शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाका सांसदको लेवी तोकियो, पूर्णकालीन नेता–कार्यकर्तालाई निर्वाह भत्ता

केही केन्द्रीय सदस्यले मर्यादाको सीमा मिचेको गुनासो
आइतबार, ०४ फागुन २०७६, १४ : १७
आइतबार, ०४ फागुन २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संघीय सांसदहरुले पार्टीलाई मासिक १२ हजार रुपैयाँ लेवी तिर्नुपर्ने भएको छ । नेकपाले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सम्बन्धमा भने हालसम्म ठोस निर्णय गरेको छैन । 

२०७४ बैशाखमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपाले पछिल्लो पटक संघीय संसदले पार्टीलाई तिर्नुपर्ने लेवीका सन्दर्भमा औपचारिक निर्णय लिएको हो । यसअघि दुबै पार्टीले तत्कालीन एमाले र माओवादीकै हैसियतमा पार्टीलाई लेवी तिर्दै आएका थिए । 

यस्तै नेकपाले पूर्णकालीन केन्द्रीय सदस्य तथा कार्यकर्ताहरूका लागि मासिक रुपमा निर्वाह खर्चको प्रबन्ध समेत गर्ने भएको छ । 

गत माघ १५ देखि १९ गतेसम्म सम्पन्न केन्द्रीय समिति बैठकसम्पन्न भएसँगै हालै नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन अर्थात सर्कुलरमा पार्टी सदस्यता शुल्क बढी भएको स्वीकार्दै यसबारे उपयुक्त निर्णय लिने समेत उल्लेख गरिएको छ । सो सर्कुलर पार्टीको तल्लो तहमा पुगिसकेको छ । 

‘बैठकले पार्टी सदस्यता तथा संगठित सदस्यता शुल्क बढी भयो भन्ने महशुस गरेको छ । यस सम्बन्धमा सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल गरी उपयुक्त निर्णय गरिनेछ’, अन्तरपार्टी निर्देशनमा भनिएको छ । 
यस्तै पार्टीको केन्द्रीय सचिवालयबाट जारी भएको आचारसंहिता प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र अनुभव एवम् आवश्यकताका आधारमा त्यसलाई परिमार्जन गर्दै लगिने पनि नेकपाले जनाएको छ । 

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डद्वारा जारी गरिएको सर्कुलरमा पार्टीका औपचारिक कार्यक्रमहरूमा मार्क्स, लेनिन, संस्थापक नेता पुष्पलाल र जननेता मदन भण्डारीका तस्वीर राखिने र पार्टीमा हाल बहुपदीय प्रणाली नै अवलम्बन गरिने उल्लेख छ ।  तर पार्टी कामको आवश्यकता र अनुभवले कुन तहको पार्टी कमिटी वा निकायहरूमा कति संख्यामा कुन–कुन पदको व्यवस्था गर्ने भन्ने सन्दर्भमा आगामी महाधिवेशनसम्म पुगेर निर्णय लिइने नेकपाले जनाएको छ । 

 पार्टीमा गुटबन्दीको अन्त्य गर्ने, आपसी अन्तरघुलनलाई तीब्रता दिने र पार्टी एकतालाई सबल तुल्याउने अठोट गरिएको पनि सर्कुलरमा उल्लेख छ । 

मर्यादाको सीमा मिचियो
सर्कुलरमा नेकपाका केही केन्द्रीय सदस्यहरुले आफ्नो मर्यादाको सीमा मिचेको उल्लेख गरिएको छ । 

‘बैठकमा निर्धारित समय र विधिभित्र रहेर आफूलाई लागेको विषयमा बोल्ने छुट सबैलाई हुन्छ । तर भाषाको प्रयोग र प्रस्तुति मर्यादित हुनैपर्दछ । यस बैठकमा अधिकांश कमरेडहरूले मर्यादा र अनुशासनको सीमाभित्र रहेर बैठकलाई सफल पार्न महत्वपूर्ण योगदान गर्नुभएको छ’ अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘तर, केही कमरेडहरूबाट भने विचार व्यक्त गर्नेक्रममा मर्यादाको सीमा मिचिएको छ । तथ्यको अतिरञ्जना, पार्टी र आन्दोलनको भविष्य नदेख्ने प्रस्तुति र उपलब्धिहरूको न्यूनीकरणजस्ता अभिव्यक्तिहरू प्रकट भएका छन् ।’

तर क–कसले आफ्नो मर्यादाको सीमा उलंघन गरे भन्नेमा भने नेकपा मौन देखिएको छ । 

ओली–प्रचण्डले सर्कूलरमा कतिपय केन्द्रीय सदस्यहरुको प्रस्तुतिप्रति आलोचना गरेपनि समग्रमा केन्द्रीय कमिटीको बैठक आगामी दिनका लागि अनुकरणीय भएको दावी गरेका छन् । बैठकको व्यवस्थापन, छलफल, निर्णयलाई आधारमा नेकपाले यस्तो बताएको हो । 

सर्कूलरमा भनिएको छ, ‘छलफल, निर्णय र व्यवस्थापनका दृष्टिले ऐतिहासिक रहेको यो बैठक आगामी दिनका लागि समेत अनुकरणीय नजिर स्थापित गर्न सफल भएको छ ।’

बैठकको सफलताबाट विरोधी कित्तालाई झट्का लागेको र पार्टी पंक्तिमा उत्साह थपेको दावीपनि सर्कूलरमा गरिएको छ । 

नेकपाको ४ दिन लामो बैठक अध्यक्षद्वयको राजनीतिक, महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको थियो । सो प्रतिवेदनबारे विभिन्न १५ वटा टोली बनाएर छलफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप