केन्द्रीय संस्करण
वेथिति

होराइजन अपार्टमेन्टको आतङ्क–२ : धापासीमा पाहुना आउनेहरू रात बस्न मान्दैनन्

कोठा भाडामा लगाउनै सकस

person explore access_timeमाघ २३, २०७६ chat_bubble_outline0

कुनै समय धापासी क्षेत्रमा कोठा पाउन ज्यादै मुस्किल थियो । बसुन्धरा चोकबाट करिब ५ मिनेटको दूरीमा रहेको होराइजन अपार्टमेन्टको वरिपरि कोठा भाडामा लिन खोज्नेहरुको आइरो हुन्थ्यो । रिङरोडबाट नजिकै पर्ने भएकाले यातायातको सुविधा पनि राम्रो थियो । त्यसकारण धापासी क्षेत्रमा कोठा भाडामा लिएर बस्नेहरुको सङ्ख्या उल्लेख्य थियो ।

तर अहिले समय बदलिएको छ । धापासी क्षेत्रमा रहेको पार्क भ्यु होराइजन अपार्टमेन्टको वरिपरि अहिले कोठा पाउन कुनै मुस्किल छैन । अन्यत्र ४ कोठा भएको एउटा फ्ल्याटको मूल्य १६ देखि २० हजारको हाराहारीमा पुग्दा धापासी क्षेत्रमा एउटा फ्ल्याट करिब १२ हजारमै पाइन्छ । अर्थात् एउटा कोठाको मूल्य ३ हजारदेखि ३ हजार ५ सयको हाराहारीमै पाइन्छ । 

तर सस्तो मूल्यमा कोठा पाउँदा पनि धापासी क्षेत्रका कैयौँ घरका कोठा भाडामा गएका छैनन् । कारण पार्क भ्यु होराइजनको डर ।

धापासीको हाइटमा रहेको पार्क भ्यु होराइजन २०७२ सालमा आएको भूकम्पपछि बस्न अयोग्य जस्तै बनेको छ । तत्कालीन समयमा नेपाल सरकारको तर्फबाट भएको अनुगमनमा पनि उक्त भवनमा बस्न र भवनको वरिपरि बस्न पनि नमिल्ने भन्दै रातो स्टिकर टालिएको थियो । त्यसपछिको यो करिब ५ वर्षको समयसम्म पार्क भ्यु होराइजनको अवस्था उस्तै छ । १८ तलासम्म बनाइएको पार्क भ्यु होराइजन अपार्टमेन्टको अवस्था अहिले पनि दयनीय नै देखिन्छ । अधिकांश भागमा चर्किएर भत्केको देखिन्छ । त्यो चर्केको तथा भत्केको छोप्नका लागि अपार्टमेन्ट व्यवस्थापनले जालीले छोपेर राखेको छ । 

भत्केको अपार्टमेन्ट जालीले छोपे पनि आम मानिसको त्रासलाई भने अपार्टमेन्ट व्यवस्थापनले छोप्न सकेको छैन । जसका कारण धापासी क्षेत्रमा अपार्टमेन्टले निम्त्याएको त्रास अहिले पनि जारी नै छ ।

धापासीमा रहेको पार्क भ्यु होराइजन अपार्टमेन्टको चारै दिशामा रहेका स्थानीयमा उत्तिकै त्रास छ । ठूलो पानी पर्दा वा सानो भूकम्प आउँदा पनि कुन बेला भवन ढल्ने हो भन्ने चिन्ता छ । त्यसकारण उनीहरु पलपल डरमै बसिरहेका छन्, डरमै बाँचिरहेका छन् । 

सबैभन्दा बढी डर भने धापासीको दक्षिणपश्चिम क्षेत्रका घरहरुमा बस्ने स्थानीयलाई छ ।

पाहुना आएकाहरु रात बस्न मान्दैनन् : रमेश कुँवर

पार्क भ्यु होराइजन अपार्टमेन्टको दक्षिण क्षेत्रमा घर रहेका रमेश कुँवरका अनुसार २०७२ सालको भूकम्पपछि उनको घरमा आउने पाहुनाहरु पनि लामो समय बस्न नमान्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो जन्मथलो हो यो । अन्त हाम्रो कहीँ घर छैन र जाने ठाउँ पनि छैन । चाडबाड तथा शुभकार्यमा पाहुना बोलाउनै पर्छ । हामी पनि उहाँहरुकामा गइरहेका हुन्छौँ । तर जब हाम्रो घरमा पाहुना आउनुहुन्छ, माथि गगनचुम्बी अपार्टमेन्ट देखिन्छ । हाम्रै घरतिर ढल्केको र पिल्लर तथा बिमसमेत भाँचिएको देखेपछि उहाँहरु यहाँबाट हतारहतार जान खोज्नुहुन्छ । अपार्टमेन्टको अवस्था देख्दा जो कोही डराउँछ । त्यसकारण उहाँहरु जतिसक्दो चाँडो हाम्रो घरबाट निस्कन चाहनुहुन्छ । रात बस्ने गरी त कोही पनि आउन मान्नुहुन्न ।’

अपार्टमेन्टको तल आएपछि मानिसहरु दौडिन्छन्
रमेश कुँवरको घरको ठीक अगाडि सडक छ । मानिसहरु यही सडक भएर वारपार गर्ने गर्छन् । भूकम्पको सुरुसुरुको समय त यो सडकमा मानिसहरु हिँड्नै छाडेका थिए । तर पछिल्लो समय मानिसहरु यही सडकको बाटो भएर हिँडे पनि अपार्टमेन्टको तल आएपछि दौडिने गरेको रमेश बताउँछन् । उनी भन्छन्, ‘यो सडकमा मानिसहरु हिँड्नै चाहँदैनन् । हिँड्न बाध्य भएकाहरु पनि यहाँ आएपछि दौडन्छन् र छिटोछिटो जान जाहन्छन् । पहिले पहिले त प्रत्येक समय यहाँ मानिसहरु दौडेर हिँडेको देख्न सकिन्थ्यो । अहिले चाहिँ यहाँ नरोकीकन छिटोछिटो हिँड्छन् मानिसहरु ।’

घर भाडामा लाउन सकिएन
धापासीमै ४ तलाको घर बनाएकी सुशीला (नाम परिवर्तन)को घर पहिले कहिल्यै खाली हुँदैनथ्यो । पहिले उनले फ्ल्याट सिस्टममा घर भाडामा दिने गरेकी थिइन् । २०७२ सालअगाडि नै एउटा फ्ल्याटको भाडा १८ हजार लिने गरेकी थिइन् । 

तर जब २०७२ सालमा भूकम्प गयो, उनले न त पूरै समय घर भाडामा लगाउन सकेकी छिन् न त पहिले जति भाडा लिन पाएकी छिन् । २०७२ सालअगाडि नै प्रतिमहिना १८ हजार लिएको फ्ल्याटको भाडा अहिले प्रतिमहिना १५ हजारमा दिने गरेकी छिन् । तर पनि पूरै समय उनको घरमा भाडामा बस्नेहरु आउने गर्दैनन् । भाडामा बस्न आउने पनि धेरैमा ८ महिनासम्म मात्रै बसेको सुशीला बताउँछिन् । उनले भनिन्, ‘पहिले घर खाली हुँदा पनि मानिसहरु दैनिकजसो कोठा वा फ्ल्याट खाली छ कि भन्दै सोध्न आउँथे । अहिले त भाडामा बसेकाहरु पनि अन्त कोठा पाएपछि सरेर जान्छन् । एउटा परिवार त डरले एक महिनामै कोठा सरेर गए ।’

सुशीलाका अनुसार मानिसहरु अन्यत्र कोठा वा फ्ल्याट पाएनन् भने छोटो समयका लागि उनको घरमा बस्न आउने गरेका छन् । तर पनि मानिसहरु १ वर्षभित्रै सर्ने गरेको उनी बताउँछिन् । पहिले ८ वर्षसम्म एउटै परिवार बसेकामा अहिले पनि छोटो छोटो समयमै मानिसहरु सर्ने गरेको उनले बताइन् । बालबच्चाहरु डरले बस्नै नमान्ने र नपढ्ने भएको कारणले पनि उनीहरु चाँडै चाँडै नै कोठा सरेर जाने गरेको उनले बताइन् । 

सुशीला मात्रै नभएर धापासी क्षेत्रका अधिकांश घरधनीको समस्या र पीडा हो यो जो होराइजन अपार्टमेन्टको वरिपरि छन् । उनीहरुको घर लामो समयका लागि भाडामा पनि जाने गरेको छैन भने भाडा पनि अन्य चलेको जति लिन पाइरहेका छैनन् । पाहुना आएकाहरु पनि हतारहतार आफ्नै बासस्थान फर्कने गरेको उनीहरुको गुनासो छ । 

एउटा चलेको होटल सुनसान बन्यो
पर्यटन तथा होटल क्षेत्रमा लामो समय काम गरेका एक स्थानीयले धापासीमा एउटा होटल खोलेका थिए । सानो तर राम्रो सेवा सुविधा सहितको होटल उनले चलाएका थिए । तर जब पार्क भ्यु होराइजन अपार्टमेन्ट बन्न सुरु गर्‍यो, त्यसपछि उक्त होटलमा बस्नका लागि पर्यटक आउनै छाडे ।

अनलाइन बुकिङ गरेर एक साता बस्ने गरी आएका पर्यटक पनि अपार्टमेन्ट निर्माणका क्रममा त्यसको भाइब्रेसनले गर्दा पर्यटक होटल परिवर्तन गर्थे । अपार्टमेन्टको निर्माण सकिएपछि केही समय राम्रैसँग चलेको होटल अहिले सुनसान जस्तै छ । अनलाइन बुकिङ वा आफैले सम्पर्क गरी ल्याएका युरोपेली पर्यटकहरु पनि एक रातका लागि मात्रै उनको होटलमा बस्ने गरेका छन् । साँझ आइपुगेका पर्यटकहरु जब बिहान होटलको ठीक अगाडि रहेको अपार्टमेन्टको दुरवस्था देख्छन्, त्यसपछि उनीहरु होटलमा बस्न नै डराउँछन् र होटल परिवर्तन गर्छन् । 

रातोपाटी मङ्गलबार उनको होटलमा पुग्दा होटलका सञ्चालक काउन्टरमै भेटिए । आफू समाचार सङ्कलनका लागि आएको भनेपछि केही समय दिएका उनले ‘अब भन्ने कुरा केही नरहेको’ भन्दै धेरै नबोल्ने बताए । पार्क भ्यु होराइजन पीडित सङ्घका संयोजक समेत रहेका उनी सबैतिरबाट निराशा मात्रै मिलेको भन्दै भनेर के हुन्छ र भन्दै तर्किए । 

उनले भने ‘हामी नगएको कहाँ पो छ र ? टोखा नगरपालिका, उपत्यका विकास प्राधिकरण, भवन निर्माण विभाग, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री कार्यालय सबैतिर गयौँ । तर कसैले पनि हाम्रो पीडा सुनेनन् । माधवकुमार नेपाल, शेखर कोइरालाहरु आफै आएर हेरे, बस्न मिल्दैन भनेर गए । तर भत्काउने सम्बन्धमा कुनै पहल गरेनन् ।’

उनले अगाडि भने, ‘मैले बोलेर के अर्थ छ र ? हाम्रो पीडा हामीसँगै छ । उनीहरुसँग (पार्क भ्यु होराइजन व्यवस्थापन) पैसा छ, शक्ति छ र मान्छे छ । हामीसँग को छ र ? न त हामीसँग गुण्डा नै छन् । त्यसकारण यस विषयमा धेरै बोलिरहनुको केही अर्थ छैन । अरूको पीडा जे हो मेरो पनि त्यही हो । अरूले जे भनेका छन्, सत्य त्यही नै हो ।’

बोल्न डराउँछन् स्थानीय
पार्क भ्यु होराइजन अपार्टमेन्टको कारण धापासीमा समस्यामा पर्ने धेरै छन् । धापासी क्षेत्रका अधिकांश स्थानमा पानीको समस्या छ । पार्क भ्यु होराइजन अपार्टमेन्ट बनेपछि बोरिङको पानी पनि आउन छाडेको छ ।

पहिले खनेको इनारभन्दा धेरै तल अर्को इनार खन्नुपर्ने अवस्थामा छन् उनीहरु । प्रत्येक पल उनीहरु त्रासमै बाँच्न बाध्य छन् । तर कानुनी रूपमा अपार्टमेन्ट व्यवस्थापन बलियो रहेको सरकारी पक्षले नै स्वीकृति दिएका कारणले बोलेर कुनै फाइदा छैन भन्दै उनीहरु सकेसम्म बोल्नै खोज्दैनन् । कसैले आवाज उठाए पनि स्थानीयदेखि तराई क्षेत्रका गुण्डा समेत लगाएर धम्क्याएको एक पीडितले रातोपाटीलाई बताए ।

ती पीडितले भने, ‘हामीले नबोलेको होइन । पहिले पनि धेरै आन्दोलन र धर्ना नै दिएको हौँ । तर के गर्नु सरकारले केही गर्दैन, त्यसकारण हामीले बोलेर मात्रै के गर्नु । बरु यहीँका गुण्डा र भैरहवादेखि गुण्डा लगाएर धम्क्याउने काम गरे ।’  


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.