शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमसीसी परियोजना निर्माणका लागि सरकारले जारी गर्‍यो जग्गा अधिग्रहणको सूचना

बुधबार, २२ माघ २०७६, ११ : ५१
बुधबार, २२ माघ २०७६

मिलेनियम च्यालेञ्ज कर्पोरेशन अर्थात् एमसीसी परियोजना निर्माणका लागि नेपाल सरकारले जग्गा अधिग्रहणको सूचना प्रकाशन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले साविकको रातमाटे गाविस वडा नम्बर ६ र ९ तथा हालको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा रहेको करिब ३ सय ८५ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन गरेको हो ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशनसँग भएको सम्झौता बमोजिम सरकारले पूरा गर्नुपर्ने पूर्व शर्त अनुसार रातमाटेको जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन भएको हो ।

एमसीसीको सम्बन्धमा विवाद चलिरहँदा र संसदबाट पास हुनुपर्ने यो परियोजनाको सम्बन्धमा छलफल चलिरहेको भएपनि सरकारले भने जग्गा अधिग्रहणको सूचना प्रकाशन गरेको हो ।

एमसीसीसँग भएको सम्झौता अनुसार परियोजना सुरु हुनु अगावै सरकारले जग्गा अधिग्रहणको काम पूरा गरिसक्नुपर्ने उल्लेख छ । जग्गा अधिग्रहण गरी त्यसको मुआब्जा पनि नेपाल सरकारले नै तिर्नुपर्ने पूर्वशर्त अनुसार सरकारले जग्गा अधिग्रहणको सूचना बुधबार प्रकाशन गरेको हो ।

४ सय केभी क्षमताको प्रसारणलाइन निर्माणका लागि नुवाकोटको रातमाटेमा एमसीसीले ३ वटा सब स्टेशन तयार गर्दैछ । आगामी असार १६ गतेदेखि सुरु गर्नैपर्ने परियोजनाका लागि अहिले जग्गा अधिग्रहणको काम सूचना जारी भएको हो ।

गृह मन्त्रालय श्रोतका अनुसार रातमाटेको जग्गा ३ तहमा वर्गिकरण गरिएको छ । वर्गीकरणमा परेका जग्गाहरुको प्रतिआना सरदर १ लाख ७६ हजारका दरले मुआब्जा वितरण गरिने छ । मुआब्जा वितरणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मुआब्जा निर्धारण समिति गठन गरिएको हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप