो केन्द्रीय समितिको बैठकले पार्टी एकतालाई भावनात्मक रुपमा बाँध्ने विश्वास लिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप