माछापुच्छ्रे बैंकको नाफा ८२ करोड, सञ्चालन खर्च बढ्दा वृद्धिदर खुम्चियो
काठमाडौं । माछापुच्छ्रे बैंकले पुस मसान्तसम्म महिनामा ८२ करोड रुपैंया नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले ८२ करोड १८ लाख रुपैंया खुद नाफा कमाएको हो । माछापुच्छ्रेको यो नाफा अघिल्लो वर्षको सोही समयमा कमाएको नाफाभन्दा ५.१८ प्रतिशत बढी हो । अघिल्लो वर्ष सो बैंकको नाफा ७८ करोड १३ लाख रुपैंया थियो ।
बैंकले पुस मसान्तसम्ममा ९७ अर्ब ५२ करोड रुपैंया निक्षेप संकलन गरी ८७ अर्ब ५४ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा क्रमशः १२÷१२ अर्बले बढी हो । अघिल्लो वर्षको सोही समयमा बैंकको निक्षेप करिब ८५ अर्ब १९ करोड र कर्जा ७५ अर्ब ९ करोड रुपैंया थियो ।
पुस मसान्तसम्म बैंकको जगेडा कोष २ अर्ब ५ करोड रुपैंया छ । यो कोष अघिल्लो वर्षको तुलनामा करिब २० करोड रुपैंयाले बढी हो । यो वर्ष ५ प्रतिशत बोनस शेयर जारी गरेको बैंकले आफ्नो चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा ४० करोडले बढाएर ८ अर्ब ४५ लाख रुपैंया पुर्याउँदा अघिल्लो वर्षको नबाँडिएको नाफा ६१ करोड रुपैंया रहेको देखिएको छ ।
माछापुच्छ्रे बैंकले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा वृद्धि गरेको छ । ब्याज आम्दानी ४ अर्ब ८१ करोडबाट बढेर ५ अर्ब ६८ करोड पुग्दा ब्याज खर्च ३ अर्ब ११ करोडबाट ३ अर्ब ६९ करोड रुपैंया पुगेको बैंकले जनाएको छ । ६ महिनामा बैंकको कर्मचारी खर्च अघिल्लो वर्ष ६१ करोड २२ लाख रहेकोमा यो वर्ष ८१ करोड ८३ लाख पुगेको हो । अन्य सञ्चालन खर्च करिब १२ करोड बढेर ४० करोड पुगेको छ ।
पुस मसान्तसम्म सो बैंकको पुँजी पर्याप्तता अनुपात १३.४८ प्रतिशत छ । निष्क्रिय कर्जा अनुपातलाई ०.४४ प्रतिशतबाट ०.४५ प्रतिशतमा पुगेको छ । बैंकको यो वर्ष कस्ट अफ फण्ड केही घट्दा बेसरेटमा पनि सामान्य सुधार देखिएको छ । पुस मसान्तसम्म सो बैंकको कस्ट अफ फण्ड ७.६४ प्रतिशत र बेसरेट १०.२६ प्रतिशत छ । अघिल्लो वर्ष कस्ट अफ फण्ड ७.९८ प्रतिशत बेसरेट १०.९९ प्रतिशत थियो । बेसरेटमा कस्ट अफ फण्डका अतिरिक्त सीआरआरको लागत, एसएलआरको लागत र सञ्चालन खर्च जोड्न पाउने राष्ट्र बैंकको प्रावधान छ । बैंकको निक्षेपमा दिने औसत ब्याज र कर्जामा लिने औसत ब्याजदरको अन्तर भने ५.२४ प्रतिशत छ । यो अनुपातलाई ६ महिनाभित्र ४.४० प्रतिशतमा ल्याउनुपर्छ ।
बैंकले बचत खातामा ४ प्रतिशतदेखि ६ प्रतिशत र मुद्दति खातामा ८.५ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । कर्जाको ब्याजदर भने बेसरेटमा ६ प्रतिशतसम्म थप गरेर लिनेगरी पछिल्लो ब्याजदर निर्धारण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन