शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निफमा ‘गोपी’ ले ह्याट्रिक गर्दा ‘बुलबुल’ को  डबल ह्याट्रिक

मङ्गलबार, ०६ फागुन २०७६, १० : ५५
मङ्गलबार, ०६ फागुन २०७६

पछिल्लो समय निर्माण भएका नेपाली फिल्मले सार्वजनिक प्रदर्शनबाट राम्रो दर्शक पाउन नसकेपछि देश तथा विदेशमा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा भने अवार्ड र पुरस्कार जित्न सफल भएको देखिन्छ ।

देश तथा विदेशमा आयोजना हुने विभिन्न फस्टिभलमा अवार्ड र पुरस्कार पाउने केही फिल्म मध्यको एक हो ‘बुलबुल’ । केही पहिले फ्रान्समा आयोजित साउथ एशियन फिल्म फेस्टिभलमा ‘पब्लिक चोइस अवार्ड’ जित्न सफल फिल्म ‘बुलबुल’ ले सोमबार काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मासमेत डबल हयाट्रिक गर्न सफल भएको छ ।

राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा ५ दिनसम्म चलेको फेस्टिभलमा फिल्म ‘बुलबुल’ ले नेपाल प्यानरोमाको फिचर तर्फ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उकृष्ट अभिनेत्री जुरी अवार्ड पुरुष र महिला समेत गरेर ६ अवार्ड जितेको हो ।

फिल्मबाट विनोद पौडेलले पटकथा र निर्देशकको अवार्ड जितेका थिए भने स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री तर्फको अवार्ड जितेकी थिइन् । त्यसैगरि जुरी अवार्ड  पुरुष र महिलातर्फको अवार्ड अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवाले हात पारे ।

कार्यक्रममा दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘गोपी’ ले तीन अवार्ड हात पार्दै ह्याट्रीक गर्न सफल भयो । ‘गोपी’ ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड पायो भने फिल्मबाट बिपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए । छायाँकार शेलेन्द्र डि कार्कीले जुरीको अवार्ड हात पारे ।

कार्यक्रममा नेपाली सर्ट फिल्म तर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ ले पाउँदा इन्टरनेशनल सर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड युक्रेनको ‘अन्ना’ ले हात पर्‍यो ।

नेपाली सर्ट फिल्म तर्फको अवार्ड प्रविन कुमार राउत निर्देशित ‘कलम’ ले जितेको थियो । प्रविन स्वयं पनि जुरीको नजरमा उत्कृष्ट ठहरिएका थिए । सर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दिअदर हाफ’ लाई दिइएको थियो ।

माउन्ट एभरेस्ट अवार्ड नामक १ हजार अमेरिकी डलर पुरस्कार रहेको डकुमेन्ट्री विधातर्फ उत्कृष्ट पुरस्कार बहुपतिप्रथाको कथा समेटिएको गणेश पाण्डे निर्देशित ‘को हस्बेन्ड’ ले हात पार्‍यो । यो वर्षबाट थपिएको एनिमेटेड विधाको अवार्ड भने चीनको ‘स्प्रिट अफ दि ड्रइङ गर्ल’ ले पायो । मञ्जुश्री अवार्ड नाम दिएको यो पुरस्कारको राशि ७ सय अमेरिकी डलर रहेको छ ।

अन्तर्राष्ट्रिय सर्ट फिल्मको विधातर्फ भारतीय फिल्म नुरी उत्कृष्ट मानिएको थियो । फिल्ममा भारत पाकिस्तान बोर्डरमा चेपिएकी एक युवतीको कथा पेश गरिएको थियो । बाग्मती अवार्ड नाम दिइएको यो पुरस्कारको राशि ५ सय अमेरिकी डलर रहेको छ ।

समारोहको सबैभन्दा ठूलो पुरस्कार ‘गौतम बुद्ध अवार्ड’ टर्कीको ‘ट्रयाप’ ले पायो । जितसँगै फिल्मले १५ सय अमेरिकी डलर हात पार्‍यो ।

फिचर फिल्मतर्फका मुख्य जुरी प्रकाश झाले नेपालका फिल्मसँगको यो पहिलो साक्षात्कार भएपनि नेपाली फिल्मको न्यारेटिभ प्रतिस्पर्धात्मक बनिरहेको अनुभव गरेको बताएका थिए । उनले नेपालसँग फिल्मका जुनसुकै विधामा सहकार्य गर्न तयार रहेको पनि धारणा राखेका थिए ।

‘काठमाडौं यो मेरो पहिलो खेप थियो तर अब आउने जाने गरिरहन्छु । सँगै फिल्म सम्बन्धी जे कामका लागि पनि सहकार्यका लागि तयार छु,’ झाले फेष्टिभलमा भनेका थिए ।

अवार्डमा विजेता छान्ने काम फिचर र डकुमेन्ट्रीमा छुट्याएर गरिएको थियो । फिचर फिल्म तर्फको निर्णायकको नेतृत्व प्रकाश झाले गरेका थिए भने उनलाई मन्जुकुमार श्रेष्ठ, गौरी मल्ल, जाओ पाउलोमकाइदो र थिबाउट ब्राकले सहयोग गरेका थिए ।

श्रीलंकाका डकुमेन्ट्री फिल्म मेकर अनोमा राजा करुणाले नेतृत्व गरेको डकुमेन्ट्री विधा तर्फको जुरी सदस्यमा करुण थापा, युनी हाडी सदस्य थिए । फेस्टिभलको आयोजना नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले गरेको थियो । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको नेतृत्व कलाकार केपी पाठकले गरिरहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप