शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विकास नै अहिलेको मुख्य प्रथमिकता: मन्त्री भुसाल

मङ्गलबार, २८ माघ २०७६, १६ : ३४
मङ्गलबार, २८ माघ २०७६

बुटवल । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले विकास नै अहिलेको मुख्य प्रथमिकता रहेको बताएका छन् ।  भैरहवामा मंगलबार लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरको भवन शिलान्यास गर्दै संघीय सरकारका मन्त्री भुसालले उत्पादक क्षमताको विकास गर्न सरकारले जोड दिएको बताए । 

उनले विकासका मुद्दालाई पार्टीकरण नगर्ने बताउँदै राजनीतिकरण नगरी समग्र नागरिक र क्षेत्रको उत्पादक क्षमता वृद्धि गर्न ध्यान केन्द्रित गरिने बताए । कृषिमा विदेशी लगानी आकर्षित गर्न योजना बनाएको बताउँदै उनले कृषिबाट उद्यम, मेहनत खेर जाँदैन भन्ने निती, कार्यक्रम र गतिविधिलाई प्रथामिकता दिने प्रष्ट पारे । उनले कृषिबाट लगानी सुरक्षित छ भन्ने मानसिकताको विकास गराउन योजनासहित आफू अग्रसर भएको जानकारी दिए ।

नेपालीहरु कृषिमा विगतदेखि नै आश्रित भए पनि व्यवसायीकरण गर्न नसक्दा समस्या भएको उनको भनाइ थियो । अब राज्यले कृषिमा लगानी गर्ने भएकोले सबैको ध्यान कृषिमा जानुपर्ने उनले बताए । कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, फखरुद्दीन खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थ, पूर्व सांसद इस्तियाक अहमद खान, रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव, उद्योगी व्यवसायी संघसंस्थाका प्रतिनिधिलगायतले मिडियाले शक्ति नभई सत्यको र व्यक्तिको नभई विचारलाई समेटनुपर्नेमा जोड दिए । 

उनीहरुले आर्थिक–सामाजिक रुपमा भैरहवा अगाडि बढ्दै गएकाले सरकारको कमी कमजोरी र सकारात्मक कुरामा मिडियाले ध्यान दिनुपर्ने बताए ।मन्त्री घनश्याम भुसालको संसदीय विकास क्षेत्र कार्यक्रम अन्तर्गत ५० लाखको सहयोगमा बन्ने भवनमा कार्यालय, हल र पत्रकारको संंग्राहलय बन्ने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप