विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय

पूर्वीय समाजबाट सुरु भएको योग पश्चिमा देशमा तीव्र गतिमा फैलिँदै

हात तन्काउने, खुट्टा बटार्ने मात्रै योग होइन
आइतबार, ०४ फागुन २०७६, १३ : ५३
आइतबार, ०४ फागुन २०७६

काठमाडौँ उपत्यका लगायत सहरी क्षेत्रमा शारीरिक अभ्यासका लागि विभिन्न सेन्टर खुलेका छन् । निजी क्षेत्रहरुद्वारा शारीरिक अभ्यासका लागि जुम्बा, एरोबिक, जिमखाना, योग सेन्टर आदि  सञ्चालन गरेका छन् । यसरी जुम्बा, एरोबिक, जिमखानामा गरिने व्यायाम अनि साँझबिहान हिँडेर गरिने शारीरिक व्यायामले मात्रै शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य रहन नसकिने स्कुल अफ योगका योगगुरु दीपक भेटवाल बताउँछन् ।

शरीरिकरूपमा गरिने व्यायामले मात्रै स्वास्थ्यलाई सहज बनाउन नसकिने उनको भनाइ छ । आजभोलि शारीरिक अभ्यासका नाममा स्वास्थ तथा अस्वास्थ मानिसलाई एउटै खालको अभ्यास गराइन्छ । यसरी सबैलाई एकैथरी शारीरिक अभ्यास गराउन नहुने उनले बताए । सहरी क्षेत्रमा स्वस्थ रहनका लागि शारीरिक अभ्यास गर्नुपर्छ भन्ने जनचेनता भए पनि नियमित रूपमा कम मानिसले मात्र अभ्यास गर्छन् ।

शारीरिक रूपमा जुम्बा, एरोबिक, जिमखानामा गएर नियमित रूपमा गरिने शारीरिक अभ्यास गर्नेहरुको तुलनामा दैनिक योगाभ्यास गर्नेहरुले जस्तो शारीरिक तथा मानसिक रूपमा फाइदा लिन नसक्ने नेपाल स्कुल अफ योगाका योगगुरु भेटवालको भनाइ छ । जुम्बा, एरोबिक, जिमखानामा शारीरिक रूपमा केही फाइदा भए पनि नियमित विधिअनुसार गरिएको योगासनले जीवनलाई आनन्दयमय, सन्तुलित र स्वस्थ बनाउने उनी बताउँछन् ।

शारीरिक रूपमा गरिने विभिन्न प्रकारका अभ्यास भए पनि  योगाभ्यास शारीरिक अभ्यास तथा व्यायाममा मात्रै सीमित नहुने उनको भनाइ छ । ‘योगाभ्यास गर्दा शरीरको भन्दा बढी मनको व्यायाम हुन्छ,’ उनले भने, ‘शारीरिक व्यायामको माध्यमबाट मनको व्यायाममा लगिन्छ ।’ तनावमुक्त भएर स्वास्थ्य, सिर्जनशीलता, आत्मविश्वासी र व्यक्तिगत सम्बन्धलाई प्रभावकारी बनाउन नियमित योगाभ्यासले मात्रै बनाउन सक्ने योगगुरु भेटवालको भनाइ छ । योगका मार्गहरु मध्य अष्टाङ्ग योग, कुण्डलिनी योग, कर्मयोग, ज्ञानयोग, भक्तियोग र हठयोग छन् ।

हात तन्काउने, खुट्टा बटार्ने मात्रै योग होइन

सयौँ मानिस भेला गरेर टुँडीखेलमा उफ्रिनुलाई योगाभ्यास भनेर बुझ्न नहुने भेटवाल बताउँछन् । ‘बिहान अबेरसम्म सुत्नुभन्दा छिट्टै उठेर सामूहिक रूपमा चौरमा भेला भएर शारीरिक व्यायाम गर्नु राम्रो पनि हो,’ उनले भने, ‘चौरमा गएर हात तन्काउने, खुट्टा बटार्नु मात्र योगाभ्यास होइन ।’

सबै मानिसले एकै खालको योगाभ्यास र प्रणायमको अभ्यास गरे भने घातक हुन सक्छ । योगाभ्यास गर्दा हरेक मानिसलाई फरक फरक समूहको योगासान तथा प्रणायम चाहिने अवस्था सिर्जना हुने उनले बताए । ‘हरेक मानिसको शरीरको अवस्था एउटै हुँदैन,’ उनले भने, ‘सबै मानिसलाई एकै स्थानमा राखेर योगाभ्यास हुँदैन ।’ त्यसैले योगाभ्यास गराउँदा व्यक्तिको स्वास्थ्य आवस्था, समस्या, उमेर, मनोविज्ञानको पहिचान गरेर समूहगत रूपमा योगाभ्यास गराउनुपर्ने योगगुरु भेटवालको भनाइ छ । 

अस्पतालको सङ्ख्या वृद्धि गर्नु मात्र स्वास्थ्य क्षेत्रको विकास होइन

शारीरिक तथा मानसिक रूपमा जनतालाई  स्वस्थ राख्नका लागि अनिवार्य योगाभ्यासको गर्नुपर्ने वातावरण सिर्जना गर्नुपर्ने उनी बताउँछन् । केद्रीय तह, प्रदेशिक तह र स्थानीय तहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नीति तथा योजना ल्याएर योगसम्बन्धी ज्ञान फैलाए मात्रै शारीरिक तथा मानसिक रूपमा बिरामी कम हुने उनको बुझाइ छ ।

पछिल्लो समय  अस्पतालको सङ्ख्या वृद्धि भए स्वास्थ्य क्षेत्रको विकास भएको मानिन्छ । किन अस्पतालको सङ्ख्या बढ्यो भन्ने कुरा गम्भीर भएर सोच्ने बेला आएको उनी बताउँछन् ।    निर्माण तहमा रहने सरोकारवाला व्यक्तिले अस्पतालको सङ्ख्या नबढाएर स्थानीय, प्रदेशिक र केन्द्रीय तहमा योग सेन्टर स्थापना गरेको खण्डमा शारीरिक तथा मानसिक रोगका बिरामी आफै कम हुँदै जाने उनी बताउँछन् ।

विगत केही वर्ष यता योग दिवस मनाउन थालिएको छ । विभिन्न सरकारी निकायसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक दिन एकछिन  खाली चौरमा हात खुट्टा तन्काएर योग दिवस मनाएर त्यसमै सीमित हुन नहुने उनले बताए । योगको महत्त्व र फाइदाका बारेमा प्रत्येक जनताको पहुँचमा  पुग्न आवश्यक भएको उनी बताउँछन् ।

 ‘योगलाई जीवनपद्धति बनाउन आवश्यक छ,’ उनले भने, ‘योगाभ्यासलाई जीवनको अभिन्न अङ्ग बनाएर अनुभूत गर्न जरुरी छ ।’ स्थानीय तहमा हेल्थपोस्टको स्तरोन्नति र स्थापनासँगै योग सेन्टर स्थापना गर्ने नीति ल्याउन आवश्यक भएको उनको भनाइ छ ।

योग के हो

योग रूपान्तरण, अनुभूति अनि एकाग्रता हो । योगाभ्यासले मन, शरीर र श्वास प्रश्वासलाई जोड्ने गर्छ । शरीरको चाल र श्वासको अनुभूति मनको पूर्ण गहिराइमा पुगेर महसुस गर्न योग गर्नुपर्छ । योग गर्दा मन अनि शरीर वर्तमान अवस्थमा स्थिर भइरहन्छ । विधिपूर्वक गरेको योगाभ्यासबाट आत्मस्वीकृति, आत्मानुभव जोड्नुपर्छ । योगाभ्यासले आत्मजागरण खुलेसँगै भावनात्मक विकास हुन्छ । त्यसलगत्तै मस्तिष्कको सन्तुलन व्यवस्थित बन्दै गएपछि मानिस तनाव मुक्त बन्दै जाने योग गुरु  भेटवाल बताउँछन् ।

 नियमित योगाभ्यास गर्दै गएमा शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य बन्न सकिने उनले बताए । यससँगै शान्त, आनन्द मात्रै नभएर ऊर्जा शक्तिसमेत प्राप्त गर्न सकिने उनले बताए । सबै व्यक्तिले योगलाई दैनिकी जीवनमा लागू गर्नसक्नु ठूलो कुरा हो । बिरामी, वृद्ध, युवा सबैले योगाभ्यास गर्न सकिन्छ । लोभ, मोह, क्रोध, घृणा, ईष्र्याबाट पीडित मानिस क्रमशः शान्ति, प्रेम शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य हुन सकिन्छ । 

योगदर्शन पूर्वीय समाजका कारण विश्वभर फैलियो

पूर्वीय समाजले योगदर्शन विश्वलाई दिएको उपहार हो । पूर्वीय समाजबाट सुरु भएको योग दर्शन पाश्चात्य क्षेत्रमा द्रुत गतिमा फैलिए पनि नेपाली भूमिमा सोही अनुरूपमा फैलन नसकेको  उनी बताउँछन् । वर्तमान समयमा  पेसाकर्मी, खेलाडी, कर्पोरेट मालिक तथा सीईओ, कलाकार आदि पेसामा आबद्ध हुनेले क्षमता अभिवृद्धि गर्नका लागि योगाभ्यास गरेको पाइन्छ ।

आत्मविश्वासी, सफल, शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य रहनका लागि युरोपिएन मुलुकमा स्वस्थ्य रहन, आत्मविश्वासी बन्न, सफल व्यवसायी बन्न, तनाव व्यवस्थापन गर्न, दैनिक जीवनमा आइपर्ने समस्या व्यवस्थापन तथा समाधानका लागि योगले सहयोग गर्ने उनी बताउँछन् ।  

 पूर्वीय समाजबाट योगदर्शनको सुरुवात भए पनि खोज, अध्ययन, अनुसन्धान गरेर योग दर्शनलाई योगाभ्यास कसरी गर्ने किन गर्ने, यसका फाइदा, बेफाइदा भन्ने कुरा युरोपेलीले पत्ता लगाएको उनले बताए । योगदर्शन पूर्वीय समाजबाट सुरु भए पनि युरोपेलीहरुले व्यावहारिक रूपमा प्रयोग गर्दै आएको उनले बताए । नेपालमा भने योागाभ्यासको चलन युरोपको तुलनामा धेरै कम गरिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप