बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपाको संगठन विभागमा भीम रावलको ‘इन्ट्री’

मङ्गलबार, २१ माघ २०७६, १८ : ०८
मङ्गलबार, २१ माघ २०७६

काठमाडौ । वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संगठन विभागमा १० जना सदस्य थपिएका छन् । जसमा नेकपाभित्र प्रतिपक्षका रुपमा चिनिएका तथा खरो शैलीमा उत्रने स्थायी समिति सदस्य भीम रावल पनि परेका छन् । 

यसअघि रावलले आफूलाई कुनै जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । रावल नेकपा सुदूरपश्चिम प्रदेशका इन्चार्ज हुन् । 

नयाँ सदस्यहरु थपिएलगत्तै सोमबार बसेको विभागको बैठकले महाधिवेशन लक्षित कार्ययोजना तयार गरेको छ । 

महाधिवेशनको मिति तय भैसकेकाले त्यसलाई आधार बनाएर विभागले आफ्नो कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । 

‘महाधिवेशनको मिति तोकिसकेको अवस्थामा जटिल काम बनेको सदस्यता व्यवस्थित गर्ने काम चुनौतीपूर्ण छ । त्यसलाई व्यवस्थित गर्ने दिशामा अघि बढ्ने निर्णय भएको छ’ शाक्यको भनाइ छ । 

पछिल्लो पटक संगठन विभागमा १० जना सदस्यहरु थपिएपनि पूर्णता भने अझै भएको छैन । नेकपाको पार्टी नियमावलीअनुसार विभागहरू पूर्ण हुन ३५ सदस्य रहनुपर्नेछ । 

नेकपाको यो विभागका प्रमुख वामदेव गौतम हुन् । आइतबार बसेको सचिवालय बैठकमा विभाग प्रमुख गौतमले सिफारिस गरेका नामहरुलाई अनुमोदन गरेको हो । 

तेस्रो पटक संगठन विभागमा थपिएका सदस्यहरुमा भीम रावल, भीम आचार्य, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, मातृका यादव, सत्यनारायण मण्डल, खगराज भट्ट, सुदन राई, जगप्रसाद शर्मा र रेखा शर्मा छन् । पोखरेल प्रदेश ५ र सुब्बा गण्डकी प्रदेशका मुख्यमन्त्री समेत हुन् ।

गत साउन ३ गते बसेको सचिवालय बैठकले संगठन विभागमा बामदेव गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुख तोकेको थियो भने असोज २९ गते अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी थपिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप